३५ वर्ष गाउँबस्तीमा भिजेका केरुङको ५३ वर्षमा संसदीय यात्रा

केरुङसँग नेपाल विद्यार्थी संघ, नेपाल शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस र प्रजातान्त्रिक प्राध्यापक संघ जस्ता कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थामा काम गरेको अनुभव छ ।

फाल्गुन २४, २०८२

लक्ष्मी गौतम

Kerung, who spent 35 years in the countryside, has a parliamentary journey in 53 years

पाँचथर — पाँचथरमा नरेन्द्रकुमार केरुङको परिचय कांग्रेस नेताका रूपमा मात्रै सीमित छैन। उनको साइनो राजनीतिसँगै सामाजिक र शैक्षिक क्षेत्रसम्म जोडिएको छ ।

२०४७ सालपछि निरन्तर राजनीतिमा क्रियाशील उनी साविक सिदिन गाविस–७ (हाल फालेलुङ गाउँपालिका–७ मा २०२९ कात्तिक २१ मा जन्मिएका हुन् । नरेन्द्र बाल्यकालदेखि नै राजनीतिक माहोलमा हुर्किएकाका थिए । उनका बुवा देउमान केरुङ २०३९ देखि निरन्तर प्रधानपञ्च हुँदै प्रजातन्त्र प्राप्तिपश्चात् २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा गाविस अध्यक्ष निर्वाचित भएका थिए । 

केरुङसँग नेपाल विद्यार्थी संघ, नेपाल शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस र प्रजातान्त्रिक प्राध्यापक संघ जस्ता कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थामा काम गरेको अनुभव छ ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनीसँग सिद्धदेवी मावि सिदिन, नयाँ नमुना माध्यमिक विद्यालय फिदिम र पाँचथर बहुमुखी क्याम्पसमा अध्यापन तथा प्राध्यापन गरेको अनुभव छ । उनी किराँत लिम्बूको सामाजिक संस्था किराँत याक्थुङ चुम्लुङका संस्थापक महासचिव पनि हुन् ।

उनी २०४८ सालमा नेविसंघका जिल्ला सचिव थिए । २०५१ मा शिक्षक संघको जिल्ला सह–सचिव बनेका केरुङ २०५७ देखि २०६७ सालसम्म ट्रेड युनियन कांग्रेसको सभापति भएर निरन्तर १० वर्ष नेतृत्व गरे । त्यसपछि उनले २०५५ देखि २०६७ सालसम्म पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापन गरे । २०६७ मै उनी प्रजातन्त्रवादी प्राध्यापक संघको केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०७८ सालअघि उनी कांग्रेस पाँचथरको जिल्ला सह–सचिवको भूमिकामा थिए । त्यसपछि २०६८ एघारौं महाधिवेशन मार्फत पार्टीको जिल्ला सभापति बने । केरुङ जिल्ला सभापति भएकै बेला २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रदेशसभा निर्वाचनमा एमालेसँग पराजित भए भने तेह्रौं महाधिवेशनमा केन्दीय सदस्यमा पराजित भएका थिए ।

सांसद र पार्टी नेतृत्वमा हार व्यहोरे पनि उनी जिल्लाको संगठन निर्माणमा सधैं सक्रिय थिए । भ्याएसम्म जो–कोहीको घरमा मलामी र जन्ती पुगेर पनि उनले जिल्लाका बासिन्दाबाट सद्भाव बटुलिरहेका थिए । गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले उनलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । केन्दीय सदस्य भएलगत्तै पाँचथरको उम्मेदवार बन्ने जिम्मेवारी पाएका केरुङले श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई २ हजार ४ सय २४ मतान्तरले हराउँदै संसदीय यात्रा तय गरेका हुन् ।

करिब ३५ वर्षे राजनीतिक यात्राका दौरानमा केरुङ जिल्लाका ८ वटा स्थानीय तह र ६० वडा रहेको पाँचथरका सबै टोल–बस्ती र प्रायः घर–घरसम्म पुगेका छन् । संघीय संसदमा निर्वाचित भएलगत्तै सम्बोधन गर्दै केरुङले जिल्लाको विकास निर्माणदेखि नागरिकमैत्री कानुन निर्माणमा भूमिका खेल्ने प्रतिबद्धता जनाए । ‘म कदापि पनि जिल्लाका नागरिक र जिल्लावासीको शीर झुक्न दिने छैन । तपाईहरूले जिताएको नरेन्द्र केरुङ संसदमा सधैं नागरिकका समस्या उठाउँदै समाधान खोज्न सक्रिय रहनेछ । मलाई नेता वा माननीय नभएर आफ्नै कार्यकर्ता सम्झेर काम लगाउनुहोस्, म सधैं तपाईंको साथमा रहन्छु, सांसद भएर काठमाडौंमा हराउँदिन, तपाईहरुकै साथमा रहन्छु,’ उनले भने । २०५८ सालमा मीना रिजालसँग वैवाहिक जीवनमा बाँधिएका उनका दुई सन्तान छन् ।

यी हुन् १६५ सांसदप्रतिनिधिसभा निर्वाचन २०८२

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully