को हुन् इलाम-१ मा निर्वाचित भएका कांग्रेसका युवा नेता निश्कल राई ?

विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका उनले स्कुल–क्याम्पस इकाई हुँदै नेपाल विद्यार्थी संघ इलामका विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनात्मक भूमिका निर्वाह गरेका छन् । अध्ययन, अनुसन्धान, समाजसेवा, प्रशिक्षण, शैक्षिक तथा वित्तीय संस्थाको अनुगमन र मूल्यांकनसँगै उनी निरन्तर राजनीतिमा सक्रिय छन् ।

फाल्गुन २५, २०८२

लक्ष्मी गौतम

Who is Niskal Rai, the young leader of Nepali Congress elected in Ilam-1?

What you should know

पाँचथर — २०५६ सालमा झलनाथ खनाललाई हराएर बेनुपराज प्रसाईंले बनाएको इतिहास ३५ वर्षीय निश्कल राईले दोहोर्‍याएका छन् ।

इलाम–१ मा सोमबार साँझ ५ बजे सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार राईले विनोद नेम्वाङ लिम्बूलाई ९ सय ११ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यस क्षेत्रमा २०४८ को आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०६४ र २०७० का संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झलनाथ खनाल नेकपा एमालेका तर्फबाट विजयी भएका थिए । २०५६ मा भने खनाललाई कांग्रेसका बेनुपराज प्रसाईंले पराजित गरेका थिए भने २०७९ मा खनाललाई एमालेका महेश बस्नेतले हराएका थिए ।

यसरी २६ वर्षपछि इलाम-१ मा कांग्रेसले पुनः इतिहास दोहोर्‍याउन सफल भएको छ, जसका केन्द्रमा राई रहेका छन् ।

इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा २०४७ फागुन ७ गते जन्मिएका राईले काठमाडौंस्थित शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । अविवाहित राई हाल अर्थशास्त्रमा एमफिल गरिरहेका छन् । उनले केही समय सोही क्याम्पसमा अध्यापन पनि गरेका थिए ।

राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका हुन् । स्कुल–क्याम्पस इकाई हुँदै नेपाल विद्यार्थी संघ इलामका विभिन्न जिम्मेवारी सम्हाल्दै उनले संगठनात्मक भूमिका निर्वाह गरेका छन् । अध्ययन, अनुसन्धान, समाजसेवा, प्रशिक्षण, शैक्षिक तथा वित्तीय संस्थाको अनुगमन र मूल्यांकनसँगै उनी निरन्तर राजनीतिमा सक्रिय छन् ।

पार्टी संगठनमा उनले क्षेत्रीय सचिवदेखि सभापतिसम्मको जिम्मेवारी सम्हालेका छन् । यही निरन्तरताको परिणामस्वरूप ३५ वर्षको उमेरमै इलामेली मतदाताले उनलाई प्रतिनिधिसभा सदस्यको जिम्मेवारी दिएका हुन् ।

स्थानीय राजनीतिमा मात्र होइन, अन्तर्राष्ट्रिय अभ्यास र अनुभव बुझ्ने युवा नेताका रूपमा चिनिएका उनीप्रति मतदाताले नीति, शिक्षा, पर्यटन र पूर्वाधार विकासमा सुधार हुने अपेक्षा गरेका छन् ।

नयाँ जनादेश लिएर संसद् प्रवेश गर्दै गर्दा चुनावी अभियानमा उठाएका एजेन्डामा केन्द्रित भएर काम गर्नुपर्ने सुझाव स्थानीय मतदाता मानप्रसाद राईले दिएका छन् ।

राईले यसअघि कोशी प्रदेश सरकारको ‘हामी स्वयंसेवक’ कार्यक्रमका कार्यक्रम संयोजकको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

नैतिक राजनीति, जवाफदेही नेतृत्व र राम्रो नेपाल निर्माण हुनुपर्ने उनको धारणा छ । ‘जेन-जी’ पुस्ताको उदय र पार्टीको विशेष महाधिवेशनपछिको परिवेशमा कांग्रेसले इलाम–१ मा उनलाई युवा पुस्ताको प्रतिनिधिका रूपमा अघि सारेको थियो । पूर्वाधार, पर्यटन, शिक्षा र स्वास्थ्य विकास उनका मुख्य चुनावी एजेन्डा थिए ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनले संसद्‌मा कानुन निर्माणसँगै इलामसहित पूर्वी नेपालको चिया, अलैंची, अम्रिसो र दुग्ध उत्पादनजस्ता नगदे बालीको प्रबर्द्धन गर्दै किसानको आम्दानी बढाउन पहल गर्ने बताएका छन् ।

संसद्सँगै कांग्रेस पार्टीलाई समयसापेक्ष सुधार गर्न पनि भूमिका खेल्ने उनले बताए ।  

'युवाको सहभागिता र आर्थिक अवसर विस्तार गर्दै कृषि, पर्यटन र शिक्षालाई नीति र लगानीसँग जोड्न मेरो भूमिका रहनेछ,' उनले भने ।

इलाम-१ लाई आफूले रिपोर्टमा मात्र नभई ‘खुट्टाका पाइला-पाइलाले नापेको’ बताउँदै उनले किसानका समस्या नजिकबाट बुझेको दाबी गरे ।  'स्थानीय कृषि आधुनिकीकरण, पर्यटन प्रबर्द्धन, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य पूर्वाधार सुधार गर्नु आवश्यक छ । कृषि उपजको मूल्य श्रृंखलालाई व्यवहारिक बनाउनु छ । त्यसका लागि नीति र विधिमै सुधार गर्नुपर्छ, मेरो मुख्य प्राथमिकता पनि यही हुनेछ,' उनले भने ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully