मुगुबाट निर्वाचित शाही २०४६ सालको आन्दोलनमा एक साता जेल पनि परे ।
मुगु —
मुगुमा कांग्रेसका खड्ग शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ७ हजार ९ सय १४ मतसहित विजयी हुँदा एमालेका पूर्णबहादुर रोकाया ६ हजार ७ सय १८ मतमा सीमित भए ।
शाही पूर्व पार्टी जिल्ला सभापति हुन् । २०२४ भदौ ६ गते जन्मिएका उनी मुगुको खत्याड गाउँपालिकाका स्थायी बासिन्दा हुन् । प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेका शाही २०४६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए । २०४६ सालको आन्दोलनमा सरिक भएका उनी पक्राउसमेत परे । एक साता जेल पनि बसे ।
२०५२ सालमा कांग्रेस जिल्ला उपसभापति बनेका उनी २०७२ सालमा कांग्रेस जिल्ला सभापति निर्वाचित भएका थिए । उनी २०५२ सालदेखि निरन्तर कांग्रेस महाधिवेशन प्रतिनिधि छन् ।
शाही २०७४ सालमा प्रदेशसभा सदस्यको उम्मेदवार थिए । त्यसबेला नेकपा एमालेबाट चन्द्रबहादुर शाही ६ हजार ८ सय ४५ मत ल्याएर विजयी हुँदा उनी भने ४ हजार ६ सय १२ मतमा सीमित भए । उनै शाही यसपल्ट नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्दै ५ हजार ५ सय ५८ मत ल्याएर तेस्रो स्थानमा सीमित भए ।
गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका ऐनबहादुर शाही १४ हजार ७ सय ६ मतसहित मुगुबाट विजयी भएका थिए । उनको विरासत धान्दै शाहीले चुनाव जितेका हुन् । त्यसअघिसम्म मुगु एमालेको गढ मानिन्थ्यो ।
जिल्लाको विकास समग्र विकास र जनजीविकाका सवाललाई संसदसम्म पुर्याउन आफूले पहल गर्ने नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शाहीले बताए । विगतका अनुभव र राजनीतिको सक्रियताले आफूलाई जनताको समस्यामा संवेदनशील र समाधानमुखी नेता बनाएको उनको भनाइ छ । ‘मुगु अझै पनि विकासको मूलप्रवाहमा आउन सकेको छैन, जिल्लामा विकास निर्माण र सेवाप्रवाहमा देखिएका समस्या समाधानका लागि संसदमार्फत सरकारको ध्यानकर्षण गराउने मेरो योजना छ,’ उनले भने, ‘सडक, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर जनताको जनजीविका सुधार्न मेरो प्रयत्न हुनेछ ।’
