आरेन राई: सामाजिक संस्था र ठेक्कापट्टाबाट संसदीय यात्रामा

खोटाङबाट विजेता बनेका राई विभिन्न अभियानमा संलग्न भए पनि मूलधारको राजनीतिमा थिएनन् । श्रम संस्कृति पार्टीको जन्मसँगै उनी महासचिवको भूमिकामा आएका थिए ।

फाल्गुन २४, २०८२

डम्बरसिं राई

Aren Rai: From social organizations and contracts to parliamentary journey

खोटाङ — विभिन्न संस्थामा आबद्ध रही सामाजिक गतिविधिमा संलग्न हुँदै आएका आरेन राईले श्रम संस्कृति पार्टीको तर्फबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् ।

बेरोजगार संघ, राष्ट्रवादी केन्द्र नेपाल, मङ्गोल नेशनल अर्गनाइजेसनलगायतमा काम गरेका राईले एमाले उम्मेदवार देवविक्रम राईलाई ३ हजार ८ सय ९८ मतान्तरले पराजित गरेका हुन् । आरेनले १६ हजार ६सय १२ मत ल्याएर जित हात पारेका हुन् । 

देवविक्रमले १२ हजार ७ सय १४, कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७,  नेपाल कम्युनिष्ट पार्टीका हरि रोकाले ९ हजार ४ सय ४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७ सय ४ मत ल्याएका छन् । यो निर्वाचनमा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार थिए । 

खोटाङबाट विजेता बनेका राई विभिन्न अभियानमा संलग्न भए पनि मूलधारको राजनीतिमा भने थिएनन् । श्रम संस्कृति पार्टीको जन्मसँगै उनी महासचिवको भूमिकामा रहेपछि आएका थिए । २०७० सालताका बेरोजगार संघ, राष्ट्रवादी केन्द्र नेपाल र मङ्गोल नेशनल अर्गनाइजेसनमा (२०७४–२०८०) सम्म आबद्ध हुँदै विभिन्न सामाजिक र राजनीतिक गतिविधिमा संलग्न राई श्रम संस्कृति पार्टीको संस्थापक महासचिव हुन् ।

२०५३ असोज ८ मा केपिलासगढी गाउँपालिका–१ फेदीको सुम्देमा जन्मिएका राईले स्थानीय कुहँडाँडा मावि कक्षा ८ र त्यसपछि काठमाडौंस्थित शान्ति निकुन्जबाट २०६९ मा एसईई गरेका थिए । उनले कक्षा १२ सम्मको अध्ययन पूरा गरेका छन् । राई यससँगै ठेक्का–पट्टा, होटल रेष्टुरेन्टलगायतको व्यवसायमा समेत संलग्न थिए ।  

राजनीतिका साथसाथै आयआर्जनका लागि अन्य पेशा व्यवसायमा समेत संलग्न भएको राईले सुनाए । ‘ठेक्का–पट्टा, होटल रेष्टुरेन्ट, व्यापार व्यवसाय गरेको अनुभव छ,’ राईले भने, ‘राजनीति गर्नका लागि पनि आयआर्जनका काम गर्नुपर्ने रहेछ ।’ अब संसदमा पुगेर इमान्तारिताका साथ काम गर्ने, भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गर्ने राईको भनाइ छ । ‘धेरै कुरा गर्दिन–इमानदारिताका साथ काम गर्ने, भ्रष्ट्राचारविरुद्ध लड्ने, सुशासनको पक्षमा काम गर्ने,’ राईले भने ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully