२०७० को निर्वाचनमा एमालेका धनबहादुर घले, २०७४ मा एमालेकै खेमप्रसाद लोहनी र २०७९ मा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका थिए । यसपटक भने नयाँ दल र नयाँ अनुहारका रूपमा मैदानमा उत्रिएका श्रेष्ठले मतदाताको भरोसा जिते ।
काठमाडौँ — धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ निर्वाचित भएका छन् । उनले २६ हजार १४३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश धमलालाई ५ हजार ८६५ मतान्तरले पराजित गरे ।
धमलाले २० हजार २७८ मत पाए। नेकपा एमालेका धनबहादुर घलेले १० हजार ८४ र नेपाल कम्युनिस्ट पार्टीका रामबहादुर भण्डारीले ९ हजार ३७ मत प्राप्त गरे ।
एमाले र कांग्रेसको परम्परागत प्रभाव मानिने धादिङ–२ मा रास्वपाबाट श्रेष्ठको जितलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण परिवर्तनका रूपमा हेरिएको छ । रुबीभ्याली, गंगाजमुना, खनियाँबास, नेत्रावती डबजोङ र त्रिपुरासुन्दरी गाउँपालिका तथा नीलकण्ठ नगरपालिका समेटिएको यो क्षेत्र लामो समयदेखि ठूला दलको प्रभावमा रहँदै आएको थियो ।
२०७० को निर्वाचनमा एमालेका धनबहादुर घले, २०७४ मा एमालेकै खेमप्रसाद लोहनी र २०७९ मा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका थिए । यसपटक भने नयाँ दल र नयाँ अनुहारका रूपमा मैदानमा उत्रिएका श्रेष्ठले मतदाताको भरोसा जिते ।
को हुन् बोधनारायण ?
बोधनारायण श्रेष्ठको बाल्यकाल धादिङकै ग्रामीण परिवेशमा बित्यो । सामान्य परिवारमा जन्मेका उनले गाउँकै संस्कृत प्राथमिक विद्यालय (हाल संस्कृत माध्यमिक विद्यालय) बाट आफ्नो औपचारिक शिक्षा सुरु गरेका थिए । उनले समीभञ्ज्याङ माविबाट २०४३ सालमा एसएलसी उत्तीर्ण गरे ।
उनलाई पढाएका शिक्षक सीताराम अधिकारीका अनुसार उनी अत्यन्त शान्त, अनुशासित तर जिज्ञासु स्वभावका विद्यार्थी थिए । कक्षामा ‘टपर’ विद्यार्थी नभए पनि सामाजिक विषय, बहस र सामूहिक गतिविधिमा उनको चासो उल्लेखनीय थियो । शिक्षक अधिकारी सम्झिन्छन्- 'उनी कक्षामा सधैं शान्त बस्ने विद्यार्थी थिए । पढाइमा औसत भए पनि समाज र राजनीतिसम्बन्धी विषयमा निकै जिज्ञासा राख्थे ।'
वि.सं. २०४३ सालमा उनले एसएलसी उत्तीर्ण गरे । त्यसबेला ग्रामीण क्षेत्रबाट एसएलसी पास गर्नु आफैंमा ठूलो उपलब्धि मानिन्थ्यो । उच्च शिक्षाको खोजीमा उनी त्यसपछि काठमाडौं पुगे । गाउँको सीमित अवसरबाट राजधानीको नयाँ परिवेशमा पुगेपछि उनको दृष्टिकोण पनि फराकिलो हुँदै गयो । यही चरणले उनलाई सामाजिक र राजनीतिक गतिविधितर्फ अझ सक्रिय बनायो ।
श्रेष्ठको राजनीतिक चेतनाको सुरुवात भने विद्यालय जीवनमै भएको थियो । वि.सं. २०३९ सालतिर विद्यालयमा विद्यार्थी युनियन गठन र चुनाव हुने प्रचलन थियो । त्यही समयमा उनले पहिलो पटक संगठित राजनीतिक गतिविधिमा भाग लिए । त्यतिबेला विद्यार्थी राजनीतिमा वामपन्थी धारका विभिन्न संगठन सक्रिय थिए । श्रेष्ठ तत्कालीन मसाल समर्थित विद्यार्थी संगठन ‘अनेरास्ववियु छैटौं’सँग नजिकिए । त्यो समय ‘पाँचौँ’ र ‘छैटौं’ समूहबीच वैचारिक प्रतिस्पर्धा तीव्र थियो ।
विद्यालयस्तरमै संगठन निर्माण, बहस र कार्यक्रम आयोजना जस्ता गतिविधिमा उनी सक्रिय भए । यही प्रक्रियाले उनलाई वैचारिक राजनीतितर्फ आकर्षित गर्यो । विद्यार्थी राजनीतिमा सक्रिय रहँदा उनले संगठन सञ्चालन, नेतृत्व विकास र विचार बहसको प्रारम्भिक अनुभव हासिल गरे । पछि उनको राजनीतिक यात्राको आधार यही अनुभव बन्यो ।
वामपन्थी पृष्ठभूमि र विचारधारा
२०४६ सालको जनआन्दोलनपछि देशमा बहुदलीय व्यवस्था पुनःस्थापित भयो । त्यसपछि स्थानीय तथा राष्ट्रिय राजनीति नयाँ ढंगले पुनर्संरचना हुन थालेको थियो । २०४८ र २०४९ सालतिर स्थानीय निकायको निर्वाचनको तयारी हुँदै गर्दा धादिङमा वामपन्थी शक्तिहरूबीच तालमेल गराउने प्रयास भइरहेको थियो । त्यतिबेला विभिन्न वामपन्थी धारबीच समन्वय गर्नु सहज थिएन ।
यही अवस्थामा युवा अवस्थामै श्रेष्ठले मध्यस्थकर्ताको भूमिका खेले । एमाले (तत्कालीन माले) र मसालबीच चुनावी तालमेल गराउन उनले वार्ता र समन्वयको जिम्मेवारी सम्हालेका थिए । उनकै संयोजनमा स्थानीय तहमा वाम शक्तिबीच सहमति खोज्ने प्रयास भएको थियो । यद्यपि त्यस चुनावमा कांग्रेसले जित हासिल गरे पनि उक्त घटनाले श्रेष्ठलाई एक कुशल संगठकका रूपमा चिनायो ।
जनयुद्धको समय र संघर्ष
२०५० को दशकमा नेपालमा माओवादी आन्दोलन तीव्र हुँदै गयो । २०५१ सालपछि सुरु भएको जनयुद्धले देशको राजनीतिक परिदृश्य नै बदलिदियो । त्यही राजनीतिक परिवेशमा श्रेष्ठ पनि वामपन्थी आन्दोलनसँग जोडिए । संगठन विस्तार, राजनीतिक अभियान र जनचेतना फैलाउने गतिविधिमा उनी सक्रिय रहे ।
त्यो समय राज्य र विद्रोही पक्षबीचको द्वन्द्व निकै तीव्र थियो । आन्दोलनमा संलग्न रहेका धेरै कार्यकर्ताजस्तै उनले पनि कठिन परिस्थितिको सामना गर्नुपर्यो । आन्दोलनका क्रममा उनी पटक-पटक पक्राउ परेका थिए र केही समय हिरासत तथा जेल जीवन पनि भोगेका थिए ।
२०६२/६३ को जनआन्दोलन र त्यसपछिको शान्ति प्रक्रियाले देशको राजनीतिक दिशा फेरियो । यही समयदेखि श्रेष्ठले आफ्नो व्यावसायिक जीवनलाई विकास र सामाजिक क्षेत्रमा केन्द्रित गर्न थाले । २०६५ देखि उनी अन्तर्राष्ट्रिय संस्था युनिसेफ नेपालसँग आबद्ध भए । त्यहाँ उनले खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) कार्यक्रमअन्तर्गत काम गरे ।
करिब १७ वर्षको अवधिमा उनले मधेश, बागमती, लुम्बिनी, गण्डकी, कोशी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा काम गरे । गाउँ-गाउँ पुगेर सरसफाइ, स्वच्छ पानी, पोषण र जनस्वास्थ्य सुधारका कार्यक्रम सञ्चालन गर्ने क्रममा उनले ग्रामीण नेपालको वास्तविक अवस्था नजिकबाट बुझ्ने अवसर पाए । विशेष गरी खुला दिसामुक्त अभियान, स्वच्छ खानेपानी, जनस्वास्थ्य र व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रमहरूमा उनको सक्रिय भूमिका रहेको बताइन्छ ।
२०१५ को विनाशकारी भूकम्प, विभिन्न वर्षमा आएको बाढी तथा कोभिड-१९ महामारीका बेला श्रेष्ठ अग्रपंक्तिमा काम गर्ने व्यक्तिमध्ये एक थिए । राहत वितरण, स्थानीय तहसँग समन्वय, पुनःस्थापना कार्यक्रम सञ्चालन जस्ता काममा उनी सक्रिय रहे । मानवीय सेवाको क्षेत्रमा पनि उनको संलग्नता देखिन्छ । उनी नेपाल रेडक्रस सोसाइटी धादिङमा पदाधिकारीका रूपमा काम गरिसकेका छन् ।
धादिङको साबिक मैदीमा रहेको समीभञ्ज्याङ माध्यमिक विद्यालयसँग उनको विशेष सम्बन्ध छ । उनी उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनेपछि विद्यालयको शैक्षिक विकासमा विभिन्न पहल गरेका थिए ।२०६७ सालमा उनकै नेतृत्वमा बुढीगण्डकी क्याम्पस स्थापना गरिएको थियो ।
ग्रामीण क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले क्याम्पस स्थापना गरिएको थियो । स्थानीयस्तरमा आर्थिक स्रोत जुटाउन उनले विभिन्न सामाजिक अभियान सञ्चालन गरेका थिए । शिक्षा क्षेत्रमा यस्तो पहलले उनलाई सामाजिक अभियन्ताका रूपमा चिनायो ।
वामपन्थी धारदेखि रास्वपातर्फ
वामपन्थी राजनीति र सामाजिक क्षेत्रमा लामो समय बिताएका श्रेष्ठले पछिल्लो समय नयाँ राजनीतिक विकल्प खोज्ने निर्णय गरे । देशको राजनीतिक संस्कृतिमा सुधार, सुशासन र पारदर्शिताको माग बढिरहेका बेला उनले राष्ट्रिय स्वतन्त्र पार्टी रोजे । रास्वपाको ‘सुशासन, उत्तरदायित्व र सेवा’ को एजेन्डासँग आफू नजिक भएको उनले बताउँदै आएका छन् ।
निर्वाचन अभियानका क्रममा बोधनारायण श्रेष्ठले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेन्डा बनाएका थिए । स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा कार्यान्वयन गर्दै ग्रामीण क्षेत्रमा प्रविधिमार्फत सेवा विस्तार गर्ने, स्वास्थ्य संस्थाको पूर्वाधार र जनशक्ति सुधार गर्ने उनको योजना छ ।
त्यसैगरी दुर्गम क्षेत्रमा सीपमूलक र व्यावसायिक शिक्षामा जोड दिँदै पर्यटनसँग जोडिएको रोजगार सिर्जना गर्ने, कृषि व्यवसायीकरण गर्ने र स्थानीय उत्पादनको बजार विस्तार गर्ने उनले बताएका छन् । खानेपानी, सरसफाइ र स्वच्छता सुधारलाई पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन् ।
