उनले भनेका थिए–चुनाव हार्दा पनि कांग्रेस सभापतिसँग हारेको भनेर चर्चामा आउॅछु र जित्दापनि कांग्रेस सभापतिलाई पराजित गरेको भने चर्चामा आउॅछु ।
काठमाडौँ — जेनजी विद्रोह लगतै केपी शर्मा ओलीको नेतृत्वको सरकार विस्थापित भयो । संसद् विघटन भयो । २१ फागुनका लागि नयाॅ निर्वाचनको मिति तोकियो । त्यसबेलादेखि नै अमरेशकुमार सिंहको मनमा एकखालको हलचल पैदा भएको थियो ।
कांग्रेस भित्र नेतृत्व परिवर्तनको मुद्दा चल्दै थियो । तत्कालीन सभापति शेरबहादुर देउवा र हालका सभापति गगन थापासंग उनको राम्रो सम्वन्ध थिएन । नेता शेखर कोइरालाका निकट थिए । त्यतिनै बेलाको एक भेटमा सिंहले भनेका थिए,‘कांग्रेसको सभापति शेखर कोइराला भए भने म कांग्रेसबाटै टिकट लिन्छु । आएनन् भने घण्टीबाट लड्छु ।’
दोस्रो पटक पनि स्वतन्त्रबाटै चुनाव लडेर जितिने विश्वास उनमा थिएन । त्यसैले कित कांग्रेस र कि रास्वपाबाट टिकट लिने मनस्थिति बनाइरहेका थिए । कांग्रेस नेता कोइराला विशेष महाधिवेशनको पक्षमा उभिएनन्। गगन थापा नै सभापति हुने भएपछि अमरेश रास्वपामा प्रवेश गर्ने मनस्थिति बनाए । रास्वपा सभापति रवि लामिछानेसँग उनको पहिल्यैदेखि भेटघाट चलिरहकै थियो ।
रास्वपाबाट टिकट पाउने भएपछि उनी कांग्रेस सभापति थापासँग टिकटका लागि प्रयास नै गरेनन्। रास्वपाबाट चुनाव लडे । अन्ततः कांग्रेस सभापति थापालाई पराजित गरेर अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा छाएका छन्।
राजनीतिका हरेक घटनाक्रमलाई षडयन्त्रको सिद्धान्तबाट बुझ्ने र विश्लेषण गर्ने उनको राजनीतिक चरित्रनै हो । गगन थापा काठमाडौं–४ छाडेर सर्लाही–४ को आफ्नै निर्वाचन क्षेत्रमा झर्दा उनले त्यस्तै बुझेका थिए । भनेका थिए,‘यहाॅ बाहिरबाट जो–जो चुनाव लड्न आए ती सबैले हारेका छन्। अब हार्ने पालो गगनको ।’
निर्वाचनको प्रचारको दौरानका बेलामा अमरेशले दश हजार मतान्तरमा कांग्रेस सभापति थापालाई पराजित गर्ने बताउँदै आएका थिए । परिणामले त्यो भन्दा बढी मतान्तरमा गगन पराजित हुन पुगे । सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत ल्याए । १२ हजार ८ सय ५७ मतान्तरमा थापा पराजित भए ।
अमरेशको संसदीय यात्रा यो पाँचौपटक हो । ०६४ देखि कांग्रेस सभापति गगनको निरन्तर ससदीय यात्रालाई ब्रेक लगाएका अमरेशले प्रत्यक्षबाटै चार निर्वाचन जिते । २०७० देखि ०८२ सम्मका चार निर्वाचनमा जित हासिल गरेका छन भने ०६४ को निर्वाचन मात्रै उनी पराजित भएका छन् । त्यसअघि अन्तरिम संसद्मा पनि कांग्रेसबाट मनोनित सांसद थिए ।
कांग्रेसमै हुँदा पनि थापा र अमरेशबीचको सम्वन्ध कहिल्यै सुमधुर भएन । ०७९ मा कांग्रेसमा बिद्रोह गरेदेखि अमरेश कांग्रेस पसेनन्। २०७९ को निर्वाचनमा तत्कालीन सभापति शेरबहादुर देउवाले टिकट नदिएपछि अमरेश विद्रोह गरेर स्वतन्त्र उठेका थिए । त्यतिबेला कांग्रेसले नागेन्द्र कुमारलाई टिकट दिएको थियो ।
त्यतिबेला उनीसँग कुनै पार्टी थिएन । कार्यकर्ता थिएनन् । स्वतन्त्र उठेर १७ सय ६४ को मतान्तरमा कांग्रेसका उम्मेदवार कुमारलाई पराजित गरेका थिए ।
‘यसपटक म सँग रास्वपा छ । चर्चित चुनाव चिह्न घन्टी छ । जेनजी विद्रोहको तागत छ । बालेन र रवि जस्ता नेता साथमा छन,’ उनी भन्थे,‘त्यसैले मेरो जित निश्चित छ ।’
अमरेशले योसहित चार पटक चुनाव जितेका छन् । २०७० सालमा कांग्रेसकै टिकटबाट उनले चुनाव जिते । २०७४ सालमा पनि कांग्रेसकै टिकटबाट चुनाव लडे।
संसद्मा भ्रष्ट्राचारका बिरुद्धमा खासगरी कांग्रेस, एमाले र माओवादीको संस्थापन पक्षको बिरुद्धमा चर्को आवाज उठाउदै आए । कांग्रेस वा अरु कुनै पार्टीमा नगई तीन बर्षको कार्यकाल स्वतन्त्र सांसदकै हैशियतमा बिताए ।
चुनावी मैदानमा कांग्रेस सभापति थापा आफू प्रधानमन्त्री भएपछि के गर्ने भन्नेबारेमा लामो प्रतिज्ञापत्र लिएर होमिएका थिए । विभिन्न विषय विज्ञहरुको टिमले उनको निर्वाचन क्षेत्रको अध्ययन गरेको थियो । शिक्षा, स्वास्थ्य, पूर्वाधार र सिंचाईलगायतका बिषयमा अध्ययन गरेर काखा गरेका थिए ।
तर, अमरेशसंग कुनै एजेण्डा थिएन । थियो त, उनीसँग बालेनको लोकप्रिय छविको तश्वीर । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा नै गरेको थियो । रास्वपाले माघ ५गते जनकपुरको तरहितियागाछीमा परिवर्तनको उद्घोष भनेर बृहत मधेसभा राखेको थियो । त्यहि सभामा अमरेश औपचारिक रुपमा रास्वपा प्रवेश गरेका थिए। त्यहिॅबाट उनले बालेन्द्र शाह प्रधानमन्त्री नभए आत्मदाहा गर्ने सार्वजनिक उद्घोष गरेका थिए ।
सिंहसँग विकास र योजनाका कार्यक्रम भन्दा पनि बालेनलाई देखाएर मत मागेका थिए । ‘अबकी बार बालेन सरकार, चुपचाप घण्टी छाप । हरहर घन्टी, घरघर घन्टी’ जस्ता नारा सिंहले घरघरमा पुर्याएका थिए । उनले आफूलाई नभएर बालेनका लागि मत मागिरहेका थिए ।
राजनीतिमा अमरेश जति चर्चित छन्, त्यतिनै विवादस्पद पनि । षडयन्त्र सिद्धान्तमा आधारित उनको राजनीतिक विश्लेषण र आक्रामक शैली बारम्बार विवादमा आउने गर्छ । संसद्मा पनि उनले फरक पहिचान बनाएका छन् । विश्वासको मत दिने बेलामा सधै सरकारकाे पक्षमा हुन्छन् । तर, त्यसपछि सधै सरकारको बिरोध गर्ने उनको कार्यशैली कहिलेकाही विबादित हुन्छ ।संसद्मा सभामुखले बोल्न नदिएको भनेर उनले ०७८ माघ ३० गते संसद् बैठक चलिरहेकै बेला सर्ट र गन्जी खोलेर विरोध जनाएका थिए ।
उनले दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा पीएचडी गरेका छन् । जुन पृष्ठभूमिमा उनले लामो समयसम्म भारतसँगको नजिक सम्वन्धको बढाएर नेपालको राजनीतिलाई तरंगित पार्ने काम पनि गरे । त्यसैको प्रभावमा सबै पार्टीका शीर्ष नेतासँगको नजिकको सम्वन्ध बनाएका थिए । सबै दलका शीर्ष नेताहरुको किचनसम्मै उनको पहुॅच थियो । भारतको सत्ता राजनीतिमा भाजपाको उदयसँगै उनको सम्वन्ध पनि बिस्तारै टाढिदै गयो र पछिल्लो समय नेपाली राजनीतिमा उनको प्रभाव कमजोर बन्दै गएको थियो ।
राजनीतिमा पूर्णकालीन भएर प्रवेश गर्नु अघि सिंह शिक्षण पेशासँग पनि आबद्ध थिए । उनले काठमाडौंको अमृत साइन्स क्याम्पस लगायत विभिन्न शैक्षिक संस्थामा अध्यापन गरेका थिए । उनको जन्मनै सर्लाही जिल्लाको बलरा क्षेत्रमा भएको हो ।मधेशको सामान्य परिवारमा जन्मिएका सिंहका लागि सर्लाही –४ काे निर्वाचन कुनै नयाॅ थिएन । त्यहाॅको भूगोल मात्रै होइन, निर्वाचनमा हुने अनेक प्रभावसँग उनी परिचित थिए ।
तर, कांग्रेस सभापति गगन थापाका लागि नयाॅ भूगोल थियो । भाषा थिएन । त्यसैले उनी बारम्बार भन्थे ‘गगनलाई यहाॅको पाँच वटा गाउॅको नाम थाह छैन । पाॅच लाइन भाषा बोल्न आउॅदैन । यहाॅ पाइने पाइने पाचवटा बिरुवाको नाम थाह छैन । कसरी चुनाव जित्छन ?’
जे उनले भने, परिणाम त्यहि आयो। दल बदलेका अमरेश चाैथाेपटक संसदीय यात्रामा अघि बढे । तर, भूगोल बदलेर चुनाव लड्न पुगेका कांग्रेस सभापति थापाको पाॅचौ यात्रामा भने ब्रेक लाग्यो ।
उनले भनेका थिए–चुनाव हार्दा पनि कांग्रेस सभापतिसँग हारेको भनेर चर्चामा आउॅछु र जित्दापनि कांग्रेस सभापतिलाई पराजित गरेको भने चर्चामा आउॅछु ।
उनी आफैंले भने जस्तै अमरेश चुनाव जितेर चर्चामा छन् । कांग्रेस सभापति थापा भने चुनाव हारेर पार्टीभित्रै नैतिक दबावमा परेका छन् ।
