दोस्रो प्रयासमा बुर्लाकोटीको संसद् यात्रा

२०७९ को निर्वाचनमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग १३ हजार मतान्तरले पराजित भएका बुर्लाकोटी नेकपाको गढ मानिने गोरखा–२ मा दाहालले भन्दा बढी मत ल्याएर विजयी बने ।

फाल्गुन २४, २०८२

हरिराम उप्रेती

Burlakoti's trip to Parliament on second attempt

गोरखा — २०४८ देखि कांग्रेस र २०६४ यता माओवादीले बर्चस्व जमाएको गोरखा–२ मा यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कविन्द्र बुर्लाकोटी भारी मतसहित विजयी बने । दोस्रो प्रयासमा बुर्लाकोटी संसद्‍को यात्रामा प्रवेश गरेका हुन् । 

२०७९ को निर्वाचनमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग १३ हजार मतान्तरले पराजित भएका बुर्लाकोटी नेकपाको गढ मानिने गोरखा–२ मा दाहालले भन्दा बढी मत ल्याएर विजयी बने । 

२०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल २६ हजार १ सय ३ मत ल्याएर विजयी बनेका थिए । तत्कालीन समयमा दाहाललाई नेसपाका डा बाबुराम भट्टराईदेखि कांग्रेससम्मको साथ थियो । तर बुर्लाकोटीले यस पटक बिना गठबन्धन ३ वर्षअघिको निर्वाचनमा जति मतान्तरले पराजित बनेका थिए, त्यति नै मतान्तर बनाएर विजयी बनेका छन् ।

बुर्लाकोटी २६ हजार ६ सय ६० मतसहित विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार सात सय मत प्राप्त गरे । १४ हजार ९ सय ६० मतान्तरसहित बुर्लाकोटी विजयी बनेका हुन् । अघिल्लो चुनावका प्रतिस्पर्धी बनेको पार्टी नेकपाका उम्मेदवार यसपटक उनको प्रतिद्वन्द्वीसम्म हुन सकेनन् । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का लेखनाथ न्यौपानेले ११ हजार १ सय ७३  मत प्राप्त गरेर तेस्रो बने । नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन) ३ हजार ८७ मत प्राप्त गरेर चौथो बने । गोरखा–२ मा २०७९ को निर्वाचनमा दाहाल निर्वाचित बनेको क्षेत्र हो भने २०७९ मा कांग्रेससँगको तालमेलमा नयाँ शक्तिका बाबुराम भट्टराई, २०६४ मा तत्कालीन माओवादीका भट्टराई तथा २०७० हितराज पाण्डे निर्वाचित बनेको क्षेत्र हो । १८ वर्षदेखि माओवादी निकटका उम्मेदवार तथा डा बाबुराम भट्टराईले आलोपालो जित्दै आएको क्षेत्रमा यस पटकको चुनावमा भने केही वर्षअघि मात्र राजनीतिमा प्रवेश गरेका बुर्लाकोटी विजयी बने । 

पालुङटार नगरपालिका–९ का बुर्लाकोटी युवा विकास अभियान हुँदै राजनीतिमा प्रवेश गरेका हुन् । उनी हाल रास्वपाका महामन्त्री पनि हुन् । २०५७ सालमा युनाइटेड युथ संस्थामा जोडिएका बुर्लाकोटी नेपाल युवा संस्था सञ्जालको संस्थापक सचिव हुँदै दोस्रो कार्यकाल अध्यक्ष बने । राष्ट्रिय युवा महासंघका संस्थापक अध्यक्ष पनि बने । २०७९ सालमा रास्वपा गठन हुँदा २३ जनाको संस्थापक केन्द्रीय सदस्यमा बुर्लाकोटी पनि थिए । पार्टी स्थापनाको दुई महिनापछि उनले सहमहामन्त्रीको जिम्मेवारी पाए । २०८१ मा रास्वपाको कार्यवाहक महामन्त्री बनेका उनी २०८२ असार ७ बाट महामन्त्रीको जिम्मेवारीमा छन् । 

जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै बुर्लाकोटीले सुशासन र समृद्धिलाई राष्ट्रिय मुद्दा बनाएर अघि बढ्ने बताए । ‘नीतिगत रुपमा राष्ट्रको भलाई हुने किसिमले अघि बढ्छौं, विकासको सन्दर्भमा गोरखालाई हेर्ने स्वाभाविक कुरो हो,’ उनले भने,‘हाम्रो पार्टी रास्वपाको पनि अब अभिभावकीय भूमिका अघि बढ्छ, सबैलाई समन्वय गरेर अघि बढ्छौं, देशलाई सम्हालेर सुशासनयुक्त मुलुक बनाउने जिम्मेवारीबोधका साथ अघि बढ्छौं ।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully