संसदमा निशा डाँगीको दोस्रो ‘इनिङ्स’

२०५३ सालमा जन्मिएकी उनले आफू भन्दा पाका र राजनीतिमा अनुभवी नेताहरुलाई पाखा लगाउँदै संसदीय यात्राको दोस्रो ‘इनिङ्स’ सुरु गरेकी हुन् ।

फाल्गुन २३, २०८२

पर्वत पोर्तेल

Nisha Dangi's second 'innings' in Parliament

विराटनगर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ निशा डाँगी झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेकी उनी यसपटक प्रत्यक्षतर्फबाट विजयी हुँदै दोस्रो संसदीय यात्रा सुरु गरेकी हुन् । झापाको भद्रपुरमा २०५३ सालमा जन्मिएकी उनले आफू भन्दा पाका र राजनीतिमा अनुभवी नेताहरुलाई पाखा लगाउँदै संसदीय यात्राको दोस्रो ‘इनिङ्स’ सुरु गरेकी हुन् । 

यसपटक झापा–१ मा उनलाई युवा पुस्ताको प्रतिनिधित्व गर्ने उनी उम्मेदवार बनेकी थिइन् । नयाँ पुस्ताबाट उम्मेदवारी दिएपछि उनको चर्चा झापामा उल्लेखनीय रूपमा बढेको थियो । चुनावी प्रतिस्पर्धामा उनले ४५ हजार ६ सय ८० मत पाइन् ।

निकटतम नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५ सय ५० मत पाए । तेस्रो बनेका श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत पाउँदा नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६ सय ५९ मत पाए । 

पहिलो कार्यकालमै संसदमा सक्रिय उपस्थिति देखाएकी डाँगी युवा पुस्ताको आवाज उठाउने नेतृका रूपमा परिचित थिइन् । उनले संसदमा बारम्बार ‘जेनजी’ पुस्ताका मुद्दा उठाउँदै सरकारको ध्यानाकर्षण गराएकी थिइन् । २०७९ को संसदमा उनी ‘कान्छी माननीय’ का रूपमा समेत चिनिएकी थिइन् । नीति निर्माणका बहसमा सक्रिय रहदै रास्वपाको सचेतकको जिम्मेवारीसमेत सम्हालिन् । 

उनले काठमाडौंस्थित जया मल्टिपल क्याम्पसबाट सामाजिक कार्य विषयमा स्नातक तथा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी करिब पाँच वर्ष पत्रकारितामा सत्रिय थिइन् । पत्रकारिताबाटै सार्वजनिक बहस र नीति निर्माणप्रतिको रुचि बढेपछि उनी राजनीतिमा होमिएकी हुन् ।

स्थानीय समस्या, जनचाहना र विकासका प्राथमिकताबारे नजिकबाट परिचित रहेको बताउँदै उनले क्षेत्रको विकास निर्माणलाई गति दिने प्रतिबद्धता जनाएकी छन् । प्रत्यक्ष निर्वाचनबाट संसद् पुग्दै दोस्रो कार्यकाल सुरु गरेकी डाँगीलाई युवा पुस्ताको आशासहित नयाँ पुस्ताको नेतृत्वका रूपमा हेरिएको छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully