महिला सशक्तीकरण, स्वास्थ्य सचेतना, युवा रोजगारी र सामाजिक जागरणका अभियानमा आशाको सक्रियता थियो ।
विराटनगर — लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी विराटनगरकी आशा झ मोरङ निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार झाले ३० हजार ४ सय ४३ मत ल्याइन् ।दोस्रो स्थानमा आएका नेपाली कांग्रेसका फुल कुमार लालवानीले ९ हजार ४ सय १५ मत ल्याए । जसपाका राजकुमार यादव तेश्रो भए । उनले ८ हजार ७ सय ४७ मत पाए ।
नेकपाका शिवकुमार मण्डल ८ हजार ६ सय १६ मतसहित चौथो र एमालेका मनोज कुमार अग्रवाल ६ हजार ९ सय ४५ मतसहित पाँचौ भए ।
२०७९ मा स्वतन्त्र उम्मेद्वारका रुपमा विजयी राष्ट्रिय उर्जाशिल पार्टीका भोगेन्द्र मण्डल छैटौ भए । उनले ४ हजार १ सय ९९ मत पाए ।
करिब १६ वर्षदेखि विभिन्न सामाजिक तथा जनस्वास्थ्य अभियानमा सक्रिय रहेकी झाले समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्ने महिला नेतृको पहिचान बनाएकी छिन् ।
महिला सशक्तीकरण, स्वास्थ्य सचेतना, युवा रोजगारी र सामाजिक जागरणका अभियानमा उनको सक्रियता थियो । यही अनुभव र विश्वसनीयताले उनलाई मतदातामाझ फरक पहिचान दिलाउँदै संसदसम्म उक्लिने सिढी तय गरेको थियो ।
‘गायत्री परिवार’ सँग आबद्ध भएर उनले नैतिक तथा सांस्कृतिक शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएकी थिइन् ।
उनले विभिन्न सामाजिक तथा आध्यात्मिक जागरण कार्यक्रम आयोजना गर्नुका साथै स्वयंसेवक व्यवस्थापन र समुदाय समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । सामाजिक सुधार, वातावरण संरक्षण र समुदाय सचेतनाजस्ता अभियानमा उनको सक्रिय सहभागिता देखिँदै आएको छ ।
झा ‘मधेशी महिला नागरिक समाज’ मार्फत उनले मधेशी महिलाको हकअधिकार, कानुनी सचेतना र नागरिकता सम्बन्धी मुद्दालाई उठाउँदै आएकी छिन् । उनले शिक्षाशास्त्रमा स्नातक गरेकी छन् ।
