त्यसयता ०७० को प्रतिनिधि सभा, ०७४ मा प्रदेश सभा, ०७९ मा प्रतिनिधि सभा सदस्य जितेका शाहीले यसपटक पनि प्रतिनिधि सभामा जित निकालेका छन् ।
कालिकोट — कालिकोटको विकट क्षेत्र नानीकोट–८ कोटिला गाउँमा बुवा लालबहादुर र आमा रणकौडा शाहीको कोखबाट जन्मिएका ४९ वर्षीय महेन्द्रबहादुर शाही लगातार चार पटक चुनाव जित्ने नेता बनेका छन् । यसअघि पञ्चायती व्यवस्थामा रास्कोटका धर्मदत्त उपाध्यायले राष्ट्रिय पन्चायत सदस्यमा ३ पटक चुनाव जितेका थिए । उनी जन्मिनुभन्दा एक वर्षअघि २०३२ मा जुम्लाबाट कालिकोट छुट्याएर ल्याउने नेताको रुपमा स्व.धर्मदत्तलाई जिल्लाबासी सम्झिने गर्छन् ।
०४८ देखि ०६४ सम्म कालिकोटमा कसैले दोहोर्याएर चुनाव जितेका थिएनन् । ०४८ मा कांग्रेसका तिलक प्रसाद न्यौपाने, ०५१ मा एमालेका यज्ञराज न्यौपाने, ०५६ मा एमालेबाट प्रेमबहादुर सिंह र पहिलो संविधानसभा ०६४ मा नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा विजयी भएका थिए ।
त्यसयता ०७० को प्रतिनिधि सभा, ०७४ मा प्रदेश सभा, ०७९ मा प्रतिनिधि सभा सदस्य जितेका शाहीले यसपटक पनि प्रतिनिधि सभामा जित निकालेका छन् । ०७९ मा कांग्रेसहितको गठबन्धन गरेर ७ हजारको अन्तरले पराजित गरेका एमालेका नगिन्द्र शाहीलाई यस पटक ९ सय ८६ मतान्तरले पछि पारे ।
११ हजार ३ सय ३८ मत ल्याएर विजयी बनेका महेन्द्र समाजको अन्याय, अत्याचार, विभेद देखेर त्यसको अन्त्य गर्न र जनताको मुक्तिका लागि भन्दै कक्षा ८ पढ्दै गर्दा राजनीतिमा सक्रिय भएका थिए । ०४८ सालमा नेकपा मसाल (एकता केन्द्र) को सदस्यता लिएका शाही २०५२ देखि सुरु भएको जनयुद्धमा भूमिगत भए । ०५३ मा मध्यमाञ्चलको गुरिल्ला गठनमा सदस्य बनेका शाही लडाकू बनेर माओवादी जनयुद्धमा नेतृत्वदायी भूमिकामा रहे ।
उनी माओवादीको जनमुक्ति सेनामा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर बनेर माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य र कालीकोट जिल्ला इन्जार्च बनिसकेका छन् । कालिकोट घर भएका खड्गबहादुर विश्वकर्माले ०६९ मा पार्टीबाट विद्रोह गरि मोहन वैध्य हुँदै विप्लव समूहमा गएपछि शाही जिल्लाको राजनीतिमा प्रमुख पात्र बने ।
२०७० को संविधान सभा निर्वाचनमा एमालेका कुर्मराज शाहीलाई ८ सय मतान्तरले हराएका शाही ०७४ को निर्वाचनमा भने कालिकोटको प्रदेश सभा ख बाट निर्वाचित भएर कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत बने । एसएलसीसम्म औपचारिक शिक्षा लिएका शाही २०७३ संघीय सरकारको उर्जा मन्त्री र ०७४ फागुनदेखि ०७८ सम्म कर्णाली प्रदेशको मुख्यमन्त्री बने । उनी भाग्यमानी नेता मानिन्छन् । आफ्नो टिम र सहकर्मीको सामूहिक सहकार्यमा विश्वास गर्ने भएकाले अप्ठ्यारोमा पनि नआत्तिने नेता भएको पूर्व राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले बताए ।
तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि चर्चित बनेका शाहीले मुख्य मन्त्री हुँदा कार्यकर्ता रिजाउन धेरै योजना छरेको आरोप पनि लाग्दै आएको छ ।
चौथो पटक जित्न कालिकोटका अधुरा र अपुरा योजना पूरा गर्ने बाचा गर्दै कर्णाली राजमार्ग र करिडोर स्तरोन्नति, फुगाड अर्ध जलाशय युक्त जल विद्युत निर्माण, कोटवाडा विमानस्थल सञ्चालन, पालिका सडक कालोपत्रे र सबै घरमा विद्युत् पुर्याउने प्रतिबद्धता गरेका थिए । पार्टीको केन्द्रीय तहमा पहुँच राख्ने भएकाले पनि जिल्लामा चौथोपटक जिताइएको नेकपा कालिकोटका संयोजक डम्बरबहादुर शाहीले प्रतिक्रिया दिए । चुनाव जितेपछि उनलाई बधाई तथा शुभकामना दिँदै निकतम प्रतिद्वन्द्वी नगिन्द्र शाहीले जिल्लाको विकास निर्माण र समृद्धिका लागि आफ्नो तर्फबाट सहयोग हुने बताए ।
