हर्क साम्पाङ सुनसरी-१ बाट विजयी

धरानका पूर्वमेयरसमेत रहेका उनी ३५ हजार ७ सय ४१ मतसहित विजयी भएका हुन् । 

फाल्गुन २४, २०८२

एलिना राई

Hark Sampang wins from Sunsari-1

सुनसरी — सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी भएका छन् ।

साम्पाङले ३५ हजार ७ सय ४१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) ले २७ हजार २ सय ४९ मत प्राप्त गरेकी छिन् । साम्पाङ  ८ हजार ४ सय  ९२ बढी मतान्तरले विजयी भएका हुन् । 

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार टिकाराम लिम्बुले ६  हजार ४ सय ६३ मत प्राप्त गरेका छन् भने  कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९  सय ७०  मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी-१ मा कुल १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेका छन् । कुल  मतमध्ये ४७ हजार ९ सय ८ महिला र ४० हजार ४ सय ६४ पुरुष मतदाताले मतदान गरेका छन् ।

सुनसरि १ को कुल मतमध्ये ८७ हजार ४ सय ७१ मत खसेको थियो । जसमा  ४ हजार ४८९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

एमालेको लालकिल्ला तोड्दै उनी प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०८२

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully