पाल्पा-१ मा रानाले भत्काए ३४ वर्षदेखिको ‘कम्युनिस्ट किल्ला’ 

पाल्पा-१ मा ०४६ को जनआन्दोलनपछि भएको ०४८ को चुनावमा कांग्रेसका कालुराम राना विजयी भएका थिए । त्यसयताका सबै चुनावमा एमाले उम्मेदवारले जित्दै आएका थिए ।

फाल्गुन २४, २०८२

माधव अर्याल

Rana demolishes 34-year-old 'communist stronghold' in Palpa-1

पाल्पा — २०४८ सालपछि अहिलेसम्म कम्युनिस्ट पार्टीले जित्दै आएको पाल्पा क्षेत्र नम्बर १ मा यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवार सन्दीप राना विजयी भएका छन् । उनले ३४ वर्षपछि पुनः कांग्रेसलाई जिताउन सफल भएका हुन् ।

निकटतम् प्रतिद्वन्द्वी एमालेका नारायणप्रसाद आचार्यलाई १ हजार ५ सय १७ मतान्तरमा पछि पार्दै राना विजयी भएको निर्वाचन कार्यालय क्षेत्र १ का निर्वाचन अधिकृत दशरथ पंगेनीले बताए । रानाले १८ हजार ३ सय ३६ मत पाउँदा निकटतम् प्रतिस्पर्धी आचार्यले १६ हजार ८ सय १९ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका रास्वपाका विमल पन्तले १४ हजार ३ सय ३३ मत ल्याएका छन् । 

पाल्पा-१ मा ०४६ को जनआन्दोलनपछि भएको ०४८ को चुनावमा कांग्रेसका कालुराम राना विजयी भएका थिए । त्यसयताका सबै चुनावमा एमाले उम्मेदवारले जित्दै आएका थिए । २०५१ को मध्यावधि चुनावमा एमालेका दलबहादुर रानाले चुनाव जितेका थिए ।

Rana demolishes 34-year-old 'communist stronghold' in Palpa-1

२०५६ मा भने उनी मालेबाट उम्मेदवार बने चुनाव एमालेका भद्रबहादुर थापाले जितेका थिए । संविधानसभाको निर्वाचन-२०६४ मा एमालेबाटै दलबहादुर रानाले जितेका हुन् । २०७० को संविधानसभामा राधाकृष्ण कँडेल, २०७४ मा पुनः दलबहादुर राना र २०७९ मा आचार्यले चुनाव जितेका हुन् ।

मुलुकभरमै एमालेको सुरक्षित क्षेत्रमा पाल्पा-१, गणना हुने गरेको थियो । त्यसैले ०५१ सालयताका सबै निर्वाचनमा एमाले फराकिलो मतान्तरले जित्दै आएको थियो । तर यसपटक भने युवा उम्मेदवार रानाले ६ वटा निर्वाचनपछि जित दर्ता गरेका हुन् ।

रानाको शालीनता, धार्मिक व्यत्तित्व, नम्र बोली, सबैप्रति आत्मीयता प्रदर्शन गर्ने रानाले ०४८ सालमा जितेको इतिहासलाई पुनरागमन गराउन सफल भएको कांग्रेसका क्षेत्रीय सभापति झम राज मगरले बताए । ‘मत पाउने विषय चानचुन होइनरहेछ भन्ने लाग्यो,’ उनले भने, ‘कतिपयले व्यक्तित्व हेरेर पनि मतदान गर्ने भएकाले पनि मत थपिँदै गयो । अघिल्लो ०७९ को निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार हुँदा पनि केही आधार बन्यो र अहिले जित हुन सक्यो ।’

Rana demolishes 34-year-old 'communist stronghold' in Palpa-1

राना ०७९ को निर्वाचनमा समानुपातिक सूचीमा थिए । यस क्षेत्र जनजाति बाहुल हो । तर वर्षौंदेखि एमालेको वर्चस्व रहेको थियो । यस क्षेत्रमा पर्ने रामपुर नगरपालिकाबाहेक सबै स्थानीय तहमा एमालेले नै जितेको छ । कांग्रेसबाट निर्वाचित राना स्थानीयसँग घुलमिल भएर काम गर्न सक्ने युवा भएकाले पनि जित भएको कांग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले बताए । 

को हुन् राना ? 

राना पाल्पाको रामपुर नगरपालिका–७, का स्थायी बासिन्दा हुन् । २०४४ सालमा जन्मेका रानाको बाल्यकाल रामपुरमै बितेको थियो । राजनीति शास्त्र/कानुनमा स्नातक उनी विद्यालय कालदेखि नेपाल विद्यार्थी संघमा आबद्ध थिए । नेपाल विद्यार्थी संघ पाल्पाको जिल्ला कार्यसमितिबाट राजनीतिमा सक्रिय  भारतमा अध्ययनको क्रममा नेपाल विद्यार्थी संघ भारतको सभापति थिए । विश्व विद्यार्थी युवा संघको अन्तर्राष्ट्रिय सचिव रहेका उनी अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानको अध्यक्ष हुन् । कांग्रेस लुम्बिनी प्रदेश सदस्य, कांग्रेस महासमिति सदस्य रहेका राना विभिन्न सामाजिक संघ संस्थामा सक्रिय छन् । 

नेपाली भाषाको संरक्षण र प्रवर्द्धनका लागि नेतृत्वदायी अभियानकर्ता हुन् । वि.सं.२०७२ को विनाशकारी भूकम्पको समयमा अग्रणी भूमिकामा रही राहत तथा उद्धार कार्यमा सक्रिय रहेका थिए भने । ०७६ को कोरोना महामारी (कोभिड–१९) को समयमा भारतमा अलपत्र परेका हजारौं नेपालीलाई सुरक्षित साथ स्वदेश फर्काउन नेतृत्वदायी पहल गरेका थिए । कोरोना महामारीको समयमा नेपालमा आवश्यक स्वस्थ्य सामग्री उपलब्ध गराउन तथा अक्सिजनको समस्या समाधानका लागि अग्रणी भूमिकामा सक्रिय थिए । 

देशैभर गरिब तथा जेहेन्दार विद्यार्थीका लागि अध्ययनको व्यवस्था तथा आवश्यक शैक्षिक सामग्री व्यवस्थापनमा सक्रिय रहेका उनी पाल्पा जिल्लामा भौतिक विकासका योजना ल्याउन तथा स्वास्थ्य क्षेत्रको लागि आवश्यक उपकरण उपलब्ध गराउन सक्रिय छन् । 

स्थानीय, कला, संस्कृतिको जर्गेना तथा प्रवर्द्धनमा लागेका उनी प्राकृतिक स्रोत तथा वातावरणीय संरक्षणका लागि वैज्ञानिक आधारको पहिचान गरी स्पष्ट कार्ययोजनासहित कार्य गर्दै आएका छन् । देशका विभिन्न स्थानमा सार्वजनिक पुस्तकालय स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully