एमालेका गोकर्ण विष्ट ५ सय ६१ मतले पराजित
काठमाडौँ — गुल्मी-२ मा रास्वपाका गोविन्द पन्थी विजयी भएका छन् । पन्थी १६ हजार ९ सय ६७ मतसहित विजयी भएका हुन् । उनले एमालेका गोकर्ण विष्टलाई ५ सय ६१ मतान्तरले हराएका हुन् ।
गोकर्णले १६ हजार ४ सय ६ मत ल्याए । त्यस्तै कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४ सय ३४ मत ल्याउँदा नेकपाका श्रीराम महतले ३ हजार ८१ मत पाए ।
गोकर्ण २०५६ देखि यसै क्षेत्रबाट उठ्दै आएका थिए । उनी ०६४ को संविधानसभाबाहेक सबै चुनावमा जित्दै आएका थिए । २०६४ मा विष्ट नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर थापासँग २ हजार मतान्तरले पराजित भए । त्यसबेला नेपाली कांग्रेसबाट सुरेशचन्द्र भुसाल उम्मेदवार थिए ।
त्यसअघि २०५६ मा भएको निर्वाचनमा विष्टसँग कांग्रेसका त्रैलोक्यप्रताप सेन प्रतिस्पर्धी थिए । त्यसबेला विष्टले २ हजार २ सय मतान्तरले निर्वाचन जितेका थिए ।
२०७४ को निर्वाचनमा गोकर्णसँग कांग्रेसका चन्द्र केसी प्रतिस्पर्धी थिए । त्यसबेला गोकर्णले १४ हजार बढी मतान्तरले निर्वाचन जिते । त्यसअघि २०७० मा भएको निर्वाचनमा कांग्रेसका त्रैलोक्यप्रताप सेन मुख्य प्रतिस्पर्धी थिए । त्यसबेला गोकर्णले ६ हजारभन्दा बढी मतान्तरले निर्वाचन जिते । यसअघि ०७९ को चुनावमा गोकर्णले नेकपा एसकी रामकुमारी झाँक्रीलाई हराएका थिए ।
