यो पटक तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवार अत्याधिक मतले निर्वचित भए ।
चितवन — २०७९ साल मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवनका तीन क्षेत्रमध्ये दुईवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एउटा क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेद्वार विजयी भएका थिए ।
यो पटक तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवार अत्याधिक मतले निर्वचित भए । यसअघि चुनाव जितेको चितवन–३ मा राप्रपाका उम्मेदवारको मत साह्रै नै कम आयो ।
चितवन–३ मा राप्रपाका उम्मेदवार दीपक थापा मगरले अन्तिम मत परिणाममा १ हजार २२६ मत ल्याएका छन् । कुल १ लाख ३३ मत खसेको चितवन–३ मा रास्वपाकी सोविता गौतमले ५९ हजार २७७ मत ल्याएर चुनाव जितेकी हुन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट राप्रपाका विक्रम पाण्डे ३५ हजार ६० मत ल्याएर निर्वाचित भएका थिए । पाण्डेको तुलनामा दिपकले साढे तीन प्रतिशत मत ल्याए ।
राप्रपाले चितवन–३ मा अघिल्लो निर्वचनका विजेता पार्टीका वरिष्ठ नेता केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई नै उम्मेदवार बनाउन एकल सिफारिस गरेको थियो । तर उम्मेदवारी मनोनयन दर्ता हुने दिन बिहान मात्रै पार्टीको भरतपुर महानगर समितिका अध्यक्ष दिपक थामा मगरले टिकट पाएका थिए । नेता पाण्डेले जेन-जी आन्दोलनका मर्मअनुसार युवा उम्मेद्वारलाई उठाएको बताएका थिए ।
दीपकका लागि पाण्डेले मत माग्दै निर्वाचन अभियानहरूमा पनि हिँडेका थिए । तर त्यसको प्रभाव मतदानमा झल्केन । चितवन–३ मा राप्रपाले समानुपातिक मतसमेत गुमाएको छ । यसअघि २०७९ सालमा भएको निर्वाचनमा राप्रपाले चितवन–३ मा समानुपातिकतर्फ १६ हजार ७५५ मत ल्याएर समानुपातिकमा दोस्रो भएको थियो । तर यो पटक दुई हजार २७३ मत मात्रै आएको छ ।
राप्रपाले समानुपातिकमा चितवन–१ मा दुई हजार ९७७ र चितवन–२ मा एक हजार ८१४ मत ल्याएको छ । प्रत्यक्षतर्फ राप्रपाबाट उठेका चितवन–१ का उम्मेदवार बलराम खनालले २ हजार ३०२ र चितवन–२ का जगदिश्वर अधिकारीले ६४४ मत ल्याए । चितवनका अन्य क्षेत्रमा राप्रपा पहिल्यैदेखि कमजोर रहँदै आएको छ । चितवन–३ समेटिएको भूभागबाट राप्रपाका विक्रम पाण्डेले दुई पटक चुनाव जितेका छन् ।
