पर्यटन अभियन्ता तामाङको संसद्‌ यात्रा

कटारीको गढीकोट पर्यटन विकासका अभियन्ता तामाङ २०७९ सालदेखि रास्वापाको राजनीति सक्रिय छन् ।

फाल्गुन २४, २०८२

राकेश नेपाली

Tourism activist Tamang's visit to Parliament

उदयपुर — उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरका पर्यटन व्यवसायी ४१ वर्षीय सूर्यबहादुर तामाङको परिचय बदलिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उदयपुर-२ मा निर्वाचित भएपछि तामाङ सांसदको रुपमा चिनिने भएका हुन् । उनले एमालेका अम्बरबहादुर रायमाझीलाई दोब्बर मतले पराजित गर्दै संसद्‌को यात्रा तय गरेका हुन् । निर्वाचित तामाङले १४ हजार ८०२ मत ल्याएका थिए भने प्रतिस्पर्धी रायमाझीले ७ हजार ६४८ मत मात्र प्राप्त गरे ।

रास्वपा उदयपुरका सचिव रहेका तामाङ पुराना दलबाट विकास सम्भव नभएको भन्दै चुनावी मैदानमा होमिएका थिए । २०४१ सालमा कटारीको मर्जेतपुरमा जन्मिएका उनले कक्षा ५ सम्म सरस्वती आवि मर्जेतपुर र मावि मरुवामा कक्षा ८ सम्म र त्रिवेणी माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । उच्च शिक्षा भने उनले काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसबाट गरे । 

कटारीको गढीकोट पर्यटन विकासका अभियन्ता तामाङ २०७९ सालदेखि रास्वापाको राजनीति सक्रिय छन् । देशमा भ्रष्टाचार, बेथितिले सीमा नाघेपछि नयाँ पुस्ता राजनीतिमा आउने क्रममा आफू पनि सक्रिय भएको उनी बताउँछन् । युवा माझ लोकप्रिय तामाङ कटारीस्थित सौर्य सिमेन्टको चुनढुंगा खानीले फैलाएको प्रदूषण, खानीको कम्पनले स्थानीयलाई परेको असरका विरुद्ध चरणबद्ध आन्दोलनको नेतृत्व गरेर चर्चामा आएका थिए । 

यस्तै सिद्धिचरण लोकमार्गको स्तरोन्नतिका लागि समेत तामाङले पटकपटक भोक हड्ताल, अनशनलगायतका विरोध प्रदर्शन गर्दै सरकारको खबरदारी गर्दै आएका थिए । उनको सक्रियतामा पार्क निर्माण, फलफूलका बिरुवा रोप्ने, पर्यटकलाई बस्न टहरो निर्माण गर्ने, पिकनिक स्पट बनाउने, पर्यटकहरुलाई बस्न काठको ब्रेन्च, पिङ, सेल्फी स्पर्ट, ट्रि रोप क्लाईम्बिङ, ईभिनिङ लाईटिङजस्ता पूर्वाधार निर्माण गरेर गढीकोटको पर्यटन प्रवर्द्धनका लागि योगदान पुर्‍याएका थिए । 

‘कृषि, संस्कृति र प्रकृतिका लागि गढीकोट’ भन्ने नाराका साथ आन्तिरिक र बाहृय पर्यटक भित्र्याउने लक्ष्यका साथ हाइकिङ, साईक्लिङ, प्याराग्लाईडिङ र क्याम्पिङका लागि मर्जितपुर र गढीकोटलाई चिनाउने अभियान संचालन गरेर उनी पर्यटन अभियन्ताको परिचय बनाएका थिए । 

उदयपुर–२ का मतदाताहरुले आफूलाई अपार मायासहित विजय गराएकाले नागरिकको चाहना र भावनाअनुसार काम गर्ने प्रतिक्रिया दिए । अब नीति, निर्माणका अलावा वर्षौंदेखि अधूरो रहेको कटारी–घुर्मी सडकखण्डको स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राख्ने बताए । त्यस्तै मुकुर्ची–माझखर्क सडक, घुर्मी–रुपाटार सुनकोशी करिडोर सडक, सुनकोशी लिफ्टिङ खानेपानी, कटारीमा मेडिकल कलेज स्थापना, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि आफू लागिपर्ने उनको भनाइ छ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully