एमाले निकट विद्यार्थी संगठनमा काम गर्दा कांग्रेसबाट गाविस अध्यक्ष समेत भैसकेका पिताको असहयोगका बाबजुद पनि राजनीतिक अडान नछाडेका महरको आत्मविश्वास नै शक्ती भएको उनकी बहिनी चाँदनी महर बताउँछिन् ।
बझाङ — एकातिर बझाङका कांग्रेसमा देखिएको अभुतपूर्व एकता, अर्कोतिर आफ्नै दलभित्र टिकट तानातानको चर्को असन्तुष्टि । एमालेका उम्मेदवार ऐन महरलाई यी दुवै परिस्थितिमा नतिजा आफ्नो पक्षमा पार्न सजिलो थिएन । जनताको मतभन्दा आफ्नै दलका नेता कार्यकर्ताको मन मिलाउन उनलाई निकै सकस थियो ।
त्यो यथार्थ बुझेका उनले अन्ततः मौन अवधि सुरु हुनु केही घण्टाअघि पत्रकार सम्मेलन आयोजना गरे । आफ्नो टिकट खोसिएकोमा बिच्किएका अफिलाल ओखेडादेखि संविधानसभा सदस्य लालबहादुर रावल, प्रदेश सभाका पूर्वसभामुख अर्जुन थापालगायत जिल्लाका सबै नेताहरूलाई एकै ठाउँमा राखेर गरिएको उक्त पत्रकार सम्मेलनमा एमालेभित्र कुनै असन्तुष्टि नभएको बताउदै सबै नेताले महरलाई जिताउन आह्वान गरे । फलस्वरुप महरको यही रणनीतिले उनलाई जित दिलायो ।
शनिबार सम्पन्न मत गणनामा उनले निकटतम प्रतिस्पर्धी प्रकाश रसाइलीलाई २ हजार २३९ मतान्तरले पछि पार्न सफल भए । एमालेका महरले १८ हजार ५४३ मत ल्याई विजयी हुँदा कांग्रेसका प्रकाश १६ हजार ३०४ मतमा सिमित हुन पुगे । बझाङमा खसेको ५८ हजार ९४४ मतमध्ये नेकपाका मिनबहादुर कुँवरले ९ हजार ७५७ र रास्वपाका शैलेसकुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विद्यार्थी नेतादेखि सांसदसम्मको यात्रा
२ चैत २०४० मा बझाङको सुवेडा गाविस (हाल जयपृथ्वी नगरपालिका–७) मा पिता रामबहादुर महर र आमा रतनाको कोखबाट जन्मिएका महरको राजनीतिक यात्रा उतारचढावले भरिएको छ । स्नातकोत्तर सकेर एमफील अध्ययन गरिरहेका महरले यसअघि २०७९ सालमा भएको निर्वाचनमा पराजय व्यहोरेका थिए । उनी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा समाजवादीका उम्मेदवार भानुभक्त जोशीसँग ९९८ मतले पछि परेका थिए ।
महरले २०५५ सालमा अस्कल क्याम्पसबाट अनेरास्ववियुको राजनीति सुरु गरेका थिए । २०६५ सालमा पोखरामा सम्पन्न अनेरास्ववियूको १९औं अधिवेसनबाट केन्द्रीय सदस्य बनेका महर २०६७ सालमा सचिवालय सदस्य, २०७० सालमा उपाध्यक्ष हुँदै २०७६ सालमा सोही संगठनको अध्यक्ष बनेका थिए । कर्णाली र सुदूरपश्चिम प्रदेशबाट अनेरास्वियुको अध्यक्ष हुने उनी पहिलो व्यक्ति हुन् । २०७८ र २०८२ सालमा भएको एमालेको महाअधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी महर जनआन्दोलन २०६२/०६३ मा सक्रियरुपमा सहभागी थिए । भूकम्प, कोभिड महामारीका बेला सामाजिक कार्यमा सक्रिय महरले विद्यार्थी नेता हुँदा नेपालको शैक्षिक क्षेत्रको सुधारको लागि चर्को आवाज उठाएका थिए ।
कांग्रेसको राजनीतिमा सक्रिय पिता राममहरसँग विद्रोह गरेर एमाले बनेका नेता ऐनको संघर्ष सफल भएकोमा उनका परिवारका सदस्य सदस्यहरू खुशी छन् । एमाले निकट विद्यार्थी संगठनमा काम गर्दा कांग्रेसबाट गाविस अध्यक्ष समेत भैसकेका उनका पिताको असहयोगका बाबजुद पनि राजनीतिक अडान नछाडेका महरको आत्मविश्वास नै शक्ती भएको उनकी बहिनी चाँदनी महर बताउँछिन् । ‘स्वभाव र अडानमा उहाँ कहिल्यै बिचलित हुन भएन् । आन्दोलनका क्रममा पटकपटक घाइते हुँदा बुबाहरूले राजनीति छोड्न दबाब दिनुहुन्थ्यो । तर, उहाँले मान्नु भएन्’ चाँदनी भन्छिन्, ‘अन्ततः बझाङी जनताको नेतृत्व गर्ने उहाँको सपना साकार भएको छ । आज हाम्रो परिवार मात्रै होइन ऐन महरलाई प्रतिनिधि बनाउने बझाङीको सपना पूरा भएको छ ।’
बझाङका सबै वडाका स्थानीयसँग सम्पर्कमा रहिरहने महरले आफ्नो कार्यकालमा बझाङका आधारभुत समस्या सम्बोधन गर्दै विकासको मार्गमा जिल्लालाई अघि बढाउने प्रतिबद्धता गरेका छन् । निर्वाचनका प्रचारका क्रममा जिल्लाका गाउँ घुम्दै गर्दा स्थानीयका मागहरू आफूले क्रमशः पूरा गर्दै जाने र बझाङलाई सडक, संचार पूर्वाधार, जलविद्युत् उत्पादनको केन्द्र बनाउने, पर्यटन, कृषि र जडिबुटीको माध्यमबाट रोजगारीका अवसर सिर्जना गर्ने उनले प्रतिबद्धता जनाएका छन् । ‘बझाङको आवाज केन्द्रमा पुर्याउने र केन्द्रको श्रोत बझाङका दुर्गम बस्तीहरूसम्म पुर्याएर बझाङ जिल्लाका सम्भावनाहरू उजागर गर्न मैले हरसम्भव प्रयास गर्नेछु,’ उनले भने, ‘बझाङी जनताले गरेको विश्वासलाई निरासामा परिणत हुन दिने छैन ।
