दाइ पूर्णबहादुर खड्काको राजनीतिक सारथी भएका कारण सुर्खेत–१ लाई बुझेकाले उनलाई चुनाव जित्न सहज भएको विष्णुबहादुर खड्का निटकहरू बताउँछन् ।
वीरेन्द्रनगर — नेपाली राजनीतिमा कर्णालीबाट प्रतिनिधित्व गर्ने चर्चित नाम हो, पूर्णबहादुर खड्का । पूर्वउपप्रधानमन्त्रीसँगै गृह, रक्षामन्त्रीसम्म भइसकेका उनी कांग्रेसका पूर्वउपसभापति पनि हुन् । कर्णाली प्रदेशको कांग्रेस राजनीतिमा खड्काको बलियो प्रभाव देखिँदै आएको थियो । सुर्खेत–१ बाट यसपटक पनि उनी एकल रुपमा प्रतिनिधिसभा उम्मेदवारको लागि सिफारिस भएका थिए । तर, माघ पछिको कांग्रेसमा विकसति घट्नाक्रमपछि पूर्णबहादुरले चुनाव नलड्ने घोषणा गरे ।
उनी उम्मेदवार नबनेपछि यो क्षेत्रबाट उनकै साइला भाई विष्णुबहादुर खड्काले टिकट पाए । दाइले चुनाव नलड्ने भनेपछि भाइ उम्मेदवार बन्छन् भन्ने कसैले सोचेकै थिएनन् । मनोनय दर्ताको दिन बिहान १० बजे मात्रै उनको नाम सार्वजनिक भएको थियो ।
चुनावमा होमिएका उनलाइ दाईकै कारण उम्मेदवार बनेको आरोप पनि छ । यो बेला उनले पत्रकार सम्मेलन गरेर आफूलाई दाईसँग जोडेर नहेरिदिन आग्रह गरेका थिए । बरु आफू दाइ राजनीतिमा भएकै कारण सक्रिय राजनीतिबाट टाढा रहेको उनले बताएका थिए ।
सुर्खेत–१ मा विष्णुले एमालेका ध्रुवकुमार शाहीलाई पछि पार्दै जित हासिल गरेका छन् । उनी २६ हजार ८९७ मतका साथ विजयी भएका हुन् ।
सुरुवातबाटै अग्रता कायम राखेका खड्कालाई एमालेका ध्रुव शाहीले पछ्याइरहेका थिए । शाहीले १८ हजार ८९० मत प्राप्त गरे । ६८ हजार ७१० मत खसेको यो क्षेत्रमा २ हजार ४८३ मत भने बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरी तेस्रो नम्बरमा रहे । उनले १४ हजार ७२९ मत प्राप्त गरेका छन् ।
विष्णु देखिनेगरी राजनीतिमा सक्रिय नभए पनि दाइको बलियो सारथी थिए । उनी जिल्लामा दाइकै अघिपछि हुन्थे । उनी कांग्रेसका सुर्खेत जिल्ला उपसभापति पनि हुन् ।
दाइको राजनीति सारथीको कारण सुर्खेत–१ लाई बुझेकाले उनलाई चुनाव जित्न सहज भएको उनी निटकहरू बताउँछन् ।
विष्णु यातायात र मेडिकल व्यवसायी हुन् । उनी मध्यपश्चिम यातायात व्यवसायी संघका संस्थापक समेत हुन् । २०४२ सालमा सुर्खेतको वीरेन्द्रनगरमा माया मेडिकल हल सुरु गरेका उनले अहिले माया अस्पताल बनिसकेको छ । उनको पेट्रोल पम्प, औषधि डिलरलगायतमा समेत लगानी छ ।
उनको जन्म वीरेन्द्रनगर नगरपालिका–७ मा भएको हो । २०३६ सालमा बहुदलको पक्षमा उभिएका उनले देशमा बहुदल चाहिन्छ भन्दै राँके जुलुस गर्ने, भित्ते लेखन गर्ने र बहुदलको पक्षमा पर्चा पम्पलेट छपाएर वितरण गर्ने काम गरेका थिए । २०४६ सालको जनआन्दोलनमा अग्रभागमा रहेर सुर्खेतमा आन्दोलन पनि थाले । त्यो बेला पहिलोपटक ११ दिन र दोस्रोपटक २६ दिन हिरासतमा बसे ।
उम्मेदवार बनेपछि उनले चुनाव लड्न नचाहे पनि फरक परिस्थितिले चुनावी मैदानमा होमिएको बताएका थिए । उम्मेदवार बन्दिनभन्दा पनि क्षेत्रीय कमिटीले आफ्नै नाम सिफारिस गरेर पठाएको उनले बताएका थिए ।
विष्णु पूर्णबहादुरकै कारण राजनीतिमा सधैं गौण रहेको कांग्रेस सुर्खेतका सभापति खड्ग पोखरेलको भनाइ छ । दाइ पूर्णबहादुरको राजनीतिलाई सफल बनाउन सहयोगीको भूमिकामा रहेर काम गरेका थिए । त्यसैले पनि उनलाइ जित हासिल गर्न कठिन नभएको उनको भनाइ छ ।
