सोम शर्मा : बेथितिविरुद्ध बोल्दै लेख्दै संसद‍्सम्मको यात्रा

बागलुङ नगरपालिका-३ रात्माटा घर भएका ३४ वर्षीय सोम शर्मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बागलुङ क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । समाजमा हुने विभेद र विसंगतिविरुद्ध आवाज उठाइरहेका उनी संसद‍्मा पनि सामाजिक समस्याबारे बोल्न नछाड्ने बताए ।

फाल्गुन २४, २०८२

प्रकाश बराल

Som Sharma: A journey to Parliament, speaking and writing against injustice

बागलुङ — सरकारी कार्यालयमा भएको बेथितिदेखि कालीगण्डकी दोहनजस्ता विषयमा खुलेर विरोध गर्ने उनको बानी थियो । त्यतिमात्र होइन, भ्रष्टाचारका सबैखाले आयाममा उनले खबरदारी गरे, लेख–रचना प्रकाशित गरिरहे । उनी कहिले एक्लै पनि आन्दोलनमा होमिए ।

राजधानी छिरेपछि पनि उनले यो अभियानलाई निरन्तरता दिए । काठमाडौंका हरेक बेथितिविरुद्धका आन्दोलनमा उनको सहभागिता रह्यो । माइतीघरमा भएका आन्दोलनमा उनी पटक–पटक पक्राउ परे । कतिपय विषयमा त उनी पटक–पटक विवादित पनि बने । जसका कारण परिवार र छिमेकीसँग पनि उनको नोकझोक चलिरह्यो । सडक संघर्षजस्तै देखिने सोम शर्मा अब भने संसदको यात्रामा छन् ।

बागलुङ नगरपालिका वडा नं ३ रात्माटा घर भएका ३४ वर्षीय सोम शर्मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बागलुङ क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । शर्माले १२ हजार ६ सय ४७ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेकराज पौडेलले ११ हजार ८ सय ६८ मत ल्याए । विद्यालय तहको शिक्षा बागलुङकै धौलागिरि वीरेन्द्र माविमा अध्ययन गरेपछि बागलुङ बजारमा इलेक्टोनिक्स पसलसमेत संचालन गरेका थिए । स्थानीय रेडियो र पत्रपत्रिकामा निकै चासो राखेर पटक–पटक कार्यक्रम संचालन गर्ने र समाचार लेख्ने काममा उनी लागेका थिए ।

माइतीघरमा भइरहने हरेक आन्दोलन तथा सुशासनको पक्षमा लाग्दै आएका शर्मा गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन र प्रदर्शनमा अगुवाका रूपमा सक्रिय थिए । कोरोना संक्रमणका बेला उनले खान नपाएकाहरूलाई सडकमा खाना बाँड्ने काममा लाग्दा धेरैसँग परिचित हुने मौका पाए । 

ढोरपाटनमा गएको पहिरोसहितका विपत‍्मा उनले राहत सामग्री वितरण गर्ने काम  गरेका थिए । स–सानो काम गरे पनि उनले फोटो भिडियो बनाएर सामाजिक संजालमा पोस्ट गरेकामा कतिपयले युट्युबरको पनि आरोप लगाए । समाजमा हुने विभेद र विसंगतिविरुद्ध आवाज उठाउन भने उनी कहिल्यै पछि परेनन् । पटक–पटक पक्राउ परेर प्रहरी हिरासतमा पुग्दा पनि उनले आफ्नो आवाज भने कम गरेनन् ।

बागलुङमा १० वर्षअघि भएको ‘रूपा हत्याकाण्ड’को विरोधमा पनि उनी निरन्तर सक्रिय थिए । रास्वपाका अध्यक्ष रवि लामिछाने पहिलो पटक गृहमन्त्री बनेपछि उनले बागलुङबासीका तर्फबाट ज्ञापनपत्र पनि बुझाए । उक्त ज्ञापनपत्रको अहिलेसम्म सुनुवाइ भने भएको छैन । संसद‍्मा पुगे पनि सामाजिक समस्याबारे बोल्न नछाड्ने उनले बताए ।

रत्नराज्य क्याम्पसबाट आमसंचार र राजनीतिशास्त्र विषयमा स्नातक उत्तीर्ण गरेका शर्माले कम्प्युटर, नेटवर्किङ र कृषि उद्यमशीलता क्षेत्रमा काम गर्ने बताए । पहिलो पटक बागलुङका ग्रामीण क्षेत्र पुग्दा उनले ती क्षेत्रमा पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्ने बताए । सांसदका रूपमा भने देशका लागि आवश्यक पर्ने नीति निर्माणमा भूमिका खेल्ने, भ्रष्टाचारविरुद्ध निरन्तर खबरदारी गर्ने र आमनागरिकको सुख–दुःखमा साथ दिने गरी योजना बनाएर काम गर्ने उनले बताए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully