सिभिल इन्जिनियर रहेका लम्साल विकास बुझेको नेताका रूपमा मतदाताको रोजाइमा परे ।
बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनिल लम्साल रूपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट भारी मतान्तरले विजयी भएका छन् । काठमाडौं महानगरपालिकामा पूर्वाधार एवं वातावरणविज्ञका रुपमा मेयर बालेन्द्र शाहको सचिवालयमा काम गरेका उनले नेपाली कांग्रेसका हीराबहादुर केसीलाई ४२ हजार ८ सय ६३ मतान्तरले हराउँदै संसदीय यात्रा तय गरेका हुन् ।
उनले खसेको ९६ हजार ८ सय ५९ सदरमध्ये ५४ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् । कांग्रेसका केसीले ११ हजार ९ सय ८२ मत प्राप्त गरे । राप्रपाका प्रज्वल बोहरा ८ हजार ३ सय १ मत ल्याएर तेस्रो भएका छन् ।
३५ वर्षे लम्साल लामो समयदेखि पूर्वाधार, सहरी योजना र सुशासन क्षेत्रमा काम गर्दै आएका युवा हुन् । उनले काठमाण्डौं महानगपालिका र मेयर बालेन्द्र शाहको सचिवालयमा बसेर काम गरेका कारण पनि यस क्षेत्रबाट विजयी हुनका लागि सहयोग पुगेको छ । यस क्षेत्रमा नयाँ दृष्टिकोण र नेतृत्वको विकल्पका रूपमा लम्साललाई हेर्न थालिएको छ ।
तिलोत्तमा नगरपालिका–७ का लम्सालले तिलोत्तमामै रहेको लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको निती मिनाक्क्षी इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चलर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । अहिले उनी काठमाडौं विश्वविद्यालयबाट सोलिड वेष्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि अध्ययनरत छन् ।
लम्सालले काठमाडौं महानगरपालिकामा नगर पूर्वाधार तथा वातावरण विज्ञका साथै यस क्षेत्रको भैरहवा र पोखराको अन्तराष्ट्रिय विमानस्थल, सिंहदरबार पुनर्निर्माणसहित देशका ३५ जिल्लामा नमुना विद्यालय तथा १२ जिल्लाका जिल्ला अस्पतालको पूर्वाधार विकास परियोजनामा महत्त्वपूर्ण भूमिमा निर्वाह गरेर काम गरेका छन् । रूपन्देहीमा निर्माणाधित एक्स्टा ओभल क्रिकेट स्टडियमको पूर्वाधारको काम पनि उनले गरिरहेका छन् ।
राजनीतिक दृष्टिले लम्साललाई युवा, प्राविधिक पृष्ठभूमि र व्यवस्थापकीय क्षमता बोकेको नेतृत्वकर्ताका रूपमा मतदाताले मन पराएको सामाजिक अभियान्ता देवदह नगरपालिका–११ का जीवन गुरुङले बताए । ‘जनताले परिवर्तन खोजिरहेका बेला यहाँका मतदाताले लम्साललाई पूर्वाधार र विकास बुझेको नेताका रुपमा रुचाएका छन्,’ उनले भने, ‘विजय भएपछि विकासमा पछि परेको यस क्षेत्रले प्राथमिकता पाउने हामीले विश्वास गरेका छौं ।’
लम्सालले चुनावी अभियानका रुपमा देवदहसहित रूपन्देहीको पूर्वी एवं दक्षिणी क्षेत्रको विकास, कृषि आधुनिकीकरण, शिक्षामा गुणस्तरीय सुधारलगायतका एजेण्डा अघि सारेका थिए । सुशासन, पारदर्शिता, सडक, खानेपानी, किसानलाई बजारको सुनिश्चितता, युवालाई रोजगारी सिर्जना र उद्यमशिलताको विकास पनि उनको चुनावी एजेण्डा छन् । ‘मैले अघि सारेका सबै एजेण्डा यस क्षेत्रको मुख्य समस्या भएका विषय हुन्, पहिलो प्राथमिकता ती एजेण्डाको कार्यान्वयनमा हुनेछ,’ उनले भने, ‘त्यसपछि जनताको माग र आवश्यकताका आधारमा अन्य क्षेत्रमा काम गर्नेछु ।’ दक्ष र प्राविधिक युवा जनशक्तिको रोजगारी, उद्यमशीलताको विकास र प्रवर्द्धनमा पनि आफूले काम गर्ने उनले बताए ।
