उनी माइतीघर मण्डलमा हुने आन्दोलन, अभियान, सरकारको खबरदारी सभा र जेन-जी आन्दोलनमा पनि काठमाडौंमा सक्रिय थिए
परासी — पूर्वी नवलपरासीको क्षेत्र नम्बर २ मा २६ वर्षका मनिष खनालले प्रतिनिधिसभाको निर्वाचनमा विजयी हासिल गरेपछि अहिले चौतर्फी चर्चा छ । मध्यविन्दु नगरपालिका-६ निवासी खनाल अधिवक्ता हुन् ।
गाउँबाट एसएलसीसम्मको अध्ययन गरेका उनी उच्च शिक्षा अध्ययनको लागि काठमाडौं गएका थिए । काठमाडौंमा कानुन अध्ययनको सिलसिलामा पुराना राजनीतिक दलभन्दा वैकल्पिक शक्ति आवश्यक ठानेर विवेकशील साझामा आबद्ध थिए ।
२०७६ सालमा जनकपुरमा सम्पन्न तत्कालीन विवेकशील साझा पार्टीको महाधिवेशनमा मनिष २० वर्षकै उमेरमा केन्द्रीय सदस्य भएका थिए । त्यसपछि उनी माइतीघर मण्डलमा हुने आन्दोलन, अभियान, सरकारको खबरदारी सभा र जेन-जी आन्दोलनमा पनि काठमाडौंमा सक्रिय थिए । निर्वाचनको घोषणापछि रास्वपाबाट टिकट ल्याएपछि उनको थप चर्चा भएको थियो ।
खनालले एमालेले लाल किल्ला भनेर चिनिने यो क्षेत्रमा आफ्ना प्रतिस्पर्धी एमालेका तिलबहादुर महतलाई २५ हजार ५ सय ९२ मतान्तरले पराजित गरेका हुन्। महत यही क्षेत्रमा लगातार तेस्रो पटक उम्मेदवार थिए। यसैगरी, कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरेका छ्न ।
