रामविनोद यादव : व्यवसायीदेखि सांसदसम्म

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिका यादव यसपटकको प्रतिनिधिसभा निर्वाचनमा ४१ हजार ६ सय ३७ मत ल्याएर निर्वाचित भएका छन् ।

फाल्गुन २४, २०८२

अजित तिवारी

Ramvinod Yadav: From businessman to MP

जनकपुर — धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट फराकिलो मतान्तरले जितेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामविनोद यादव (५०वर्ष) व्यवसायी हुन् । मधेशका केही जिल्लामा नेपाली सेनाका लागि उनी रासनको ठेकेदारी गर्थे । 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिका यादव यसपटकको प्रतिनिधिसभा निर्वाचनमा ४१ हजार ६ सय ३७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका दिनेश प्रसैला यादवले १० हजार १ सय ९८ मत ल्याए । 

नवनिर्वाचित सांसद यादव सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या प्रकरणका आरोपित हुन् । धनुषा जिल्ला अदालतबाट २० वर्षको कैद सजाय पाएका यादवलाई उच्च अदालत जनकपुरले सञ्चार उद्यमी सिंघानियाको हत्या आरोपमा ३ वर्षको सजाय तोकेको थियो । यादव तीन वर्ष जेल सजाय काटिसकेका छन् । तर, उक्त मुद्दामा उनलाई पनि विपक्षी बनाएर सर्वोच्च अदालतमा पुगेको मुद्दा भने विचाराधिन छ । 

रास्वपाको वेभसाइटमा यादवबारे राखिएको विवरणअनुसार, ‘निर्माण व्यवसायी तथा व्यवसायमा दुई दशकभन्दा बढीको अनुभव, अपरेशन, समन्वय र नतिजामुखी व्यवस्थापनमा परिपक्व नेतृत्व’ उल्लेख छ । 

यादवले निर्वाचनका बेला मतदातासँग गरिएका वाचालाई प्राथमिकतामा राखेर विकास र कानुन निर्माणको काम अघि बढाइने बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडक निर्माणलाई प्राथमिकतामा राखेको समेत सुनाए । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully