तरुण दलको सचिवदेखि रास्वपाबाट सांसदको यात्रामा

फलेवास नगरपालिका–६ देवीस्थानका ४४ वर्षीय भुषाल वैदेशिक रोजगारीका क्रममा करिब १० वर्ष इजरायल बसेका थिए । स्वदेश फर्किएपछि उनी पर्यटन तथा उद्योग व्यवसायमा संलग्न छन् ।

फाल्गुन २५, २०८२

सुमनजंग थापा

From Secretary of Tarun Dal to MP from Rashtriya Swayamsevak Sangh (RSS)

What you should know

पर्वत — प्रतिनिधिसभा सदस्यमा पर्वतबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर भुषाल विजयी भएका छन्। उनले आफ्ना ‘हेभिवेट’ प्रतिस्पर्धीलाई पराजित गर्दै २६ हजार ५ सय ६१ मतसहित जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले १५ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका पदम गिरीले १५ हजार ७५ मत र नेकपाका मनहरि तिमिल्सिनाले ४ हजार ५ सय ५७ मत प्राप्त गरेका छन् ।

भुषालले यो निर्वाचनमा लामो राजनीतिक अनुभव भएका नेताहरूलाई पराजित गरेका हुन् । कांग्रेसका जोशी २०५६, २०६४ र २०७० मा तीन पटक सांसद भइसकेका थिए । एमालेका गिरी २०७४ र २०७९ मा दुई पटक सांसद बनेका थिए भने मन्त्री र प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हालेका थिए ।

विजयी भुषाल पहिले कांग्रेसबाट राजनीतिमा सक्रिय थिए । उनी कांग्रेसको भ्रातृ संगठन तरुण दलको जिल्ला सचिवसम्म बनेका थिए । तरुण दलका तत्कालीन अध्यक्ष तोरण मल्ल ठकुरी स्थानीय तहको निर्वाचनमा जाँदा रिक्त भएको कार्यवाहक अध्यक्ष पदको अपेक्षा उनले गरेका थिए । उक्त जिम्मेवारी नपाएपछि उनी पार्टीप्रति असन्तुष्ट भएर कांग्रेस त्यागेका थिए । कांग्रेसका केही नेताले उनलाई पुनः पार्टीमा फर्काउने प्रयास गरे पनि रास्वपाबाट टिकट पाएपछि भने उनी कांग्रेस फर्केनन् ।

फलेवास नगरपालिका–६ देवीस्थानका ४४ वर्षीय भुषाल वैदेशिक रोजगारीका क्रममा करिब १० वर्ष इजरायल बसेका थिए । स्वदेश फर्किएपछि उनी पर्यटन तथा उद्योग व्यवसायमा संलग्न छन् । पोखरामा होटल रोमान्टिका सञ्चालन गर्दै आएका भुषाल पञ्चपाण्डव युपिभिसी उद्योगसँग पनि आबद्ध छन् । ‘वैदेशिक रोजगारीले केवल रोजगारीको अनुभव मात्र दिएको छैन,’ उनले भने, ‘राज्यले नागरिकका लागि कस्तो अवसर सिर्जना गर्न सक्छ र सुशासनले कसरी जीवन बदल्न सक्छ भन्ने प्रत्यक्ष अनुभव भएको छ ।’ उनी २५ भन्दा बढी देश भ्रमण गर्दै त्यहाँको विकास, कृषि, रोजगारी र पर्यटन नजिकबाट अवलोकन गरेको बताउँछन् ।

अहिलेको देशको आवश्यकता र युवाको चाहनाले आफूलाई जिताएको उनी बताउँछन् । ‘पछिल्ला ३६ वर्षदेखि पुराना दलले शासन गरे, अब हामीलाई एकपटक हेर्नुस् भन्ने हाम्रो माग थियो,’ उनले भने, ‘हामीले काम गर्न सकेनौं भने अर्को पटक जनताको दैलोमा आउने छैनौं ।’ निर्वाचित भएपछि उनले सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण, कृषि विकास, युवा सीप र रोजगारी, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully