चिकित्साबाट संसदीय यात्रामा फिरदोस

राजनीतिमा पूर्णकालीन हुनुअघि नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी निरीक्षक थिए । नेपाल प्रहरी अस्पतालमा कार्यरत फिरदोसले राजपुर बमकाण्डअन्तर्गत कर्तव्यज्यान मुद्दामा बुबा पक्राउ परेपछि २०७६ सालमा प्रहरी सेवाबाट राजीनामा दिएका थिए ।

फाल्गुन २४, २०८२

शिव पुरी

From medicine to parliamentary journey, Firdos

रौतहट — पारिवारिक विरासत फर्काउने दबाबकाबीच रौतहट–२ बाट कांग्रेसका उम्मेदवार ३९ वर्षीय मोहम्मद फिरदोस आलम प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन् । ०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका किरणकुमार साहसँग पराजित फिरदोस यसपटक साहलाई ११ हजार ८६ को मतान्तरले पराजित गर्दै पहिलोपटक संसदीय यात्राको सुरुवात गरेका छन् । उनी पूर्वमन्त्री तथा कांग्रेसका दिवंगत नेता मोहम्मद आफताव आलमका जेठा छोरा हुन् । फिरदोस हालको राजनीतिमा सक्रिय युवा अनुहार हुन् । 
राजपुर नगरपालिका राजपुरफरदहवा घर भएका फिरदोस २९ हजार ५२८ मतसहित विजयी भए । उनका निकटतम किरणकुमार साहले १८ हजार ४४२ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका शेख सागीरले ९ हजार ३२५ मत पाए । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा रास्वपाले उम्मेदवार दिएको थिएन । मोहम्मद फिरदोस आफ्ना पिता मोहम्मद आफताब आलमको राजनीतिक विरासतलाई अगाडि बढाउने जिम्मेवारीका साथ चुनावी मैदानमा होमिएका थिए । उनको राजनीतिक उदय संयोगभन्दा पनि पारिवारिक विरासत र परिस्थितिको उपज मानिन्छ । बुबा आफताब कर्तव्य ज्यान मुद्धामा जेल परेपछि रिक्त रहेको राजनीतिक स्थान भर्न उनी डाक्टरी पेसा छोडेर राजनीतिमा होमिएका हुन् । सेतो कोट र स्टेथोस्कोप छोडेर राजनीतिमा होमिएका फिरदोसको उदय सामान्य रहेन । पारिवारिक विरासत थाम्नु पर्ने बाध्यता र स्थानीय कार्यकर्ताको दबाबकाबीच उनी एकाएक चिकित्सकबाट नेतामा रुपान्तरित भए, जसले राजपुर फरदहवाको दशकौं पुरानो राजनीतिक विरासतलाई नयाा मोड दिएको छ । कुनै समय बिरामीको उपचारमा व्यस्त रहने उनी रौतहट–२ को राजनीतिक मियो बनेका छन् । उनका दाजु मोहम्मद राजीक आलम अहिले राजपुर नगरपालिकाको नगरप्रमुख छन् ।
राजनीतिमा पूर्णकालीन हुनुअघि नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी निरीक्षक थिए । नेपाल प्रहरी अस्पतालमा कार्यरत फिरदोसले राजपुर बमकाण्डअन्तर्गत कर्तव्यज्यान मुद्दामा बुबा पक्राउ परेपछि २०७६ सालमा प्रहरी सेवाबाट राजीनामा दिएका थिए । उनले पाकिस्तानबाट एमबीबीएस गरेका हुन् ।
रौतहटका मुस्लिम र अन्य समुदायका युवाहरूलाई विकास निर्माण र सामाजिक सचेतनामा जोड्ने प्रयास गरेका उनले गर्दै आएका छन् । यस क्षेत्रमा धार्मिक सद्भाव कायम राख्न र विभिन्न सामाजिक उत्सवहरूमा सक्रिय सहभागिता जनाउनु उनको दैनिकी जस्तै बनेको छ । आर्थिक रुपमा आलम परिवार रौतहटको सम्पन्न र प्रभावशाली परिवार मानिन्छ । उनको परिवारको मुख्य आयको स्रोत कृषि, जग्गाजमिन र केही व्यावसायिक लगानी हो । उनलाई कांग्रेसले रौतहट–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि सर्वसम्मत छानेको थियो । उनी पितामाथि लागेका आरोपहरूलाई राजनीतिक प्रतिशोधको रुपमा व्याख्या गर्दै आएका छन् । पेसाले चिकित्सक भए पनि छोटो समयमै जनताको मन जितेर एउटा प्रभावशाली युवा नेताका रुपमा स्थापित भएका छन् । उनले एमबीबीएस अध्ययन गरी चिकित्सा क्षेत्रमा केही समय काम गरेका थिए । २०७९ को आम निर्वाचनमा बुबा जेलमै रहेको अवस्थामा रौतहट–२ बाट उम्मेदवारी दिएका थिए । 
वर्षौंदेखि रौतहट–२ कांग्रेस पृष्ठभूमिका आलम परिवारको राजनीतिक गढका रुपमा रहेको छ । यसअघि फिरदोसका बुबा आफतावले यहाँबाट पटक–पटक चुनाव जित्दै आएका थिए । आफतावको ०८२ कार्तिकमा उपचारका क्रममा निधन भइसकेको छ । बुबाको निधनपछि फिरदोसले राजनीतिक विरासत थाम्ने कोसिस गरिरहेका छन् । उनका हजुरबुवा शेख इद्रिसले ०१५ सालको निर्वाचनमा प्रजापरिषदबाट चुनाव जितेका थिए । कांग्रेसका पुराना नेतामध्ये इद्रिस एक हुन् । ०५४ सालमा उनको मृत्युपछि भतिजा आफतावले राजनीतिक विरासत सम्हालेका थिए । बुबा आफताबको अनुपस्थितिमा उनका समर्थकलाई एकबद्ध बनाइराख्नु फिरदोसका लागि चुनौती थियो । यसपटक शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सिंचाइ विस्तार, ग्रामीण सडक, रोजगारी सिर्जना तथा सीमावर्ती क्षेत्रको समग्र विकास प्रमुख चुनावी एजेन्डा रहेको फिरदोसले सुनाए । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully