विजयी बनेपछि गुरुङले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो पहिलो प्राथमिकता जेन–जी आन्दोलनको सम्झौता कार्यान्वयन गर्ने रहेको बताए ।
काठमाडौँ — २०६४ यताका निर्वाचनमा तत्कालीन माओवादी र कांग्रेसले आलोपालो जित्दै आएको गोरखा–१ मा यसपटक जेन–जी आन्दोलनबाट उदाएका युवा सुधन गुरुङ भारी मतसहित विजयी बने । चुमनुव्री–३ सिर्दिवासका गुरुङ भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि चर्चामा आएका युवा हुन् । उम्मेदवारी दर्ताको केही दिनअघि मात्रै रास्वपा प्रवेश गरेका उनी त्यसपछि जिल्ला झरे र वर्षौँ पुरानो साइनो–सम्बन्धका धागा जोड्दै चुनावी अभियानमा होमिए ।
सुरुवाती दिनमा पुराना दलहरूले उनको उपस्थितिलाई हल्का रूपमा लिएका थिएनन् मात्रै होइन, संगठन नै नभएको दलबाट उनले कसरी चुनाव जित्लान भन्ने संशयका प्रश्न पनि उठ्थे । तर यस्ता सबै संशय र खिसीलाई पन्छाउँदै सुधनले विजयको झन्डा गाडे ।
गुरुङले कांग्रेसका प्रतिस्पर्धी प्रेम खत्रीलाई १४ हजार ४ सय ९८ मतले पराजित गरे । उनले २९ हजार ८ सय ९६ मत पाए । सुधनको बलियो प्रभावका कारण २०६४ यताका निर्वाचनमा गोरखा–१ मा वर्चस्व राख्दै आएको नेकपाका उम्मेदवार भने तेस्रो बने । नेकपाका हरिराज अधिकारीले ११ हजार १ सय २४ मत प्राप्त गरे भने एमालेका आरसी लामिछानेले ३ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् ।
गोरखा क्षेत्र नम्बर १, २०६४ को निर्वाचनपछि तत्कालीन माओवादी र कांग्रेसले आलोपालो जित्दै आएको क्षेत्र हो । २०६४, २०७० र २०७४ मा तत्कालीन माओवादी तथा २०७९ को निर्वाचनमा माओवादीसँगको तालमेलमा कांग्रेस यो क्षेत्रमा विजयी बनेको थियो ।
उम्मेदवारी दर्तापछि चुनावी वाचापत्र सार्वजनिक गर्दै गुरुङले जेन–जी शहीद परिवार र घाइतेहरूले मन्त्रालय–मन्त्रालय धाउनुपर्ने पीडा अन्त्य गर्ने एजेन्डा बनाएर घरदैलो सुरु गरेका थिए । भदौ २३ र २४ का घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि प्रतिवेदनको आधारमा अभियोजन तथा कारबाही प्रक्रिया सुरु गर्न सरकारलाई संसदबाट निरन्तर दबाब दिने पनि उनले चुनावी वाचापत्रमा समेटेका छन् ।
‘ठूला फाइलहरूको खुलासा, शून्य सहिष्णुता, जिम्मेवारी निश्चित’ उनको मुख्य एजेन्डा रहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच वार्ता गराउनेदेखि उज्यालो नेपालका कुलमान घिसिङलाई रास्वपामा प्रवेश गराउनेसम्मका काममा पनि सुधन सक्रिय देखिएका थिए ।
जेन–जी आन्दोलनअघि चुमनुव्री–३ सिर्दिवासस्थित नाग्चेतका गुरुङ ‘हामी नेपाली’ नामक संस्थामार्फत भूकम्पलगायत विभिन्न विपद्का घटनामा राहत र उद्धारको काममा सक्रिय रहँदै आएका थिए । जेन–जी आन्दोलनपछि भने उनी यही आन्दोलनका अगुवाका रूपमा देखा परे । त्यसपछि चुनावी सरकार बनाउनेदेखि आफू सहितको सक्रियतामा बनेको सरकारको आलोचना गर्नेसम्मका गतिविधिमा उनी सक्रिय देखिए ।
विजयी बनेपछि गुरुङले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो पहिलो प्राथमिकता जेन–जी आन्दोलनको सम्झौता कार्यान्वयन गर्ने रहेको बताए । ‘जेन–जी आन्दोलनलाई जनआन्दोलन घोषणा गर्ने विषय उठाउँछु,’ उनले भने, ‘यो जित मेरो मात्र होइन, गोरखावासीको जित हो । क्षेत्र नम्बर १ विकास नभएको क्षेत्र छ, धेरै विकास गर्नुपर्ने छ । दिनरात नभनी यी पाँच वर्ष काम गर्छु ।’
