निर्वाचित सम्पन्न भएलगत्तै ढकालले आफूलाई सम्भावित मन्त्रीका रुपमा समेत प्रस्तुत गरिरहेका छन् । उनको प्रतिक्रियया छ, ‘क्याबिनेटका लागि एउटा योग्य उम्मेदवार पूर्वी चितवनले अत्याधिक मत दिएर पठाएको छ ।’
चितवन — हरि ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार भएर चितवन–१ बाट दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यसअघि चितवन–१ एमालेको बलियो क्षेत्रका रुपमा चिनिन्थ्यो । तर, २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ढकालको प्रवेशपछि यो क्रम टुट्यो । ढकालले २०७९ को निर्वाचनमा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गरे । यसपटक ढकाल निर्वाचित हुँदा एमालेका उम्मेदवार दावा दोर्जे लामा तेस्रो स्थानमा खुम्चिए ।
चितवन–१ मा २०५६ सालबाहेक २०४८ सालयताका हरेक निर्वाचन जित्दै आएको एमालेलाई यस्तो अवस्थामा पुर्याउने ढकालको पृष्टभूमि एमालेसँग नै जोडिन्छ । तर, ढकाल आफूलाई शेयर कारोबारसम्बन्धी सचेतना र संघर्षले समुदायमा परिचित बनाएको बताउने गर्छन् । शेयर कारोबार कसरी गर्ने भन्ने बारेमा क्लास लिँदै हिड्दा ढकालले आध्यात्मिक चिन्तन पनि राख्नुपर्ने बताउँथे ।
‘मलाई स्टक मार्केटले चिनाएको हो । एमालेले हैन,’ निर्वाचन अभियानका क्रममा ढकालले भनेका थिए । उनले शेयर कारोबारीको हितका लागि ५ दिन आमरण अनशन बसेपछि देशभरि चिनिएको बताए । शेयर लगानीकर्ता दबाब समूह गठन गरेर ढकाललगायतले पुस २०७५ मा आमरण अनशन सुरु गरेका थिए । यही कारण शेयर कारोबारमा अनलाइन प्रणाली सुरु भएको उनको दाबी छ ।
ज्योतिष खलकका ढकालका बुबाआमा गोरखाबाट चितवन झरेका हुन् । २ साउन २०४० मा जन्मेका ढकालको घर चितवन रत्ननगर–१५ माधवपुर भट्टचोक हो । स्नातक रहेका उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको चितवन जिल्ला समितिका सचिवसमेत भएका थिए । रत्ननगर सहिद स्मृति कलेजमा पढेका ढकाल संगठनको जिल्ला सदस्य हुँदै २०६९ सालमा सचिव भए । तर, त्यसपछि उनी काठमाडौं लागे ।
२०७० सालको संविधानसभा सदस्य निर्वाचन र २०७४ सालको स्थानीय निर्वाचन र त्यसपछि भएको प्रतिनिधिसभा, प्रदेश सभा निर्वाचनमा ढकालले एमालेका उम्मेदवारहरूको पक्षमा प्रचार गरेका थिए । २०७९ सालमा भने ढकाल आफै उम्मेदवार भए । पहिलोपटकमै विजयी समेत भए ।
ढकाल त्यतिबेला ३४ हजार १८९ मत ल्याएर विजयी भएका थिए । एमालेका पाण्डेको २६ हजार ६०८ मत आयो । कांग्रेसका पौडेलले २४ हजार ९९० मत पाएका थिए । काठमाडौं गएर शेयर कारोबार र यससँग सम्बन्धित सचेतना गतिविधिमा संलग्न रहेका ढकाल २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरमा स्वतन्त्र उठेका बालेन्द्र शाह (बालेन)को सम्पर्कमा थिए ।
उनले मान्छे ड्रिमी (सपना देख्ने) र महत्वकांक्षी हुनुपर्छ भन्ने कुरा शेयरका क्लासहरूमा नै गर्थे ।
काठमाडौंमा बालेन शाह मेयरमा निर्वाचित भएपछि उत्साहित ढकाल २०७९ को संसदीय निर्वाचनमा उठ्ने निधो गरेर चितवन–१ मा सक्रियता बढाउन सुरु गरे । रास्वपा गठन गरेर राजनीतिमा आएका उक्त पार्टीका सभापति रवि लामिछाने पनि चितवनबाटै उठ्ने भए । यो बीचमा रवि र ढकालको संवाद भयो । ढकाल चितवन–१ र लामिछाने चितवन–२ मा उठे । चितवन–३ मा पनि त्यो बेला रास्वपाले जिता बराललाई उठाएको थियो । बराल तेस्रो भइन् ।
२०७९ मा ३ क्षेत्रमध्ये दुई क्षेत्रमा रास्वपा विजयी भयो । एमाले र कांग्रेसका प्रभावशाली व्यक्तिहरूलाई पराजित गर्दै चितवन–१ मा हरि ढकाल उदाए । यो निर्वाचनमा उनले पहिलाको भन्दा मत र मतान्तर दुवै बढाएका छन् । ढकालले ५८ हजार २०८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १३ हजार ३३ मत ल्याए । तेस्रो स्थानमा पुगेका एमालेका दावा दोर्जे लामाले १० हजार ८९९ मत ल्याए । यसपटक चितवनका तीनवटै क्षेत्र रास्वपाले जितेको छ ।
निर्वाचित सम्पन्न भएलगत्तै ढकालले आफूलाई सम्भावित मन्त्रीका रुपमा समेत प्रस्तुत गरिरहेका छन् । उनको प्रतिक्रियया छ, ‘क्याबिनेटका लागि एउटा योग्य उम्मेदवार पूर्वी चितवनले अत्याधिक मत दिएर पठाएको छ ।’ बालेनको सम्बन्ध र उनको जितले उत्साहित भएर चितवन–१ को संसदीय प्रतिस्पर्धामा उत्रेका ढकाल लगातार दोस्रोपटक विजयी भएका छन् । र अहिले बालेन पनि रास्वपाका वरिष्ठ नेता छन् । भावि प्रधानमन्त्री घोषित बालेनले झापा–५ बाट ऐतिहासिक विजय हासिल गरेका छन् ।
