१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कांग्रेस ५, नेकपाले ४ तथा रास्वपा, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी एक/एक क्षेत्रमा विजयी भएका छन् ।
सुर्खेत — पाँच निर्वाचन क्षेत्रमा विजयी हुँदै कर्णालीमा कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसबाट जाजरकोटमा खडकबहादुर बुढा, हुम्लामा जयपति रोकाया, दैलेख–१ मा वासना थापा र मुगुमा खडक शाही विजयी भएका हुन् ।
कांग्रेसले दैलेख–१ मा एमालेको र हुम्ला र जाजरकोटमा माओवादीको विरासत तोडेको हो । यसअघि जितेको सुर्खेत–२ र दैलेख–२ गुमाएको छ । यसअघि कांग्रेस उम्मेदवार विजयी भएको सुर्खेत–२ मा रास्वपाका रमेश सापकोटा र दैलेख–२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा नेकपाले ४ तथा रास्वपा, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी एक/एक क्षेत्रमा विजयी भएका छन् ।
जाजरकोटमा कांग्रेस कार्यवाहक जिल्ला सभापति खडकबहादुर बुढा २० हजार १४२ मतसहित विजयी भए । बुढा २०७४ सालमा शिवालय गाउँपालिको अध्यक्ष पदमा पराजित भएका थिए । नेपाल विद्यार्थी संघबाट राजनीति थालेका उनी २०६४ सालमा भेरी ज्ञानोदय क्याम्पसको स्ववियू सभापति थिए ।
हुम्लामा ८ हजार ७९७ मतसहित कांग्रेस पूर्व जिल्ला सभापति जयपति रोकाया विजयी भए । नेपाल विद्यार्थी संघ र तरुण दल हुम्लाको अध्यक्ष हुँदै उनी दुई कार्यकाल हुम्लाको पार्टी सभापति बनेका थिए । २०४० सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी पार्टीको कर्णाली प्रदेश कार्यसमितिका सदस्य हुन् ।
दैलेख–१ मा महासमिति सदस्य वासना थापा १२ हजार ३७२ मतसहित विजयी भएसँगै कांग्रेसले १२ वर्षपछि आफ्नो विरासत फर्काएको छ । थापाले २०५७ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी थापा कांग्रेसको १३औं र १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।
सुर्खेत–१ मा कांग्रेसका जिल्ला उपसभापति विष्णुबहादुर खड्का २६ हजार ८९७ मत ल्याइ विजयी भएर कांग्रेसको लामो विरासत कायम राखेका छन् । उनी कांग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काका साइला भाइ हुन् । पूर्णबहादुरले यही क्षेत्रबाट २०४८ सालदेखि निर्वाचन जित्दै ५ पटक सांसद बनेका थिए । पूर्णबहादुर २०७४ सालमा यही क्षेत्रबाट पराजित भए भने एकपटक समानुपातिक सांसद बने । नवनिर्वाचित सांसद खड्काले २०३६ सालमा बहुदलको पक्षमा उभिएर राजनीति सुरु गरेका थिए ।
मुगुमा कांग्रेस जिल्ला सभापति खडक शाही ७ हजार ९२४ मतसहित विजयी बन्दै पार्टीको विरासत कायम गरे । २०४६ सालदेखि राजनीतिमा सक्रिय उनी २०५२ सालमा कांग्रेस जिल्ला उपसभापति बने । २०७२ सालमा कांग्रेस जिल्ला सभापति निर्वाचित भएका उनी २०५२ सालदेखि निरन्तर कांग्रेस महाधिवेशन प्रतिनिधि छन् ।
दोस्रो संविधानसभा निर्वाचन २०७० मा ७ वटा निर्वाचन क्षेत्र जितेको कांग्रेस २०७४ सालमा शून्य सिटमा झरेको थियो । प्रतिनिधिसभा निर्वाचन २०७९ मा सुर्खेतका दुईवटै, मुगु र दैलेख–१ गरी ४ स्थानमा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए ।
