सामाजिक काम र जलविद्युत व्यवासयमा संलग्न उनी लोकप्रिय मत ल्याएर प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट संघीय संसदको यात्रामा छिरेका छन् ।
सिन्धुपाल्चोक — प्रतिनिधिसभा सदस्यमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भरतप्रसाद पराजुलीले पहिलो पटक संसदीय यात्रामा प्रवेश गरेका छन् ।
उनी जिल्लाको राजनीतिमा नयाँ अनुहार हुन् । सामान्य कृषक परिवारमा जन्मिएका बलेफी गाउँपालिका–६ का ५७ वर्षका पराजुलीले एक दशक गैरसरकारी संस्थाका निर्देशकको रुपमा काम गरे । त्यससँगै हाइड्रोपावर व्यवसायमा संलग्न पराजुलीले राष्ट्रिय राजनीतिको माहोललाई समातेका छन् । जलविद्युत व्यवसायमा जमेका उनी जुगल गाउँपालिकामा निर्माणाधीन ४५ मेगावाट क्षमताको ब्रहृमायणी जलविद्युत् आयोजनाका अध्यक्षसमेत हुन् ।
सामाजिक काम र जलविद्युत व्यवासयमा संलग्न उनी लोकप्रिय मत ल्याएर प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट संघीय संसदको यात्रामा छिरेका छन् । ‘गैससबाट समाज र जनताको सेवामा सर्मपित थिए, बाल्यकालमा आफुले भोगेको अभाव र समस्याले पनि मलाई घोचिरहन्थ्यो । त्यही समाधान गर्ने अकांक्षाले समाजसेवा र राजनीतिसम्म डोर्याइरहृयो,’ पराजुलीले भने ।
विशेषगरी जलविद्युत व्यवसायिक क्षेत्रमा स्थापित व्यक्तिका रुपमा चिनिएका उनी यसअघि एमाले पृष्ठभूमिबाट राजनीतिमा आबद्ध थिए । पराजुली पछिल्लो समय भने रास्वपामार्फत सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा ३० हजार ४०८ मतसहित निर्वाचित भएका थिए । उक्त निर्वाचनमा सापकोटालाई कांग्रेसले समर्थन गरेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार यसपटक पराजुलीले २४ हजार ४१२ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपाका उनै माधव सापकोटालाई पराजित गरेका छन् । सापकोटाले १७ हजार ३२७ मत प्राप्त गरेका छन् ।
निर्वाचित भएपछि उनले ग्रामीण सडक स्तरोन्नति, पक्की पुल निर्माण, खानेपानी आयोजनाको विस्तार, सिँचाइ सुविधा, शिक्षा र स्वास्थ्य क्षेत्रमा अधुरा योजना सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् । ‘मेरो समृद्ध सिन्धुपाल्चोकको परिकल्पना र सबैलाई समेटेर विकासे खाका पूरा गर्नेछु, समग्र विकासमा केन्द्रित हुनेछु, यही मेरो प्रतिबद्धता हो,’ उनले भने ।
