२०४६ मा विद्यार्थी छँदा नेपाली कांग्रेसमा आवद्ध भएका पोख्रेल क्षेत्रीय प्रतिनिधिसम्म पुगेका उनी पर्यटन व्यवसायमा संलग्न छन् । २०७९ मा रास्वपा प्रवेश गरेका उनी हाल ठाकुरबाबा नगरपालिका पार्टी सभापतिसमेत हुन् ।
बर्दिया — बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीधर पोख्रेल निर्वाचित भएका छन् । संसदीय निर्वाचनको पहिलो प्रयासमै पर्यटन व्यवसायी पोख्रेलले संसदीय यात्रा तय गरेका हुन् । उनले २९ हजार ६ सय ७८ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० हजार ४ सय २ मत प्राप्त गरे । यस्तै नेपाली कम्युनिष्ट पार्टीका सुरेश पन्थले १९ हजार १ सय ८० र एमालेकी बिमला विकले १० हजार ७ सय ७२ मत पाए ।
ठाकुरबाबा नगरपालिका–९ बेतहनीका ५३ वर्षीय पोख्रेल पर्यटन व्यवसायी हुन् । उनी २५ वर्षदेखि निरन्तर पर्यटन व्यवसाय र समाज सेवामा सक्रिय छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक डुलाउने उनी वरिष्ठ प्रकृति पथ प्रदर्शकसमेत हुन् । उनलाई पर्यटन व्यवसाय, जंगलबारे राम्रो ज्ञान छ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारामा उनको आफ्नै रिसोर्ट छ ।
कानुनमा प्रमाणपत्र तह अध्ययन गरेका पोख्रेल विगतदेखि निरन्तर समाजसेवामा सक्रिय छन् । यस्तै वन व्यवस्थापनमा उनको लामो अनुभव छ । बेतहनी मध्यवर्ती सामुदायिक वनको तीन कार्यकाल अध्यक्ष भएर काम गरेको उनीसँग अनुभव छ । १५ वर्षसम्म वनको नेतृत्व सम्हाल्दा उपभोक्ता माँझ उनी लोकप्रिय मानिन्छन् । यस्तै विभिन्न गैरसरकारी संस्थामा आबद्ध रहेर उनले काम गरिसकेका छन् ।
पोख्रेल विस २०४६ मा विद्यार्थी छँदा नेपाली कांग्रेसमा आवद्ध भएका थिए । कांग्रेसबाट उनी क्षेत्रीय प्रतिनिधिसम्म पुगिसकेका थिए । नयाँ जोस र उत्साहका साथ स्थापना भएको पार्टीको विचारले आफु प्रभावित भएर २०७९ सालमा रास्वपामा प्रवेश गरेको उनी बताउँछन् । हाल उनी ठाकुरबाबा नगरपालिका रास्वपाका सभापतिसमेत हुन् ।
युवाहरुको चाहना अनुसार विकास गर्ने, देशलाई अप्ठ्यारोतिर जान नदिन आफ्नो पेशालाई थन्काएर सेवाको लागि निर्वाचनमा होमिएको उनले बताए । ‘विगतदेखि अन्य दलका नेताले विकास नगरेका होइनन्, तर जुन गतिमा गर्नुपर्ने हो त्यो नदेखिँदा आमजनतामा आक्रोश बढेको हो । देशमा सुशासन कायम नहुँदा युवाहरु आन्दोलित बन्न पुगे,’ उनले भने, ‘आफु यसै ठाउँको भएकोले यहाँको समस्या राम्रोसँग बुझेको छु । नीतिगत समस्या हुँदा कतिपय काम अधुरा पनि छन् । ती अधुरा काम पूरा गर्न नीतिगत सुधारको लागि काम गर्नुपर्नेछ ।’
अहिले बोल्नु भन्दा काम गरेर देखाउने धारणा व्यक्त गर्दै प्रतिबद्धता गरेको वाचा प्राथमिकतामा राख्ने उनले बताए ।
