झाले समुदायमा आधारित लामो अनुभव र सामाजिक सेवाको पृष्ठभूमिलाई राजनीतिक नेतृत्वमा रूपान्तरण गर्दै संसद्सम्मको यात्रा तय गरेकी हुन् ।
विराटनगर — लामो समयदेखि सामाजिक क्षेक्रमा सत्रिय रहँदै आएकी विराटनगरकी आशा झाले मोरङ निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै संसदीय यात्रा तय गरेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार उनले नेपाली कांग्रेसका फूलकुमार लालवानीलाई ३० हजार ४ सय ४३ मतान्तरले पराजित गरिन् । जसपाका राजकुमार यादव तेश्रो भए । उनले ८ हजार ७ सय ४७ मत पाए । नेकपाका शिवकुमार मण्डल ८ हजार ६ सय १६ मतसहित चौथो र एमालेका मनोज कुमार अग्रवाल ६ हजार ९ सय ४५ मतसहित पाँचौ भए । २०७९ मा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी राष्ट्रिय उर्जाशिल पार्टीका भोगेन्द्र मण्डल छैटाैं भए । उनले ४ हजार १ सय ९९ मत पाए ।
झाले लामो समय देखि सामाजिक कर्ममा सक्रिय पात्र हुन् । समुदायमा आधारित लामो अनुभव र सामाजिक सेवाको पृष्ठभूमिलाई राजनीतिक नेतृत्वमा रूपान्तरण गर्दै संसद्सम्मको यात्रा तय गरेकी हुन् ।
करिब १६ वर्षदेखि विभिन्न सामाजिक तथा जनस्वास्थ्य अभियानमा सक्रिय रहेकी झाले समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्ने महिला नेतृको पहिचान बनाएकी थिइन् । महिला सशक्तीकरण, स्वास्थ्य सचेतना, युवा रोजगारी र सामाजिक जागरणका अभियानमा उनको सक्रियता थियो । यही अनुभव र विश्वसनीयताले उनलाई मतदातामाझ फरक पहिचान दिलाउँदै संसदसम्म उक्लिने सिढी तय गरेको थियो ।
झा ‘गायत्री परिवार’सँग आबद्ध भई नैतिक तथा सांस्कृतिक शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएकी थिइन् । उनले विभिन्न सामाजिक तथा आध्यात्मिक जागरण कार्यक्रम आयोजना गर्नुका साथै स्वयंसेवक व्यवस्थापन र समुदाय समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । सामाजिक सुधार, वातावरण संरक्षण र समुदाय सचेतना जस्ता अभियानमा उनको सक्रिय सहभागिता देखिँदै आएको छ ।
झा ‘मधेशी महिला नागरिक समाज’ सँग आवद्ध रहँदै मधेशी महिलाको हकअधिकार, कानुनी सचेतना र नागरिकता सम्बन्धी मुद्दामा सक्रिय थिइन् । उनले ग्रामीण क्षेत्रमा महिलाका भेला तथा छलफल कार्यक्रम सञ्चालन गरी उनीहरूका समस्या स्थानीय तहसम्म पुर्याउने प्रयास गर्दै आएकी थिइन् ।
शिक्षाशास्त्रमा स्नातक झा सार्वजनिक वकालत, सार्वजनिक वक्तृत्व, नेतृत्व, समन्वय र प्रभावकारी संवादमा दक्ष रहेको बताइन्छ । सामाजिक अभियानबाट सुरु भएको आशा झाको यात्रा अब संघीय संसद्सम्म पुगेको छ । समुदायमा सिकेको अनुभवलाई नीति निर्माण तहमा रूपान्तरण गर्ने उनको प्रतिबद्धता अब संसद्भित्र कत्तिको प्रभावकारी हुन्छ भन्ने कुराले आगामी राजनीतिक यात्राको दिशा तय गर्नेछ ।
