मधेसमा कांग्रेसलाई ठूलो धक्का

मधेसका ३२ मध्ये १ सिटमा मात्रै कांग्रेस उम्मेदवार विजयी भएका छन् । 

फाल्गुन २५, २०८२

कुलचन्द्र न्यौपाने

Big blow to Congress in Madhesh

What you should know

काठमाडौं — कांग्रेसलाई मधेस प्रदेशबाट सबैभन्दा ठूलो धक्का लागेको छ । सबैभन्दा बढी जनसंख्या रहेको मधेस प्रदेशमा पार्टीको प्रभाव बढाउन भन्दै कांग्रेस सभापति गगनकुमार थापा आफै सर्लाही-४ बाट उम्मेदवार भएका थिए । तर, उनी रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहबाट भारी मतान्तरमा मात्रै हारेनन् मधेस प्रदेशका ३२ सिटमध्ये कांग्रेसले १ सिट मात्रै जित्यो । रौतहट-२ बाट कांग्रेसका उम्मेदवार फिरदोश आलमले मात्रै जिते । उनी पूर्वमन्त्री महोम्मद आफताफ आलमका छोरा हुन् ।

समानुपातिक मतमा पनि कांग्रेसले मधेस प्रदेशबाट निकै कम पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ लाख १८ हजार २२८  मत पाउँदा कांग्रेसले २ लाख ५१ हजार ८२२ मत मात्रै पाएको छ । 

सभापति आफै निर्वाचन लडेको सर्लाही–४ मा रास्वपाले समानुपातिकतर्फ ४५ हजार ५ सय १६ मत पाएको छ । प्रत्यक्षतर्फका रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले ३५ हजार ६ सय ८८ मत पाएका थिए । कांग्रेसले सभापति थापाले पाएको भन्दा पनि कम मत समानुपातिकतर्फ पाएको छ । थापाले २२ हजार ८ सय ३१ मत पाउँदा पार्टीले समानुपातिकतर्फ जम्मा १८ हजार ८१ मत पाएको छ । 

कुनैबेला मधेस नै कांग्रेसको मुख्य जनाधार मानिन्थ्यो । ०६२/०६३ को जनआन्दोलन र मधेस आन्दोलपछि खुम्चिँदै गएको मधेसमा कांग्रेसको प्रभाव यसपटक झनै नराम्रो गरी धक्का लागेको छ । यसअघि ०७९ को निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र मधेस केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टीबीचको गठबन्धनमा कांग्रेसले ७ सिट हात पारेको थियो । त्यतिबेला समानुपातिक मत पनि यसैक्षेत्रबाट कांग्रेसले बढी पाएको थियो । 

०७९ मा गठबन्धनका कारण कांग्रेसले ३२ सिटमा १५ निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो । त्यसमध्ये ७ सिटमा विजयी भएको थियो । तर, यसपटक कांग्रेसले एक ठाउँमा मात्रै चित्त बुझाउनु परेको छ ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully