कञ्चनपुर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
काठमाडौँ —
हरिश्चन्द्र बाग/कञ्चनपुर
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । लामो समय टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै सार्वजनिक सरोकारका विषय उठाउँदै आएका बोहराले राजनीतिमा प्रवेश गरेको छोटो समयमै संसदीय सफलता हासिल गरेका हुन् ।
सार्वजनिक अन्तिम मतपरिणामअनुसार बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नारायण प्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार बचनबहादुर सिंह ६ हजार ४१८ मतसहित तेस्रो स्थानमा रहेका छन् । त्यस्तै नेकपाका उम्मेदवार माधवप्रसाद पन्त ६ हजार ३३७ मतसहित चौथो स्थानमा रहे ।
कुल १ लाख ९ हजार ५७४ मतदाता रहेको यस क्षेत्रमा ६४ हजार ८८१ मत खसेको थियो । जसमध्ये ३६ हजार ३८६ महिला र २८ हजार ४९५ पुरुष रहेका छन् । यहाँ कुल ५९.२१ प्रतिशत मतदान भएको थियो ।
पत्रकारिताबाट राजनीतिसम्मको यात्रा
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बोहरा करिब १८ वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै आएका थिए ।
नेपाल टेलिभिजन, नेपाल वान टेलिभिजन, न्युज २४ टेलिभिजन तथा ग्यालेक्सी टेलिभिजनजस्ता सञ्चार माध्यममा कार्यरत रहँदै विभिन्न राष्ट्रिय तथा जनचासोका विषयहरू उजागर गरेका थिए । सञ्चार क्षेत्रमार्फत समाजका विविध समस्या र सरोकारका विषय उठाउँदै आएका बोहराले पछिल्लो समय सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।
बोहराले जनताको आवाज संसद्सम्म सशक्त रूपमा पुर्याउने र क्षेत्रको हितका लागि निरन्तर पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
