हरेक लहरको नेतृत्व गर्ने काठमाडौं उपत्यका

२०६४ को माओवादी लहर वा २०७४ को वाम गठबन्धनको लहरमा पनि काठमाडौं–१ र काठमाडौं–४ मा कांग्रेस तथा भक्तपुर–१ मा नेमकिपाका उम्मेदवार नै विजयी हुने गरेका थिए । तर यस पटक भने यस्ता गढ क्षेत्रलाई पनि रास्वपाले भत्काउन सफल हुँदै उपत्यकाका १५ वटै सिटमा विजयी भयो।

फाल्गुन २५, २०८२

किशोर दहाल

Kathmandu Valley, leading every wave

काठमाडौँ —  

 

यस पटकको निर्वाचनमा काठमाडौं उपत्यकाका १५ सिटमै रास्वपाका उम्मेदवार विजयी भए । यसअघिका निर्वाचनमा राजनीतिक पकड राखेका कांग्रेस, एमालेलगायतका ऐतिहासिक पृष्ठभूमि बोकेका दलका उम्मेदवार यस पटक भने ठूलो मतान्तरका साथ पराजित भएका छन् । नेपाल मजदुर किसान पार्टीको अभेद्य किल्लाका रूपमा चिनिँदै आएको भक्तपुरका दुवै क्षेत्रमा रास्वपा उम्मेदवार विजयी भए ।

 

२०७९ को निर्वाचनमा काठमाडौं उपत्यकाको १५ सिटमध्ये रास्वपाले ५ वटामा मात्रै जित्न सकेको थियो । त्यतिबेला कांग्रेसले ७, एमालेले २ र नेमकिपाले १ सिट जितेका थिए । तीन वर्षपछि गत २१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले देशभर नै छलाङ मारेको हो । काठमाडौं उपत्यका ‘भोट स्विङ’ का लागि परिचित छ । २०३८ मा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा पनि नानीमैयाँ दाहालको जितलाई धेरैले अप्रत्याशित नतिजाका रूपमा चर्चा गर्छन् । यद्यपि, त्यसपछि पनि यहाँका जनताले मत अदलबदललाई आफ्नो नियमित आदत बनाउँदै आएका छन् । कहिलेकाहीँ अनौठो छनोटसमेत हुने गरेको छ ।

 

२०४८ मा काठमाडौंमा ५, ललितपुरमा ३ र भक्तपुरमा २ वटा गरी उपत्यकामा जम्मा १० वटा मात्रै निर्वाचन क्षेत्र थिए । त्यतिबेला काठमाडौंका पाँचमध्ये चार वटा (काठमाडौं–२ बाहेक) क्षेत्रमा एमालेले जितेको थियो । काठमाडौं–१ बाट एमाले महासचिव मदनकुमार भण्डारीले बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए । ललितपुरका १ र २ मा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । क्षेत्र नं. ३ मा भने संयुक्त जनमोर्चा नेपालका उम्मेवार विजयी भएका थिए । भक्तपुर–१ मा नेमकिपा र २ मा कांग्रेस विजयी भएका थिए ।

 

यसरी बहुदलपछिको पहिलो निर्वाचनमै काठमाडौं र ललितपुरमा कम्युनिस्ट पार्टीको प्रभाव बलियो बनेको देखिन्छ । त्यो प्रभाव २०५१ को मध्यावधि निर्वाचनमा अझ बलियो बन्यो । त्यस निर्वाचनमा काठमाडौंमा ७ वटा क्षेत्र कायम भएको थियो । सबैमा एमालेका उम्मेदवार विजयी भएका थिए । ललितपुरका तीन निर्वाचन क्षेत्रमा पनि एमालेका उम्मेदवार नै विजयी भएका थिए । भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा नेमकिपा विजयी भएको थियो । यसरी बहुदल प्राप्तिपछिको दोस्रो निर्वाचनमा काठमाडौं उपत्यकाको सबै क्षेत्रमा कम्युनिस्ट उम्मेदवार विजयी भएका थिए ।

 

२०५६ को निर्वाचनअघि सत्ताको खेल र अस्थिरताले कांग्रेस तथा एमाले दुवै बदनाम भइसकेका थिए । तैपनि बलियो विकल्प तयार नहुँदा एमालेको प्रभाव देखिने गरी मिश्रित नतिजा आएको देखिन्छ । काठमाडौंका ७ मध्ये ५ वटा (१, २, ३, ५ र ६) मा एमाले र २ वटा (४ र ७) क्षेत्रमा कांग्रेस विजयी भएको थियो । ललितपुरका तीन वटै क्षेत्रमा एमाले विजयी भएको थियो । भक्तपुर–१ मा नेमकिपा र २ मा कांग्रेस विजयी भएको थियो ।

 

बहुदलकालभर बलियो एमाले २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा भने साह्रै कमजोर बन्यो । त्यतिबेला कायम काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये एमालेले एउटै क्षेत्र पनि जित्न सकेन । नयाँ शक्तिका रूपमा निर्वाचनमा होमिएको माओवादीले आफ्नो प्रभाव देखायो । कांग्रेस पनि प्रभावशाली नै रह्यो ।

 

काठमाडौंको हकमा यसको पृथक् विद्रोही स्वभाव पनि छ, यसले मूलतः स्थापित सत्तालाई समर्थन गर्नेभन्दा पनि स्थापित सत्ताविरोधीलाई अवसर दिने गरेको देखिन्छ : सन्जिब हुमागाईं, राजनीतिक विश्लेषक।२०६४ मा काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा (२, ६, ७ र १०) मा माओवादी उम्मेदवार विजयी भए । काठमाडौं–२ मा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई माओवादीका झक्कु सुवेदीले पराजित गरिदिएका थिए । सशस्त्र द्वन्द्वको नेतृत्व गरेर आएका पुष्पकमल दाहालले काठमाडौं–१० बाट जिते । बाँकी ६ वटा निर्वाचन क्षेत्रहरू (१, ३, ४, ५, ८ र ९) मा कांग्रेस उम्मेदवार विजयी भएका थिए । एमालेले जित्दै आएको ललितपुरका तीन वटै क्षेत्रमा माओवादीले जित्यो । भक्तपुरका दुवै क्षेत्रमा नेमकिपाले जित्यो । २०५१ पछि २०६४ मा आएर भक्तपुरका दुवै क्षेत्र नेमकिपाको भागमा परेका थिए । 

 

२०६४ पछिका राजनीतिबाट माओवादीको लोकप्रियता खस्कियो । त्यसको प्रभाव २०७० को निर्वाचनमा देखियो । देशभरका निर्वाचन क्षेत्रमा उसको प्रभाव कमजोर रह्यो, काठमाडौं उपत्यकामा जस्तै । २०६४ मा काठमाडौं उपत्यकाका १५ मध्ये ७ वटा निर्वाचन क्षेत्रमा जितेको माओवादीले २०७० मा एउटा पनि सिट जित्न सकेन । यहाँ कांग्रेस र एमालेकै वर्चस्व फर्कियो । जसअनुसार कांग्रेसले काठमाडौंका १० मध्ये ७ वटा (१, ४, ५, ६, ८, ९ र १०) र एमालेले ३ वटा (२, ३ र ७) निर्वाचन क्षेत्रमा जिते । २०४८ देखि कम्युनिस्ट पार्टीहरूले मात्रै जित्दै आएको ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भए । भक्तपुर–२ मा पनि कांग्रेस नै विजयी भयो । भक्तपुर–१ बाट भने नेमकिपा नै विजयी भयो ।

 

यहाँका मतदाताले आवधिक निर्वाचनमा मात्रै होइन, केही महिनामै हुने उपनिर्वाचनमा पनि मत बदल्न सक्छन् भनेर बुझ्ने एउटा सन्दर्भ हो– असार २०७१ को उपनिर्वाचन । मंसिर २०७० मा दुई ठाउँबाट निर्वाचित भएका एमाले उम्मेदवार माधवकुमार नेपालले छाडेपछि भएको उपनिर्वाचनमा कांग्रेसका दीपक कुइँकेल विजयी भएका थिए ।

Kathmandu Valley, leading every wave

२०७४ मा एमाले र माओवादीले गठबन्धन गरेर निर्वाचनमा होमिएपछि काठमाडौं उपत्यकामा पुनः कम्युनिस्टहरूको प्रभाव बढ्यो । यस निर्वाचनमा एमालेले काठमाडौंका १० मध्ये ६ वटा (२, ३, ५, ७, ८ र ९) क्षेत्रमा जितेको थियो । कांग्रेसले ४ वटा (१, ४, ६ र १०) क्षेत्रमा जितेको थियो । ललितपुरमा पुनः कम्युनिस्ट प्रभाव देखियो । एमालेले ललितपुर– १ र २ तथा माओवादीले ३ मा जित्यो । भक्तपुर–२ पनि पहिलो पटक एमाले उम्मेदवार विजयी भए । भक्तपुर–१ मा नेमकिपाकै उम्मेदवार विजयी भए ।

 

२०७९ को निर्वाचनबाट नयाँ राजनीतिक शक्तिको प्रवेश भयो, उपत्यकाका एक तिहाइ सिट जित्दै । नयाँ दल रास्वपाले काठमाडौंका १० मध्ये ४ (२, ६, ७ र ८) र ललितपुर–३ मा विजयी भयो । त्यस्तै कांग्रेसले काठमाडौंका ५ वटा (१, ३, ४, ५ र १०) क्षेत्र जित्यो । ललितपुर–१ र भक्तपुर–२ मा पनि जित्यो । एमाले काठमाडौं–९ र ललितपुर–२ मा सीमित भयो । उपत्यकाबाट माओवादी पुनः बढारियो ।

 

यसअघिका अदलबदलमा पनि कतिपय क्षेत्रमा खासै प्रभाव पर्ने गरेको थिएन । जस्तो कि, २०६४ को माओवादी लहर वा २०७४ को वाम गठबन्धनको लहरमा पनि काठमाडौं–१ र काठमाडौं–४ मा कांग्रेस उम्मेदवार नै विजयी हुने गरेका थिए । अन्यत्र जे जसो भए पनि भक्तपुर–१ मा नेमकिपाका उम्मेदवार नै विजयी हुने गरेका थिए । यस पटक भने यस्ता गढ क्षेत्रलाई पनि रास्वपाले भत्काउन सफल भयो । राजधानीमा मतदाताले निरन्तर फरक दललाई अवसर दिने गरेको अनुभव फ्रान्स, जापान, कोरियाजस्ता देशहरूमा पनि प्रशस्तै हुने गरेको बताउँछन्, राजनीतिक विश्लेषक सन्जिब हुमागाईं । मूलतः राजधानीमा र वरिपरि वा बन्दै गरेका सहरहरूमा निरन्तर जनसंख्या थपिँदा नयाँ विचार र धारणाले प्राथमिकता पाउने उनको भनाइ छ ।

 

राजधानीमा आउने नयाँ व्यक्ति सामान्यतया मध्यम वर्गका हुन्छन् । उनीहरूका अर्थ–सामाजिक मुद्दामा समर्थन गर्ने दल वा उम्मेदवारहरू मतदाताको रोजाइमा पर्छन् । ‘त्यसो त कहिलेकाहीँ नयाँ जनसंख्यालाई मात्रै ध्यान दिइयो भनेर आफ्नो संस्कृति, परम्परा वा विचारलाई ध्यान दिने रैथाने उम्मेदवारहरू खोज्ने प्रचलन पनि छ,’ हुमागाईं भन्छन्, ‘काठमाडौंको हकमा यसको पृथक् विद्रोही स्वभाव पनि छ । यसले मूलतः स्थापित सत्तालाई समर्थन गर्नेभन्दा पनि स्थापित सत्ताविरोधीहरूलाई थप अवसर दिने गरेको देखिन्छ ।’

 

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully