जनकसिंह धामी: तीन दशक कांग्रेसको राजनीति, रास्वपाबाट सांसद

तीन दशक कांग्रेसका विभिन्न तहमा बसेर राजनीति गरेका उनी रोजगारीकै लागि १० वर्ष कोरियामा काम गरेका उनी २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

फाल्गुन २३, २०८२

भवानी भट्ट

Janak Singh Dhami: Three decades of Congress politics, MP from Rashtriya Swayamsevak Sangh (RSS).

कञ्चनपुर — कन्चनपुर-१ मा रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी विना मगरले ११ हजार ११० मत ल्याएकी छन् । कांग्रेसका गोपी उपाध्यायले ८ हजार ४६७ र एमालेका तारा लामा तामाङले ८ हजार ४६७ मत ल्याएका छन् । 

 

२०५३ मा प्रावि तहको स्थायी शिक्षकबाट राजीनामा दिएर कांग्रेसको सक्रिय राजनीतिमा होमिएका थिए, जनकसिंह धामी । तीन दशक कांग्रेसका विभिन्न तहमा बसेर राजनीति गरेका उनी रोजगारीकै लागि कोरिया समेत पुगे । १० वर्ष कोरियामा काम गरेका उनी २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा लागेका तिनै धामी कञ्चनपुर–१ मा रास्वपाबाट निर्वाचित भएका छन् । पहिलो पटक निर्वाचनमा सहभागी भएका उनले एमाले र नेकपाका प्रभावशाली नेताहरुलाई पराजित गर्दै संसदीय यात्रा थालेका हुन् ।

धामीको क्षेत्रमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर र एमालेबाट पूर्वसांसद तारा लामा तामाङ प्रस्पिर्धामा थिए । उनीहरुलाई फराकिलो मतान्तरले पराजित गरेर धामीले संसदीय यात्रा थालेका हुन् । उक्त क्षेत्रबाट कांग्रेसले गोपीप्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको थियो । उपाध्याय पनि उक्त क्षेत्रमा पहिलो पटक निर्वाचन लडेका हुन् ।

२०२७ मा दार्चुलाको शैल्यशिखर नगरपालिका–३ मिलमिलिमा जन्मिएका धामीको बसोबास क्षेत्र नम्बर १ मै पर्ने बेलडाँडी गाउँपालिका–४ वैवाहमा छ । उनी राजनीतिसँगै कृषि पेशामा समेत संलग्न छन् । उनले पुनर्वास नगरपालिकामा केरा खेती पनि गरिरहेका छन् ।

स्थानीय  स्तरमा हुलाकी सडक निर्माणमा भएको ढिलासुस्तीदेखि दोदा नदीको कटान नियन्त्रणका विषयमा अगुवाई गर्दै आएको उनी यस्तै समस्या समाधानलाई प्राथमिकता दिने बताउछन् । खुला सिमानाका कराण युवाहरु कुलतमा फसेकाले त्यसको रोकथामका लागि आफुले पहल गर्ने उनले बताए । ‘हामीले थुप्रै योजनाहरु बनाएका छौं, अहिले मैले धेरै बोल्ने भन्दा पनि काम गर्नुपर्ने छ,’ धामीले भने, ‘पार्टीले नै यसबारेमा योजनाबद्ध ढंगल काम सुरु गर्नेछ ।’ रास्वपाको प्रचार विभागका सदस्य समेत रहेका धामी स्थानीय स्तरमा सबैसँग मिलनसार नेताका रुपमा चिनिन्छन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully