पर्सा–१: व्यवसाय र सामाजिक कामबाट संसदीय यात्रामा पन्त 

पेशाले होटल व्यवसायी रहेका पन्त केही वर्षदेखि वीरगन्जमा व्यवसाय र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका थिए ।

फाल्गुन २६, २०८२

शंकर आचार्य

Parsa-1: Panta travels from business and social work to parliamentary journey

पर्सा — पर्सा–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुद्धिप्रसाद पन्त पहिलो पटक संसदीय यात्रामा प्रवेश गरेका हुन् । 

पन्तले २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरे । यसरी पन्तले यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा आफ्नो स्थान सुरक्षित गरेका हुन् । 

४६ वर्षीय पन्त रौतहटमा जन्मिएका हुन् । पेशाले होटल व्यवसायी रहेका पन्त केही वर्षदेखि वीरगन्जमा व्यवसाय र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका थिए । 

राजनीतिक रूपमा भने पन्त यसअघि खासै चर्चामा थिएनन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीको उदयसँगै उनी पर्सामा पार्टी संगठन निर्माणमा सक्रिय भए । पछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला सभापति बनेर छोटो समयमै पार्टी संगठनलाई बलियो बनाउने काम गरेका थिए ।   

पर्सा–१ मा यसअघि कांग्रेस, एमाले तथा मधेश केन्द्रित दलहरूबीच प्रतिस्पर्धा हुने गरेको थियो । विजय हासिल गरेपछि पन्तले कार्यकालभर आफू जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता गरेका छन् । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully