यसपटकको निर्वाचनमा कपिलवस्तु–३ मा कांग्रेसबाट अभिषेकप्रताप शाह र वीरेन्द्रकुमार कानोडिया दुवै आकांक्षी थिए, एक जनाले टिकट पाउने निश्चित थियो । उम्मेदवारी दर्ताको तीन दिनअघि कानोडियाले हठात् पार्टी परिवर्तन गरे र एमालेबाट उम्मेदवारी दिए । यता कांग्रेसभित्र संघर्ष गरेर शाहले टिकट लिए र विजयको माला पहिरिए ।
कपिलवस्तु — २५ वर्षको उमेरमा संविधानसभा सदस्य बनेका अभिषेकप्रताप शाह ४३ वर्षको उमेरमा पाँचौं पटक संसद् प्रवेश गर्दैछन् । कृष्णनगर नगरपालिका–२, कृष्णनगर बजारका शाहले कांग्रेसका तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ बाट शक्तिशाली व्यक्तिलाई पराजित गरी संसद् यात्रा तय गरेका हुन् ।
उनले पूर्वसंघीय राज्यमन्त्रीद्वय वीरेन्द्रकुमार कानोडिया र ईश्वरदयाल मिश्र, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार एहसान अहमद खाँ र मुलुकभरि लहर रहेको रास्वपाका उम्मेदवार प्रकाश रजौरियालाई पराजित गरेका छन् । मिश्र र रजौरियाबाहेक शाह, कानोडिया र खाँ एउटै टोलका बासिन्दा हुन् ।
फागुन २१ को निर्वाचनमा कपिलवस्तु–३ मा कांग्रेसबाट शाह र कानोडिया दुवै आकांक्षी थिए, एक जनाले टिकट पाउने निश्चित थियो । कांग्रेसको क्षेत्रीय समितिले कानोडियाको एकल नाम सिफारिस गरेको थियो । तर, उम्मेदवारी दर्ताको तीन दिनअघि कानोडियाले हठात् पार्टी परिवर्तन गरेर एमालेबाट उम्मेदवारी दिए । यता कांग्रेसभित्र संघर्ष गरेर शाहले टिकट लिए र विजय माला पहिरिए ।
कानोडिया २०७४ मा लुम्बिनी प्रदेश सभा सदस्यमा कपिलवस्तु ३ (२)बाट निर्वाचित भएर प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसको नेताका रूपमा लामो समयसम्म भूमिका खेले । २०६४ मा तमलोपाबाट संविधानसभा सदस्य जितेका मिश्र केही समय भौतिक निर्माण राज्यमन्त्री पनि भए । यी शीर्ष राजनीतिज्ञलाई अहिले पछि पार्दै शाहले जित दर्ता गरेका हुन् ।
चुनावका अनुभवी नेता र पूर्वमन्त्रीसँग प्रतिस्पर्धा गर्न कठिन भए पनि उनले जनताको भारी मत प्राप्त गरी संसद्को यात्रा तय गरेका छन् । युवा भावना र कुशल वाक्कलाको अनुभवलाई उनले यसपटक संसदीय अभ्यासमा प्रयोग गरे । जनताले दिएको अभिमतले उत्साहित र जिम्मेवारीबोध गराएको उनले बताए । ‘जनताले पुनः आफूलाई धेरै नै विश्वास गरेर भारी मत दिएका छन् । यो मतको सम्मान गरेर काम गर्नुपर्ने दायित्व ममाथि थपिएको छ,’ उनले भने, ‘यो मेरा लागि अवसर र जिम्मेवारी दुवै हो ।’
सानैदेखि धर्म–संस्कृतिप्रति कडा लगाव रहेको उनले सुनाए । धर्म संस्कृतिविरुद्ध लाग्नेप्रति आफू कठोर भएको पनि उनले सुनाए । स्कुल पढ्दादेखि नै अन्याय, अत्याचार सहँदैनथे । भ्रष्टाचार र बेथितिविरुद्ध सधैं आवाज उठाउने उनी विद्रोही स्वभावका मानिन्छन् । सुशासन र अनुशासनमा पनि उनी उत्तिकै दृढ छन् ।
विसं २०१५ अघिदेखि नै शाह परिवारसँग कांग्रेसको ‘लिगेसी’ थियो । २०१५ मा अभिषेकप्रतापका हजुरबुबा शिवप्रताप निर्वाचन जितेर मन्त्री भएका थिए । ०६३ सालदेखि राजनीति थालेका अभिषेक ०७४ मा आएर कांग्रेस प्रवेश गरेका हुन् ।
युवाहरूको भावना र मनोकांक्षा बुझेर काम गर्न सक्ने क्षमता भएकाले नै आफ्नो विजय सम्भव भएको उनले बताए । ‘युवाहरूलाई के गर्नुपर्छ र कसरी उनीहरूलाई रोजगारी र उद्यमशील बनाउने भन्ने मसँग प्रशस्त योजना छन्, त्यही भएर उनीहरू मप्रति आकर्षित भएका हुन्,’ उनले भने ।
उनी पहिलो पटक ०६३ मा प्रतिनिधिसभा सदस्यमा मनोनीत भएका थिए । राप्रपाबाट निर्वाचित उनका बाबु अजयप्रताप शाहको निधनपछि गिरिजाप्रसाद कोइरालाले अभिषेकलाई मनोनीत गरेका थिए ।
शाह ०६४ र ०७० मा मधेशी जनअधिकार फोरमबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । ०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कपिलवस्तु–३ मा कांग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए । ०६४ मा मुलुककै कान्छो संविधानसभा सदस्य रहेका उनी निर्वाचित हुँदा २५ वर्ष ३ महिनाका थिए । भारतको लखनउको बीबीएनआईटीएम कलेजबाट बीबीए उत्तीर्ण गरेका उनी ०७४ मा कांग्रेस प्रवेश गरेका थिए । त्यसपछि उनी आमन्त्रित केन्द्रीय सदस्य भए । कांग्रेस प्रवेशसँगै उनी हरेक पटक महासमिति सदस्य निर्वाचित हुँदै आएका छन् । कांग्रेस प्रवेश गर्नुअघि फोरममा उनी पार्टीको केन्द्रीय सह–महामन्त्री थिए ।
युवा उमेरमा चारपटकको संसदीय यात्राको अनुभव भएको बताउने उनले अहिले युवालाई मुलुकमा टिकाइराख्न लघु उद्यम र रोजगारीका लागि धेरै योजना आफूसँग रहेको बताए ।
स्थानीय मुद्दा र आवश्यकता त छँदैछ, त्यसमाथि मुलुकको आर्थिक स्थित बलियो बनाउन नजिकका तीन देशसँग ट्रेड व्यापार बढाउने नीति र योजना बनाएर कार्यान्वय गर्न पहल गर्ने उनले बताए । ‘विकास र रोजगारीका लागि पैसा नभई हुँदैन । त्यसका लागि अहिलेको अवस्थामा वैदेशिक व्यापार व्यवसाय नै मुख्य हो,’ उनले भने, ‘अब सरकार युवा नेतृत्वले चलाएर मुलुकको आर्थिक स्थिति मजबुत बनाउन जरुरी छ ।’ अहिलेका युवाले क्रिकेटमा भविष्य खोज्न थालेकाले उनीहरूका लागि कृष्णनगरमा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउने योजना बनाएको पनि उनले बताए । ‘एनपीएलका खेल हुन् या एक–दुईवटा आईपीएलका म्याच, जिल्लामा खेलाउन सकियो पनि खेल क्षेत्रको विकास गर्न सम्भव छ,’ उनले भने, ‘खेल पर्यटनबाट पनि राम्रो आय आर्जन गर्न सक्ने योजना मैले बनाएको छु ।’
शाह ४ हजार ६ सय ४५ मतान्तरले विजयी भएका हुन् । उनले २३ हजार ५ सय ३५ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले १८ हजार ८ सय ९० मत पाएका छन् । २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका रजौरिया यसपटक रास्वपा प्रवेश गरी उम्मेदवार बनेका थिए । जिल्लाको पश्चिमी क्षेत्रको भूभाग समेटिएको यो क्षेत्र निर्वाचनका बेला विशेष चर्चामा रहन्छ । शाहले दलका १२ र २३ स्वतन्त्र उम्मेदवारलाई पछि पार्दै विजयको फूलमाला पहिरिएका हुन् ।
