हर्क साम्पाङ : धरानको सडक आन्दोलनदेखि संघीय संसद्सम्म

रास्वपाको एकल बहुमत आएको अवस्थामा उनले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने संकेत दिएका छन् ।

फाल्गुन २४, २०८२

एलिना राई

Hark Sampang: From Dharan's street protests to the federal parliament

काठमाडौँ — २१ फागुनको निर्वाचनअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सधैं आफू प्रधानमन्त्री बन्ने दोहोर्‍याइरहन्थे । आफ्नो पार्टीले सिंगै देशको समर्थन पाउने भन्दै उनले देशकै नेतृत्व गर्ने बताउँथे । काठमाडौंका पूर्वमेयर बालेन्द्र शाहलाई समेत झापा-५ मा आफ्नो उम्मेदवार समिर तामाङले हराउने बताउँथे ।

मतपरिणाम आउँदा उनीसँग प्रधानमन्त्री बन्न पुग्ने अंक त देखिएन, तर उनले संसद्‍मा चाहिँ प्रतिनिधित्व गर्ने भएका छन् । आइतबार दिउँसो आएको मतपरिणामअनुसार साम्पाङ ३५ हजार ७४१ मतसहित विजयी भएका छन् ।

निकटम प्रतिद्वन्द्वी गोमा तामाङ सरिनले २७ हजार २४९ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका मनोज भट्टराईले ६ हजार १ सय ८५ मत ल्याए । उनीभन्दा अगाडि श्रम संस्कृति पार्टीबाट खोटाङ १ का उम्मेदवार आरेन राई १६ हजार ६१२ मतसहित विजयी भइसकेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी देवविक्रम राईले १२ हजार ७१४ मत पाए । हर्कको पार्टीका भोजपुर १ का उम्मेदवार ध्रुवराज राई पनि भोजपुर १ मा अगाडि छन् । उनलाई एमाले नेता शेरधन राईले पछ्याइरहेका छन् । देशव्यापी राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चलिरहेका बेला धरानका पूर्वमेयर साम्पाङले चाहिँ आफ्नो पार्टीलाई एउटा आकार दिएका छन् । समानुपातिकमा पनि अहिलेसम्मको गणनाअनुसार उनको पार्टीले ७६ हजार ३०४ मत पाएको छ ।

रास्वपाका लहरका बेला संसदीय राजनीतिमा प्रवेश गर्दै गरेका राई पनि बालेन्द्र शाहजस्तै २०७९ सालमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका मेयर हुन् । धरान उपमहानगरपालिकामा उनले लौरो चुनाव चिह्नबाट चुनाव लडेका थिए । त्यसबेला उनी एक्लै सडकमा भाषण गरिराख्थे । त्यसैले धेरै उनले जित्ने अपेक्षा गरेका थिएनन् ।

Hark Sampang: From Dharan's street protests to the federal parliament

तर, पुराना पार्टीबाट आजित मतदाताले उनलाई चुपचाप मतदान गरे ।  धरान उपमहानगरपालिकामा उनी २० हजार ८ सय २१ मत सहित निर्वाचित हुँदा  सत्ता गठबन्धन (कांग्रेस–माओवादी) का किशोरले १६ हजार ५९ र एमालेकी मञ्जुले १२ हजार ८ सय २५ मत ल्याएका थिए ।

धरानमा वर्षौंदेखिको खानेपानी समस्यालाई समाधान गर्ने भन्दै उनले मतदातासँग मत मागेका थिए । निर्वाचित भएपछि उनले  ‘पानी नआउने, लाइन नआउने समस्या, बेथिति र अनियमितता भएको अवस्थामा मलाई सिधा सम्पर्क गर्नू’ भन्दै आफ्नो मोबाइल नम्बर सार्वजनिक गरेका थिए ।

उनी एक दशक अघिबाटै विकृति, विसंगतिविरुद्ध खरो आवाज उठाइरहने अभियन्ता थिए । २०७२ मा मदन भण्डारी राजमार्ग विस्तारका क्रममा धनकुटे सडकमा धेरैको घर भत्किने भएपछि हर्कको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो । त्यस अभियानलाई धेरैले साथ दिएका थिए र उनलाई धरानभरि चिनाउने माध्यम बनेको थियो । महेन्द्र बहुमुखी क्याम्पसको जग्गा भूमाफियाले हडप्न गरेको चलखेलविरुद्ध धर्नादेखि धनकुटे सडकमा भएको खाल्डाखुल्डी नपुरिएकोप्रति विरोध जनाउादै सडकमै फूल रोपेर हर्कले विरोध गरेका थिए ।

हर्कले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि २७ पुस २०७८ मा धरानमा विरोध प्रदर्शन गरेका थिए । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइादा उनको पक्षमा समेत प्रदर्शन गरे । कुलमानका पक्षमा हर्कसहितको समूहले चलाएको अभियानको नारा नै थियो, ‘तीन करोड नेपालीको चाहना कुलमानलाई राख त्यही पदमा ।’ सचेत स्वतन्त्र धरान अभियानअन्तर्गत उनी यस्ता अभियान चलाउँथे ।

मेयर निर्वाचित भएपछि हर्कले धरान–२० मा पर्ने कोकाहा खोलाको पानी बराहक्षेत्र नगरपालिका हुँदै घना जंगलबाट धरानसम्म ल्याउने प्रयास थालेका थिए । ‘तिर्खाएको धरानलाई पानी देऊ’ भन्दै अभियान चलाएका उनले मेयर बनेको करिब चार महिनामै धरान बजारमा पानी ल्याए । मेयर निर्वाचित भएलगत्तै घरदैलोमा जाँदा गरेको वाचा पूरा गर्न कस्सिएका हर्कले श्रमदानमार्फत खर्दु र निसाने खोलाको पानी धरान ल्याए । पानी आएपछि उनले सामाजिक सञ्जालमा भिडियो राख्दै भनेका थिए, ‘खर्दु र निसानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बााकी छ । सर्दु पनि जोडेपछि झन् ठूलो आउनेछ फोहरा ।’

यसरी काम गरेर विश्वास जितेका साम्पाङ अब संसद्मा गएर आवाज उठाउने ठाउँमा पुगेका छन् । रास्वपाको एकल बहुमत आएको अवस्थामा उनले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने संकेत दिएका छन् । ‘जनताले चुनिहालेपछि सबैले स्वीकार्नै पर्छ, तर सरकारको नेतृत्व रविले गर्दा राम्रो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ, नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैन ।’

यी हुन् १६५ सांसदप्रतिनिधिसभा निर्वाचन २०८२

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully