असार २०७९ मा पार्टी घोषणासँगै रास्वपामा जोडिएका धर्मराज केसीले त्यही वर्षको मंसिरमा प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका थिए । त्यतिबेला उनले ९ हजार २९ मत ल्याएका थिए ।
लमजुङ — लमजुङमा यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनले लामो समयदेखिको राजनीतिक प्रभाव उल्टाइदिएको छ । ३ वर्षअघि पराजित भएका रास्वपाका उम्मेदवार धर्मराज केसीले यसपटक नतिजा मात्र उल्ट्याएनन्, कांग्रेस र कम्युनिष्टको परम्परागत प्रभाव रहेको क्षेत्रमै बलियो जित निकाले ।
असार २०७९ मा पार्टी घोषणासँगै रास्वपामा जोडिएका धर्मराज केसीले त्यही वर्षको मंसिरमा प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका थिए । त्यतिबेला उनले ९ हजार २९ मत ल्याएका थिए । त्यतिबेला एमालेका तत्कालीन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ ३४ हजार ९ सय ६९ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिस्पर्थी कांग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवार तत्कालिन माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ३१ हजार ७ सय ८१ मत ल्याएका थिए ।
करिब ३ वर्षपछि भएको निर्वाचनमा उनै केसीले परिणाम उल्ट्याएर निकटतम प्रतिद्वन्द्वी पृथ्वीसुब्बा गुरुङलाई १७ हजार २२ मतको फराकिलो अन्तरले पराजित गरे । कुल ७५ हजार ४ सय ६० मतमध्ये उनले ३३ हजार ८ सय ९८ मत पाए । एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८ सय ७६ मत पाए । कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत पाए । नेकपाका हरिजङ तामाङले ३ हजार ३ सय ७१ मत पाए । २ हजार ४ सय ५० मत बदर भयो ।
४५ वर्षीय केसी लमजुङ सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटी (ढोडसिङ)का बासिन्दा हुन् । केसीले कक्षा १० सम्म सुन्दरबजारमै रहेको आदर्श बाल माध्यमिक विद्यालयमा अध्ययन गरे । २०५३ सालमा एसएलसी पास गरेपछि अमृत साइन्स क्याम्पस, काठमाडौंबाट आइएसी उत्तिर्ण गरेका थिए । विद्यालयका तत्कालीन प्रधानाध्यापक रामकृष्ण भण्डारीका अनुसार उनी एसएलसीमा जिल्ला दोस्रा भएका थिए । भण्डारीका अनुसार केसीको जितले देशले चाहेको युवा नेतृत्वको संकेत दिएको छ । ‘देशमा सुशासन कायम होस् । राष्ट्रियता जोगाओस् । विकृति र विसंगति हटाओस्,’ उनले भने, ‘जनता सर्वोपरी हुन्, भगवान हुन् । फेरि यस्तै स्थिति नआउने गरी काम गर्न सुझाव दिन्छु ।’
२०५६ मा अमृत साइन्स क्याम्पसबाट आईएससी सकेपछि केसीले विश्व निकेतन साइन्स क्याम्पसमा बीएससीमा भर्ना भए । २०६० तिर बीएससी अध्ययन सकेपछि उनी अन्तर्राष्ट्रिय छात्रवृत्ति कार्यक्रममार्फत अनुसन्धान प्रस्तावमा छनोट भएर दक्षिण कोरिया पुगे ।
दक्षिण कोरियाको अजु विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका उनले ऊर्जा नीति र जलवायु परिवर्तनको क्षेत्रमा अध्ययन र काम गरेका छन् । उनी पछिल्लो समय जेन–जी आन्दोलनपछिका शिक्षामन्त्री महावीर पुनको सचिवालयमा बसेर काम गरिरहेका थिए । त्यसअघि शिक्षामन्त्री सुमना श्रेष्ठको सचिवालयमा पनि काम गरेका थिए । निर्वाचन लड्ने निर्णय गर्दै उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको सचिवालयबाट राजीनामा दिएका थिए ।
ऊर्जा, जलवायु परिवर्तन तथा दिगो विकासका विषयमा नेपालसहित ४० देशमा काम गरेको अनुभव रहेको उनको परिचयमा उल्लेख छ । ऊर्जा र जलवायु परिवर्तन क्षेत्रमा दीगो विकासका लागि काम गरेका उनीसँग अन्तर्राष्ट्रिय विकास संस्थाहरू र बहुराष्ट्रिय परियोजनाहरुमा काम गरेको अनुभव छ ।
ग्रामीण ऊर्जा प्रविधि विकासमा पुर्याएको योगदानका लागि अमेरिकास्थित विश्वप्रसिद्ध म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) बाट पनि उनी सम्मानित भएका छन् । उनले दिगो विकास प्रालिको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका छन् ।
केसी रास्वपाका संस्थापक लमजुङ जिल्ला सभापति हुन् । अहिले उनी पार्टीको केन्द्रीय संगठन विभाग सदस्य छन् । रास्वपा जिल्ला समिति सभापति अशोक सापकोटाका अनुसार केसी भद्र, शालीन र देशका लागि केही गर्ने सोच भएका व्यक्ति हुन् । पृथ्वीसुब्बा गुरुङले उनलाई बधाई दिँदै लमजुङे जनताको चाहना र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिए ।
धर्मराज केसीले गुगलमा भेटिने नभइ भुगोलमा भेटिने नेताको रुपमा आफूलाई स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हामीले पहिलो हारलाई जितको रुपमा लियौं । नागरिकलाई बुझाउँदै गयौं । अहिले यो परिणाम आयो,’ उनले भने, ‘देश नीतिले चल्नुपर्छ, नेताले होइन । नीति प्रधान हुनुपर्छ नेता प्रधान हुनुहुँदैन भनेका छौं ।’
उनले अहिले भइरहेका ऐन, कानुन, नीति, नियम एक किसिमले ‘अडिट’ गरेको र कमीकमजोरी पत्ता लगाइसकेको बताए । ‘म लमजुङको आवाज संसदसम्म पुर्याउने छु । लमजुङको आवश्यकताअनुसार जनताको माग सरकारसम्म पुर्याउनेछु,’ उनले भने ।
