कोशी प्रदेशमा पार्टी संगठन विस्तारमा सक्रिय भूमिका खेलेका ४३ वर्षीय थापा रास्वपाका प्रदेश महामन्त्री समेत हुन् ।
सुनसरी — दोस्रो प्रयासमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालबिक्रम थापा सुनसरी–२ मा नयाँ पुस्ताको राजनीतिक पहिचान बनेका छन् । परम्परागत दलका प्रभावशाली उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै उनले यसपटक स्पष्ट जनमत प्राप्त गरेका हुन् । थापाले कांग्रेसका उम्मेदवार राजीव कोइरालालाई झण्डै तीन गुणाभन्दा बढी मतान्तरले पराजित गर्दै विजय हासिल गरेका छन् । निर्वाचन परिणामअनुसार थापाले ५७ हजार ३४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी कोइरालाले १६ हजार ७१ मत मात्र प्राप्त गरेका छन् । थापाले ४१ हजार २७७ मतान्तरको फराकिलो जित निकालेका हुन् । एमालेका उम्मेदवार सुजन लामाले ८ हजार ३०३ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका चेतन राईले ७ हजार ४८४ मत प्राप्त गरेका छन् । जिल्लाका ४ निर्वाचन क्षेत्रमध्ये सुनसरी–२ मा सबैभन्दा बढी कुल १ लाख ५८ हजार ९१० मतदाता छन् । जसमध्ये १ लाख १ हजार ४ मत खसेको थियो भने ६ हजार २ सय २९ मत बदर भएको छ ।
इटहरी निवासी थापा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनले १९ हजार ३९१ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएका थिए । तर, यसपटक भने उनले उल्लेखनीय मतसहित प्रतिद्वन्द्वीलाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान बनाउन सफल भए । स्थानीय स्तरमा संगठन निर्माणहुँदै राष्ट्रिय राजनीतिसम्म आएका थापा फराकिलो मतान्तरले विजय हासिल गर्ने नेताको रुपमा दर्ज भएका छन् ।
कोशी प्रदेशमा पार्टी संगठन विस्तारमा सक्रिय भूमिका खेलेका ४३ वर्षीय थापा रास्वपाका प्रदेश महामन्त्री समेत हुन् । सिभिल इन्जिनियरिङमा स्नातक उनी लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय थिए । वैकल्पिक राजनीति, सुशासन र पारदर्शिताको मुद्दा उठाउँदै उनले भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने अभियान चलाएका थिए ।
निर्वाचन अभियानका क्रममा थापाले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राख्दै चुनावी प्रतिबद्धता सार्वजनिक गरेका थिए । स्थानीय आवश्यकता र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर तयार गरिएको प्रतिबद्धतापत्रमार्फत उनले क्षेत्रीय समृद्धिको खाका प्रस्तुत गरेका थिए । कृषि क्षेत्रलाई विकासको मेरुदण्ड मान्दै आधुनिक खेती प्रणाली विस्तार, किसानलाई उचित मूल्य सुनिश्चित गर्ने बजार व्यवस्था, भण्डारण केन्द्र निर्माण तथा प्रत्येक स्थानीय तहमा कृषि प्रयोगशाला स्थापना गर्ने योजना अघि सारेका छन् । उम्मेदवारी दर्तापछि इटहरीस्थित एक विद्यालयको जग्गा भाडासम्बन्धी विषयलाई लिएर थापाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी समेत परेको थियो । तर, छानबिनपछि उजुरी खारेज भएको थियो ।
उनका प्रतिस्पर्धी उम्मेदवार राजीव कोइराला र सुजन लामाले थापालाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरेका छन् । थापाले भने, ‘सुशासनसहितको समृद्धि र उत्तरदायी नेतृत्व’मार्फत सुनसरी–२ लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । स्थापित दलका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधिसभामा पुगेका थापा नयाँ राजनीतिक शक्ति र वैकल्पिक नेतृत्वको प्रतीकका रूपमा उभिएका छन् । आगामी दिनमा उनको कामले नै राजनीतिक यात्राको दिशा तय गर्ने अपेक्षा समर्थकहरूले गरेका छन् ।
