‘मासिक ४० हजारसम्म कमाउने अभियानमा यहाँ सयौंलाई जोड्न सकिन्छ,’ स्नातक र स्नातकोत्तर तह अमेरिकामा पढेका नवनिर्वाचित सांसद खड्काले भने, ‘संसद् सदस्यका रूपमा राज्यको नीति बनाउने र जनप्रतिनिधिका रूपमा युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्ने हो ।’
बागलुङ — बीबीसीले गरेको अध्ययनमा १ सय प्रभावशाली महिलामा अघिल्लो वर्ष छनोट भएकी बागलुङकी सिलसिला आचार्यले कोरोना महामारीका समयमा सुरु गरेको फोहोर व्यवस्थापन अभियान अहिले पनि जारी छ । यो अभियानमा आर्थिक पाटो हेरेर हिमाल सफाइ कार्यमा समेत लागेका सिलसिलाका पति सुशील खड्का अहिले संसद्को यात्रामा लागेका छन् ।
बागलुङ क्षेत्र नं १ बाट निर्वाचित खड्काले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले अब संसदमा कानुन बनाउने अभियानसहित हरित वातावरण र रोजगारीका लागि काम गर्ने बताए । झण्डै ५ वर्षअघि स्थापित ओभ्नी भेन्चर्समार्फत उदाएका सुशीलले नियमित रूपमा आफ्नो कामलाई पनि गति दिने बताएका छन् ।
सडकमा फालिएका प्लास्टिकका बोतल र अन्य नकुहिने सामानको रिसाइकल गर्ने काममा लागेर रोजगारी सिर्जना र वातावरण सफाइमा काम गरेकी आचार्यको यो अभियानलाई नै प्रभावकारी बनाउन खड्काले साथ दिनेसमेत बताए । विभिन्न कम्पनीका उद्यमीसँग मिलेर देशका सबै सहरबाट सयौं टन फोहोर संकलन गरेर व्यवस्थापन गर्ने लक्ष्य ओभ्नी भेन्चर्सको छ । वार्षिक ५ हजार टन फोहोर रिसाइकल गर्ने गरेका खड्का दम्पती अब राज्यको निकायमा समेत पुगेकाले युवा पुस्तामा जोडिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
३९ वर्षीय खड्का र ३८ वर्षीय आचार्यको यो जोडीले संसद्को यात्रालाई मात्र सीमित नबनाइ अब आमनागरिकको रोजगारीमा काम गर्ने लक्ष्यसमेत बनाएका छन् । ‘युवाहरू नेपालमै बस्ने, मासिक ४० हजार कमाउने अभियानमा सयौंलाई जोड्न सकिन्छ,’ खड्का भन्छन्, ‘संसद् सदस्यका रूपमा राज्यको नीति बनाउने र जनप्रतिनिधिका रूपमा युवाहरूलाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्ने हो ।’ खड्का प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट रास्वपाको उम्मेदवार बनेर २० हजार ९ सय २७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीमबहादुर श्रीस रानाले ११ हजार ९ सय ८४ मत ल्याए । खड्काले श्रीसलाई ८ हजार ९ सय ८३ मतान्तरले पछि पारे ।
बागलुङ नगरपालिका–३ गुठी घर भएका खड्काले विद्यालय तहको पढाइ बेनी र बागलुङबाट पूरा गरे । स्नातक र स्नातकोत्तर तह अमेरिकामा पढेका हुन् । राजनीतिक रूपमा उनी र उनको परिवार कांग्रेस निकट हो । रास्वपा नेता स्वर्णिम वाग्लेसँगै खड्का पनि रास्वपा प्रवेश गरी उनको सचिवालयमा रहेर काम गरेका थिए । पत्नी सिलसिलासहित ओभ्नी भेन्चरमार्फत हिमाल सफाइ, प्लास्टिकजन्य बस्तुको उपयोगिताको क्षेत्रमा कार्यरत र वातावरणको क्षेत्रमा क्रियाशील भएकै बेला उनले टिकट पाएका हुन् । २०७९ को आमनिर्वाचनमा कांग्रेस घोषणापत्रमा वातावरण संरक्षणको विषय लेखनमा सिलसिलाले साथ दिएपछि उनीहरू वाग्लेसँग निकट बनेका थिए ।
अझै पनि वातावरण संरक्षणको क्षेत्रमा पुनः क्रियाशील, सुशासनको पाटोमा काम गर्ने र युवालाई वातावरण र आईटी क्षेत्रमा रोजगारी सिर्जना गर्ने लक्ष्यमा क्यालेन्डर बनाएर जाने खड्काको योजना छ । उनले वर्षमा ७ हजार बढी युवालाई आईटी र वातावरण क्षेत्रमा रोजगारी दिन सक्ने योजना बनाएको समेत दाबी गरेका छन् ।
