गुल्मी मदाने गाउँपालिका-७ भनभनेमा २०३१ फागुन १६ मा जन्मिएका गोविन्द पन्थी नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) पदबाट अवकाशपछि सामाजिक क्षेत्रमा सक्रिय थिए ।
गुल्मी — गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी यसअघि प्रहरी सेवामा थिए । पूर्वमन्त्री तथा एमाले नेता गोकर्ण विष्टलाई पराजित गर्दै पन्थी निर्वाचित भएका हुन् ।पन्थीले १६ हजार ९ सय ६७ मत ल्याउँदा विष्टले १६ हजार ४ सय ६ मत पाए ।
गुल्मी मदाने गाउँपालिका-७ भनभनेमा २०३१ फागुन १६ मा जन्मिएका गोविन्द पन्थी नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) पदबाट अवकाशपछि सामाजिक क्षेत्रमा सक्रिय थिए । अधिवक्तासमेत रहेका उनी पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका हुन् ।
प्रहरी सेवामा रहँदा नेपालमा पछिल्लो समय चर्चामा रहेका भिजिट भिसा र भुटानी शरणार्थी काण्डको अनुसन्धानमा पन्थी पनि संलग्न थिए ।
पन्थीले मानव बेचबिखन र लागूऔषधसम्बन्धी विभिन्न विषयमा नेपालका विभिन्न स्थानमा प्रष्टीकरण र प्रशिक्षण कार्यशालामा सक्रिय भूमिका पनि निर्वाह गरेका छन् । कानुनी सेवाबाट वञ्चित रहेका विपन्न वर्गलाई उनले निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएका छन् । जसले उनलाई समाजका विभिन्न वर्गमा झनै नजिक बनाएको छ । प्रहरी सेवामा रहँदा र सामाजिक काममा संलग्न हुँदा बटुलेकाे अनुभवले संसद्मा जिम्मेवार भएर काम गर्ने उनले बताए ।
