शनिबार बिहान घोषणा भएको चितवन–२ को अन्तिम मत परिणामअनुसार लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भए ।
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछाने चितवन–२ बाट सांसद निर्वाचित भएका छन् । सवा तीन वर्षको फरकमा चितवन–२ मा एउटा उपनिर्वाचनसहित भएका तीन निर्वाचनमा लामिछाने नै लगातार विजयी भए ।
काठमाडौंका लामिछानेको चितवनसँग विशेष साइनो गाँसिएको २०७६ सालको साउनमा नारायणगढमा भएको एउटा दुःखद घटनापछि हो । सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा लामिछाने पक्राउ परेसँगै उनका समर्थकहरूले भरतपुरमा दिनदिनै प्रदर्शन जारी राखे । पुडासैनीले छाडेको भिडियो सन्देशका आधारमा रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दायर भयो ।
साउन ३० गते लामिछाने काठमाडौंमा पक्राउ परेर चितवन ल्याइए । त्यसको भोलिपल्टबाट चितवनमा प्रदर्शन सुरु भयो । उनीविरुद्ध मुद्दा दायर भएर धरौटीमा रिहा नहुँदाका दिनसम्म समर्थकहरुले लागातार प्रदर्शन जारी राखे । भदौ ९ मा उनीविरुद्ध मुद्दा दायर भएपछि लामिछानेसहित तीनै जना धरौटीमा रिहा भए ।
त्यो दिनसम्म दिनदिनै प्रदर्शन गर्दै आएका रविका समर्थकहरूले भोलिपल्ट भदौ १० मा नारायणी किनारमा ठूलो सभा राखे । सायद यही सभाले नै रविलाई राजनीतिमा लाग्ने इच्छाशक्ति बढाएको हुनु पर्दछ । आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेलगायत सबै तीन जनाले २०७६ सालमा माघ ५ गते सफाइ पाएका थिए । २०७९ साल असार ७ गते उनले काठमाडौंमा नयाँ दल रास्वपा घोषणा गरे ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनबाट संसदीय यात्रा गरेका लामिछानेको विजयी यात्रा जारी नै छ । शनिबार बिहान घोषणा भएको चितवन–२ को अन्तिम मत परिणामअनुसार लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी मीना खरेलको १४ हजार ५६४ मत आयो । एमालेका अस्मिन घिमिरेको ६ हजार ९९२ र नेकपाका प्रताप गुरुङको ४ हजार ९६९ मत आयो ।
२०७९ साल मंसिरमा भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत ल्याएका थिए । त्यो बेला चितवन–२ मा खसेकामध्ये झन्डै ५९ प्रतिशत मत ल्याएर लामिछानेले सांसदमा निर्वाचित भएका थिए ।
सांसद निर्वाचित भएर लामिछाने गृहमन्त्री पनि भए । तर उनको नागरिकतासम्बन्धी विवाद निस्कियो । लामिछाने बीचमा अमेरिका गएर त्यहाँको नागरिकता लिएका थिए । उक्त विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले २०७९ माघ १३ गते नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सांसद बन्नका लागि उनलाई अयोग्य ठहर्यायो । त्यसपछि चितवन–२ मा २०८० सालको वैशाखमा उपनिर्वाचन भयो । प्रक्रिया पुर्याएर पुनः नेपाली नागरिकता लिएपछि लामिछाने उपनिर्वाचनमा पनि उम्मेदवार बने । उपनिर्वाचनमा लामिछाने पहिलाको भन्दा झन् फराकिलो मतान्तरले विजयी भए । उनले ५४ हजार १७६ मत प्राप्त गरेका थिए । लामिछानेका निकटतम प्रतिस्पर्धी रहेका कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ र एमालेका उम्मेद्वार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए ।
२०७९ साल मंसिरको संसदीय निवाचनमा लामिछानेका प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए । २०७० सालको संविधान सभा सदस्य निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाटै विजयी भएर २०७९ सालको संसदीय निर्वाचनमा पनि चितवन–२ मा उम्मेदवार रहेका एमालेका कृष्णभक्त पोखरेल तेस्रो स्थानमा पुगेका थिए । उनले १४ हजार ६४७ मत ल्याएका थिए । पहिलो निर्वाचनदेखि मतान्तर फराकिलो बनाउँदै र मत संख्या पनि बढाउँदै आएका लामिछानेले यो पटक पनि त्यो सिलसिला कायमै राखे ।
दोस्रो पटक सांसद निर्वाचित भएपछि पनि लामिछाने गृहमन्त्री भए । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अवराध र सम्पत्ति शुद्धीकरण मुद्दामा छानबिन हुँदै अदालतमा मुद्दा नै दायर भयो । सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएसँगै २०८१ सालको पुसमा लामिछानेको सांसद पद निलम्बन भयो । लामिछानेविरुद्ध ५ वटा जिल्ला अदालतहरुमा सहकारी ठगीसहितका मुद्दा विचाराधीन छ ।
२०३२ साल भदौ २८ मा जन्मेका लामिछाने ५० को दशकदेखि नै सञ्चारकर्ममा संलग्न रहँदै आएका थिए । बीचमा उनी अमेरिका गए । नेपाल फर्केपछि पुनः टेलिभिजन कार्यक्रम चलाउन सुरु गरे । २०७९ को स्थानीय तह निर्वाचनपछि उनी दशकौं लामो आफ्नो पुराना कर्म छाडेर राजनीतिमा लागे । ‘सीधा कुरा जनता’सँग नामक टेलिभिजन कार्यक्रम चलाएर चर्चा बटुलेका लामिछाने जीबी राई लगायतसँग मिलेर ‘ग्यालेक्सी फोर के’ टीभी सुरु गरेका थिए । उनी सञ्चारकर्ममा लोकप्रिय हुँदै राजनीतिमा आएका हुन् ।
