करिब पाँच दशकदेखि जिल्लाको राजनीतिमा सक्रिय रहेका ७० वर्षीय भरतकुमार स्वाँर आन्दोलनबाट स्थापित नेताका रूपमा चिनिन्छन् । २०७४ मा तत्कालीन एमाले नेता भीम रावलसित पराजित भएका स्वाँरले यसपाली नेकपाका उनै रावललाई पराजित गरेर संसदीय यात्रा सुरु गरेका छन् ।
अछाम — जिल्लामा लोकतान्त्रिक आन्दोलन र विकासको इतिहाससँग जोडिएको नाम हो भरतकुमार स्वाँर । लामो समय आन्दोलन, संगठन निर्माण र सामाजिक काममा सक्रिय रहेका स्वाँर अहिले अछाम–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
जिल्लाको राजनीतिमा करिब पाँच दशकदेखि सक्रिय रहँदै आएका उनी आन्दोलनबाट स्थापित भएका नेताका रूपमा चिनिन्छन् । साँफेबगर नगरपालिका–७ रिडिकोटका ७० वर्षीय स्वाँर सादा जीवन र सामाजिक सेवामा सक्रिय नेताका रूपमा परिचित छन् ।
स्वाँरले प्रारम्भिक शिक्षा बयालपाटास्थित महेन्द्र माध्यमिक विद्यालयबाट हासिल गरेका हुन् । त्यसपछि उच्च शिक्षाका लागि डोटी क्याम्पस सिलगढी पुगे । क्याम्पसमा अध्ययनरत रहँदा नै उनले देशको राजनीतिक अवस्थाबारे आवाज उठाउन थाले । बहुदलको पक्षमा खुलेर बोल्ने र निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्ने विद्यार्थी नेताका रूपमा उनी चिनिन थाले ।
२०३१ सालदेखि नै उनले पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रको विरोधमा राजनीतिक गतिविधि सुरु गरेका थिए । २०३४ सालमा उनले औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गर्दै पार्टी सदस्यता लिएर सक्रिय राजनीतिमा लागेका थिए । त्यसपछि उनले संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेले ।
२०३६ सालमा साँफेबगरमा भएको पञ्चायतविरोधी आन्दोलन तथा अछामको सदरमुकाम बयालपाटाबाट मंगलसेन सार्ने विषयमा भएको आन्दोलनमा उनले अग्रफंक्तिमा रहेर नेतृत्व गरेका थिए । सो आन्दोलनकै त्रममा उनी पक्राउसमेत परेका थिए, जसका कारण उनको उच्च शिक्षा बीचमै रोकिएको थियो ।
पञ्चायती व्यवस्थाविरुद्धका आन्दोलनहरूमा स्वाँर निरन्तर सक्रिय रहे । २०४२ सालको सत्याग्रह आन्दोलन र २०४६ को जनआन्दोलनमा उनले अछाममा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०६२/०६३ को जनआन्दोलनमा पनि उनी सक्रिय रूपमा सहभागी भएका थिए । २०३८ सालदेखि २०४६ सालसम्म निरंकुश व्यवस्थाको विरोधमा आवाज उठाउँदा उनले पटक–पटक गिरफ्तारी, जेल जीवन र यातना भोग्नुपरेको थियो । आन्दोलनका क्रममा बाजुरा र अछामका विभिन्न कारागारमा उनले जेलजीवन बिताएका थिए ।
२०४९ सालमा उनी जिल्ला विकास समिति अछामको सभापतिमा निर्वाचित भए । जिविस सभापतिको रूपमा उनले अछामको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र कृषि क्षेत्रमा उल्लेखनीय काम गरेका थिए ।
उनको कार्यकालमा बयालपाटामा जनता क्याम्पस स्थापना, १४८ वटा विद्यालय स्थापना तथा स्तरोन्नति, जिल्लामा सडक रेखांकनको गुरुयोजना निर्माण र सडक निर्माणको सुरुवात गरिएको थियो । लोकसेवा आयोगबाट स्वीकृति लिएर एकैपटक ६५० शिक्षक दरबन्दी सिर्जना गरी स्थायी नियुक्ति गरिएको थियो, जसले जिल्लाको शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्यायो ।
२०५६ सालमा उनी नेपाली कांग्रेस अछामको जिल्ला सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि २०७२ सालमा पनि पुनः जिल्ला सभापति बनेर पार्टी संगठनलाई बलियो बनाउन काम गरेका थिए । हाल उनी नेपाली कांग्रेसको महासमिति सदस्यका छन् ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा स्वाँर अछाम–१ बाट उम्मेदवार बनेका थिए । त्यस चुनावमा भने उनी तत्कालीन एमाले नेता भीम रावलसँग पराजित भएका थिए । लामो राजनीतिक अनुभव र जिल्लामा निरन्तर सक्रियताकै कारण उनले पुनः चुनावी मैदान समाते ।
यसपाली नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार उनै रावललाई ५ सय २६ मतान्तरले पराजित गर्दै अछाम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ‘मैले सदैव अछामका जनताको जीवनस्तर सुधार र सामाजिक न्यायका लागि आवाज उठाउँदै आएको छु । बुढीगंगा हाइड्रोपावर, सेती लोकमार्ग, बयालपाटा अस्पताललगायतका परियोजनामा नेतृत्व मात्रै होइन, जनताको हकहित सुनिश्चित गर्न पनि सक्रिय भइसकेको छु,’ निर्वाचित भएपछि स्वाँरले भने,‘मेरो प्रतिबद्धता अछामका गाउँ–टोलका मानिसको जीवनशैली सुधारमा केन्द्रित छ ।’
