माधव थापा: चिकित्सा पेसाबाट संसदीय यात्रामा छलाङ 

पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले जितपछि सबै पाल्पालीको आफू सांसद् भएको बताए । उनले परिवर्तनको एजेन्डा स्थापित गर्न आफू लागि पर्ने बताए ।

फाल्गुन २४, २०८२

माधव अर्याल

Madhav Thapa: Leap from medical profession to parliamentary journey

पाल्पा — रुपन्देहीको बुटवलमा होमियोप्याथी सेवामा समय बिताइरहेका डा. माधवबहादुर थापा ३ वर्षअघि पाल्पामा नेपाली कांग्रेसको महाधिवेशनमा जिल्ला समितिमा सदस्यमा विजयी भए । रुपन्देहीमा बसोबास भए पनि पाल्पाको रिब्दीकोट गाउँपालिका–७, पालुङमैनादी जन्म घर थियो । त्यसैले उनलाई पाल्पामै फराकिलो दायरा बनाएर पाल्पालीको सेवा गर्ने सोच बन्यो । 

त्यसैले उनले राजनीति रोजेको बताउँछन् । केही महिना अघि उज्यालो नेपाल पार्टीको सदस्यता लिए । उज्यालो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एकीकरण भएपछि उनले रास्वपा रोजे । यसैबाट उनी प्रतिनिधिसभा सदस्यको टिकट लिएर पाल्पा आएका हुन् । थापा पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । थापाले २६ हजार ७३६ मत प्राप्त गरेर निर्वाचित भए । थापाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरेका छन् । 

त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिस्ट पार्टी  सोमप्रसाद पाण्डेयले ५ हजार २८८ र नेशनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गरे । पाल्पा क्षेत्र नम्बर-२ मा २०७४ सालमा नेकपाले फराकिलो मतान्तरसहित जितेको थियो । २०७० को संविधानसभा सदस्य निर्वाचनमा भने कांग्रेसका हरिप्रसाद नेपालले जितेको क्षेत्र हो । 

२०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा भने एमालेबाट कुलप्रसाद नेपालले जितेका थिए । २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेबाटै यादवबहादुर रायमाझी, २०५१ मा विष्णुप्रसाद पौडेलले जितेको क्षेत्र हो । ०४८ सालको निर्वाचनमा कांग्रेसकै नेपालले जितेका थिए । 

यस पटकको निर्वाचनमा निर्वाचित थापाले जितपछि सबै पाल्पालीको आफू सांसद् भएको बताए । उनले परिवर्तनको एजेन्डा स्थापित गर्न आफू लागि पर्ने बताए । ‘निर्वाचनको अभियानका क्रममा हामीले केही प्रतिबद्धता र एजेन्डा आमजन समुदाय तथा मतदातामाझ प्रस्तुत गरेका छौं,’ उनले भने, ‘ती विषयहरूमा मैले संसद् भएपछि सिंगो पाल्पाको विकासका लागि काम गर्ने र महत्त्वपूर्ण भूमिका खेल्नेछु ।’ 

उनले सबै जनताको पक्षमा आफूले काम गर्ने र यस क्षेत्रको विकासका लागि सदैव खटिने बताए । यसअघि पाल्पा–२ मा एमालेका गैरे विजयी भएका थिए । थापाले विगतमा हुन नसकेका कामलाई पूरा गर्ने र युवाको काँधमा जिम्मेवारी दिनुपर्ने बताउँदै मत माग्दै हिँडेको र त्यसलाई पूरा गर्ने मागेका छन् । ‘मैले आफ्नो क्षेत्रमा जनताले झेल्दै आएको समस्या बुझेको छु,’ उनले भने, ‘कर्मथलो जिल्ला बाहिर भए पनि म आफ्नो क्षेत्रमा परिचित र लोकप्रिय छु ।’ क्षेत्र-२ को शिक्षा, स्वास्थ्य, रोजगारी, सडकजस्ता पूर्वाधार विकासमा काम गर्ने थापाको भनाइ छ । ‘नव युवामा युवा नेतृत्वलाई अघि ल्याउनुपर्छ भन्ने माग देखेको छु,’ उनले भने । 

को हुन् थापा ? 

वि.सं. २०३७ साल कात्तिकमा पाल्पाको रिब्दीकोट–७, पालुङमैनादीमा जन्मिएका थापा सामान्य किसान परिवारको पृष्ठभूमिका हुन् । सहर र समाज बुझेका, बस्ती र परिस्थितिलाई बुझेका थापा स्वास्थ्य क्षेत्रका चिकित्सकका रूपमा परिचित छन् । होमियोप्याथिक चिकित्सामा विज्ञता हासिल गरेका थापाले माध्यमिक शिक्षा पाल्पामै सकेका हुन् । चिकित्सा अध्ययन भारतमा पूरा गरेका उनी देश फर्किएर सेवा प्रारम्भ गरेका थिए । बुटवलमा सञ्चालन भइरहेको होमियोप्याथिक अस्पतालमार्फत बिरामीको जीवनमा आशा जगाएका छन् । 

थापाले कोभिड–१९ महामारीको कठिन समयमा निःशुल्क औषधि वितरण गरेको बताए । उनले मुलुकमा अपारदर्शिता बढ्दै गएको, जनतामा निराशा बढेकाले यस्ता विषय बदल्न आफू यस पटक चुनाव लडेको बताए । युवाको आशा, जनताको भरोसा, र परिवर्तनको प्रतीक बन्ने उनले बताए । ‘मैले अहिलेको पुस्ताको भावना बुझेरै काम गर्नेछु,’ उनले भने, ‘मलाई माया गर्ने देश तथा विदेशमा रहेका सबैको भावनालाई बुझ्नेछु ।’

प्रतिनिधिसभा निर्वाचन २०८२यी हुन् १६५ सांसद

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully