पूर्णकालीन राजनीतिमा लाग्नुअघि गणेश पौडेल शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय थिए । उनले स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधार र युवाहरूलाई सीपमूलक तालिम दिनुपर्छ भन्ने आवाज उठाउँदै आएका छन् ।
रौतहट — चन्द्रपुर नगरपालिका–९ चेतनगरका ४३ वर्षीय गणेश पौडेल राजनीतिमा आउनुअघि सहप्राध्यापक थिए । शिक्षण पेशा छाडेपछि स्थानीय राजनीतिमा परिवर्तनको एजेण्डासहित रास्वपाबाट उम्मेदवार बनेका पौडेल रौतहट–४ बाट निर्वाचित भएका छन् । यसै क्षेत्रमा लगातार दुईपटक जितेका कांग्रेसका देवप्रसाद तिमल्सिनालाई ह्याट्रिक गर्नबाट पौडेलले रोकेका छन् । चुनावी मतगाणनाको सुरुवातीदेखि नै पौडेलले निरन्तर अग्रता कायम गरेका थिए । उनको विजयलाई मधेशमा परम्परागत राजनीतिक शक्ति काग्रेस, एमाले, माओवादी, मधेशवादी दलहरूविरुद्धको परिवर्तनको लहरको रुपमा हेरिएको छ ।
पौडेल ३६ हजार ८७६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत पाए । निर्वाचनको प्रचार अभियानदेखि नै आक्रामक शैलीमा उत्रिएका नेकपाका रामकुमार भट्टराईले ९ हजार ७७८ मत मै चित्त बुझाउनु पर्र्यो । भट्टराई ०७० सालको सविधानसभा सदस्य हुन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा आएका ऋषि धमलाको जमाना जफत भएको छ । उनले ६५५ मत पाएका छन् । तिमल्सिना ०७४ र ०७९ मा विजयी भएका थिए । पौडेलले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई पराजित गर्दै रास्वपाबाट मधेश प्रदेशमा महत्वपूर्ण उपस्थिति जनाएका छन् । उनले लामो समय चन्द्रपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा सह–प्राध्यापकको रुपमा काम गरेका छन् ।
पूर्णकालीन राजनीतिमा लाग्नुअघि पौडेल शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय थिए । उनले स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधार र युवाहरूलाई सीपमूलक तालिम दिनुपर्छ भन्ने आवाज उठाउँदै आएका छन् । २०६७ सालबाट कांग्रेसको सदस्यता लिएर राजनीतिक यात्राको सुरुवात गरेका पौडेल संकल्प बचत तथा ऋण सहकारीको संस्थापक अध्यक्ष हुन् । उनी मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य, जनज्योति बहुमुखी क्याम्पसका उप–प्राध्यापक, सिन्धुरेघारी बहुमुखी क्याम्पसका अध्यक्ष र स्वतन्त्र वौद्धिक समाज चन्द्रनिगाहपुरका अध्यक्ष हुन् ।
कांग्रेसमा राम्रो छवि बनाएका पौडेल २०८२ मा रास्वपामा प्रवेश गरेका थिए । रौतहट जस्तो परम्परागत राजनीतिक गढ मानिने क्षेत्रमा नयाँ दलको तर्फबाट उम्मेदवारी दिएर उनले स्थानीय युवाहरूको ध्यान खिच्न सफल भए ।
उनले मुख्यगरी भ्रष्टाचार निवारण, सुशासन, र क्षेत्रमा व्याप्त शिक्षा तथा स्वास्थ्य क्षेत्रको बेथितिलाई आफनो मुख्य राजनीतिक मुद्दा बनाएका छन् । ‘नयाँ सोच र प्रष्ट विचार राख्ने मान्छे हुँ । विकासप्रति म पूर्ण प्रतिबद्ध छु,’ उनले भने, ‘जितसँगै यो क्षेत्रको विकासको लागि म कुनै कसर बाँकी राख्दिन् ।’
उनले ग्रामीण विकास र बिजनेसमा स्नातकोत्तर तह पास गरेका छन् । उनका कलेजका साथी अनिल कोइरालाले पौडेलले जित एउटा आशा र भरोसको केन्द्र रहेको सुनाए ।
निर्वाचनमा हार र जित स्वाभाविक प्रक्रिया भन्दै पौडेलका निकटतम प्रतिद्धन्दी कांग्रेसका देवप्रसाद तिमल्सिनाले जनताले परिवर्तन खोजेकोले यसलाई स्वीकार्ने बताए । ‘गणेशजी राम्रो र इमान्दार छवि भएका व्यक्ति हुन् । उनको जितलाई मैले जनताको शक्तिको रुपमा हेरेको छु,’ उनीले भने, ‘जसले जिते पनि जनताको हितमा काम गर्नुपर्छ । म उहाँलाई सधैं जनताको पक्षमा उभिन अनुरोध गर्छु ।’
