रास्वपाको चुनावी तुफानले दिग्गज नेताहरू बढारिहँदा कोशी प्रदेशबाट भने सुब्बाले जित दर्ज गर्दै कांग्रेसको प्रतिष्ठा जोगाए ।
विराटनगर — कांग्रेस उम्मेदवार सन्तोष सुब्बाले तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै संघीय संसद्को बाटो तय गरेका छन् । रास्वपाको चुनावी तुफानले दिग्गज नेताहरू बढारिहँदा कोशी प्रदेशबाट भने सुब्बाले जित दर्ज गर्दै कांग्रेसको प्रतिष्ठा जोगाए ।
२०७९ को प्रदेशसभामा तेह्रथुम १ (१) मा एमालेका किशोरचन्द्र दुलालसँग झिनो मतले पराजित उनले प्रतिनिधिसभा निर्वाचनमा एमालेका सचिव भानुभक्त ढकाललाई पराजित गर्दै पहिलो पटक संघीय संसद्को यात्रा तय गरेका हुन् ।
सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दा ढकालले १० हजार ६ सय ८२ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७ सय ३७ मत ल्याउँदै तेस्रो स्थान हासिल गरे।
श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बु ५ हजार २ सयसहित चौथो बने । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने यही क्षेत्रबाट कांग्रेसकै सीता गुरुङ विजयी भएकी थिइन् । त्यसअघि यो क्षेत्र एमालेको ‘लालकिल्ला’ मानिन्थ्यो । कांग्रेस बलियो प्रतिस्पर्धी मात्रै थियो । २०७९ यता भने कांग्रेसले एमालेको उक्त किल्ला भत्काउन सफल भएको छ ।
एमाले सचिव ढकाल राजनीतिक पुनरागमन गर्ने उद्देश्यसहित यसपटक गृहजिल्ला तेह्रथुमबाट चुनावी मैदानमा उत्रिएका थिए । तर, उनको योजनालाई सुब्बाले विफल तुल्याइदिए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका ढकाल २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट निर्वाचित भई मन्त्रीसमेत बनेका थिए । तर, २०७९ को निर्वाचनमा उनी कांग्रेसका डा. सुनिल शर्मासँग २२ हजारभन्दा बढी मतान्तरले पराजित हुन पुगे । बलिया प्रतिस्पर्धी शर्माको क्षेत्र छाडेर पहाड उक्लिएका उनी त्यहाँ पनि पछारिए । यस पटक डा. शर्मालाई मोरङ-३ मा रास्वपाका गणेश कार्कीले जिते ।
४८ वर्षीय नवनिर्वाचित सुव्बा करिब तीन दशकदेखि राजनीतिमा सक्रिय छन् । २०५२ सालदेखि उनी कांग्रेसका क्रियाशील सदस्य हुन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी सामाजिक गतिविधिमा सक्रिय थिए । २०६२/६३ को जनआन्दोलनको उभारले उनको राजनीतिक चेत खुल्यो र सक्रियता समेत बढायो ।
सुब्बा सुरूमा कांग्रेसका भ्रातृ संगठन नेपाल तरुण दलमा आबद्ध भए । त्यहाँ उनले दुई कार्यकाल नेतृत्व गरे । त्यसपछि बल्ल पार्टीको मूल प्रवाहमा मिसिँदै कांग्रेस तेह्रथुमको निर्वाचित कोषाध्यक्ष बने ।
संगठनात्मक क्षमता र सक्रियताकै आधारमा उनी कांग्रेसको १३औं महाधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित भए । त्यसपछि १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चुनिए । यसपटक प्रतिनिधिसभामा कांग्रेसका थोरै सांसदमध्ये उनी पनि हुनेछन् । त्यहाँ उनले निर्वाह गर्ने भूमिका चाँडै देखिने नै छ ।
