२५ वर्षीय उप्रेतीले २०४८ सालदेखि 'वामपन्थी किल्ला'को रुपमा रहँदै आएको मकवानपुर- २ मा विजयी हात पारेर पहिलो संसदीय यात्रा थालेका छन् ।
हेटौंडा — प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती विजयी भएका छन् । २२ जना उम्मेदवारलाई पछाडि पार्दै उप्रेतीले पहिलो पटक संसदीय यात्रा तय गरेका हुन् । मकवानपुर—२ मा ९१ हजार २ सय ४१ मत खसेको थियो ।
मकवानपुरको मनहरी गाउँपालिका-७ का उप्रेती ३१ हजार ७२५ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी महेश बर्तौलाले १९ हजार ६२४ मत ल्याएका थिए । २५ वर्षीय उप्रेतीले २०४८ सालदेखि 'वामपन्थी किल्ला'को रुपमा रहँदै आएको मकवानपुर- २ मा विजयी हात पारेर पहिलो संसदीय यात्रा थालेका छन् ।
२०५७ जेठ १० मा जन्मेका उप्रेती हाल काठमाडौं विश्वविद्यालयमा नेतृत्व तथा व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् । उनले ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्टमा स्नातक गरेका छन् ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको सचिवालयमा काम गर्दागर्दै रास्वपाले मकवानपुर-२ बाट उम्मेदवार बनाएपछि उनी माघ ४ मा मनहरी आइपुगेका थिए ।
छोरा प्रशान्तले रास्वपाबाट टिकट लिएर आएपछि बावु रामचन्द्र उप्रेतीले एमाले पार्टी परित्याग गरेका थिए । प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि उनले आफ्नो क्षेत्रमा रहेको गरिबी र पछौटेपन हटाउन सक्रिय साथ लाग्ने बताए ।
