कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरुको धरौटी जफत भएको हो ।
What you should know
पाँचथर — फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँचथरबाट प्रतिस्पर्धा गरेका १५ मध्ये ४ उम्मेदवारले मात्रै धरौटी जोगाएका छन् ।
धरौटी जफत भएकाहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित ११ दलका उम्मेदवार रहेका छन् । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरुको धरौटी जफत भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार जिल्ला खसेको ७१ हजार १ सय ७० मध्ये ६६ हजार ९ सय २१ मत सदर भएको छ । जस अनुसार धरौटी जोगाउन उम्मेदवारले कम्तीमा ६ हजार ६९३ मत प्राप्त गर्नुपर्ने हुन्छ ।
जस अनुसार नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ, श्रम संस्कृति पार्टीका हस्तराज शेर्मा, नेकपा (एमाले) का अइन्द्रसुन्दर नेम्वाङ र नेपाली कम्युनिस्ट पार्टीका हर्क नेम्वाङ (मिक्सो) ले मात्र आवश्यक १० प्रतिशत मत कटाएका हुन् ।
अन्य उम्मेदवार भने उक्त सीमा पार गर्न नसक्दा धरौटी जफत भएको हो । १० प्रतिशत मत कटाउन नसक्दा जमानत जफत हुने उम्मेदवारहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङ, राप्रपाका तेजकुमार कुरुम्बाङ, नेपाल मजदुर किसान पार्टिका लक्षुमण तामाङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्ले, जनता समाजवादी पार्टीका मच्छिन्द्रप्रसाद बेघा, जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङ,राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाक, मंगोल नेशनल अर्गनाइजेशनका रामकुमार तुम्रोक, नेकपा (माओवादी) का विजय नेम्वाङ,राष्ट्रिय मुक्ति पार्टीका मित्र लिङदेन छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारले धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ ।
पाँचथरको यस निर्वाचनमा चार उम्मेदवार बाहेक अन्य सबैले उक्त सीमा पार गर्न नसक्दा धरौटी गुमाएका हुन् ।
