प्रतिद्वन्द्वीलाई १० हजार २ सय १४ मतले पछाडी पार्दै रेग्मी निर्वाचित भएका हुन् । रास्वपाका रेग्मीले २९ हजार ७१ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८ सय ५७ मत ल्याएर उपविजेता बने ।
स्याङ्जा — स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ । कांग्रेस-एमालेको गढका रूपमा चिनिएको स्याङ्जा २०६४ को प्रतिनिधिसभा निर्वाचनमा पनि तत्कालीन माओवादी पराजित बनेको थियो । पुरानै दलमाथिको विश्वासले स्याङ्जालाई हलचल गर्न सकेको थिएन । तर, यसपटक भनेर रास्वपाबाट डा. धनञ्जय रेग्मीले पुराना दलहरुको उक्त दबदबालाई तोड्दै पहिलोपटक इतिहास रचेका छन् ।
प्रतिद्वन्द्वीलाई १० हजार २ सय १४ मतले पछाडी पार्दै रेग्मी निर्वाचित भएका हुन् । रास्वपाका रेग्मीले २९ हजार ७१ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८ सय ५७ मत ल्याएर उपविजेता बने । यस्तै, नेकपा एमालेका उम्मेदवार मीनप्रसाद गुरुङले १६ हजार ८०४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शैलेन्द्र घिमिरेले १ हजार ५ सय ५२ मत मात्र प्राप्त गरे ।
स्याङ्जा-१ मा एक लाख ३० हजार ८८६ मतदाता थिए । तीमध्ये ७० हजार ९ सय ४९ मत खसेको थियो । खसेको मतमध्ये ६८ हजार ३६ मत दर र २ हजार ९ सय १३ मत बदर भएको थियो । यहाँ ११ दल र एक स्वतन्त्रसहित १२ जना प्रतिस्पर्धामा थिए ।
रेग्मी यसअघि पर्यटन क्षेत्रमा क्रियाशील थिए । ६ महिनादेखि रास्वपाको सक्रिय राजनीतिमा रहेका रेग्मी स्याङ्जाको गाउँ–गाउँमा समस्या सुन्दै अभियानमा जुटेका थिए । पर्यटन क्षेत्रका विज्ञका रूपमा परिचित रेग्मी यस क्षेत्रमा बलिया दाबेदारका रूपमा लिइएको थियो ।
रेग्मी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । बोर्डमा रहँदा उनले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने तथा निजी–सार्वजनिक सहकार्यलाई सुदृढ बनाउने पहल गरेका थिए । कोभिड–१९ पछिको पर्यटन पुनरुत्थान रणनीतिमा पनि उनको सक्रिय भूमिका रहेको थियो ।
पर्यटन प्रवर्द्धन, नीतिगत सुधार र कोभिडपछिको पुनरुत्थान रणनीतिमा काम गरेका उनले अव स्याङ्जाको विकासको एजेण्डालाई संसद्सम्म पुर्याउने छन् ।
जापानबाट विद्यावारिधि (पीएचडी) हासिल गरेका रेग्मीले पर्यटन नीति, दिगो विकास र गन्तव्य व्यवस्थापनमा लामो अध्ययन तथा अनुभव बटुलेका छन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पर्यटन सम्भावनाबारे प्रस्तुति दिँदै आएका उनले अब त्यही अनुभवलाई राजनीतिक नेतृत्वमा रुपान्तरण गर्ने लक्ष्य लिएको बताएका छन् । चुनावी मैदानमा रेग्मीले स्याङ्जा–१ लाई कृषि, पर्यटन र वैदेशिक रोजगारीको विकल्पसहितको समृद्ध क्षेत्रका रूपमा विकास गर्ने एजेन्डा अघि सारेका छन् । ‘ग्रामीण पर्यटन, होमस्टे प्रवर्द्धन, युवा उद्यमशीलता र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छु,’ उनले भने । विकासको दीर्घकालीन खाका प्रस्तुत गर्दै उनले सिदार्थ राजमार्ग स्तरोन्नति, मल कारखाना सञ्चालनसँगै ढुँगा उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको सुनाए ।
रेग्मीलाई शिक्षित, युवा, पर्यटन व्यवसायी र वैदेशिक अनुभव बोकेका व्यक्तिकोरुपमा हेरिएको छ । नयाँ राजनीतिक शक्तिमार्फत नीतिगत सुधार र पारदर्शिता स्थापित गर्ने उनको प्रतिबद्धताले स्याङ्जा–१ लाई नयाँ आयाम थपेको छ । यसपटक स्याङ्जा–१ मा चुनावी प्रतिस्पर्धा केवल दलगत सीमामा सीमित थिएन ।
वडा तहसम्म रास्वपाको संगठन नभए पनि विचारभन्दा मत परिवर्तनको संकेत गरेको स्याङ्जा–१ ले नयाँ विकल्पको रुपमा रेग्मीलाई लिइएको छ । २०३२ वैशाख २३ गते स्याङ्जाको पुतलीबजार नगरपालिका-५ नयाँबजारस्थित ढाँडेमा जन्मिएका रेग्मीका पत्नी र तीन सन्तान छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस भरतराज ढकालले मतदातालाई धन्यवाद दिँदै निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यास रहेको बताएका छन् । 'जनताको निर्णयलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु' उनले भने, 'यस यात्रामा साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दछु । यहाँहरूको अथक मेहनत, विश्वास र समर्थन कहिल्यै बिर्सने छैन । म राजनीति होइन, सेवा गर्न आएको हो । त्यसैले पदमा रहूँ वा नरहूँ, स्याङ्जा र स्याङ्जाबासीको हित, विकास र समृद्धिका लागि मेरो प्रयास र साथ निरन्तर जारी रहनेछ ।'
