प्रकाश पाठक : पहिला जसले हरायो अहिले उसैलाई जिते 

पत्रकारिताबाट सार्वजनिक जीवनमा आएका प्रकाश पाठकले संसदलाई ‘नागरिकको आवाज पुर्‍याउने थलो’ का रूपमा लिने बताएका छन् ।

फाल्गुन २३, २०८२

पर्वत पोर्तेल

Prakash Pathak: Whoever lost first, now they win.

विराटनगर — झापा–३ बाट रास्वपाका युवा नेता प्रकाश पाठक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।  बहुकोणीय प्रतिस्पर्धाकाबीच उनले स्थापित र अनुभवी नेताहरूलाई पछि पार्दै संघीय संसदमा प्रवेश गरेका छन् । 

३७ वर्षीय पाठक झापा बाह्रदशी गाउँपालिका घाग्रा निवासी हुन् । लामो समय पत्रकारितामा सक्रिय उनले झापा–३ बाट चुनाव जित्दै राजनीतिक यात्राको नयाँ अध्याय सुरु गरेका छन् । २०७९ मा पनि उनी यही क्षेत्रवाट उठ्दै तेस्रो बनेका थिए । उनले ३ हजार ४ सय ६१ मत पाएका थिए । यसपटक उनी १० दोब्बरभन्दा बढी मत पाएर विजयी भए । 

यसपटक उनले अघिल्लोपटक हराउने राप्रपाका राजेन्द्र लिङ्देनलाई बदला लिएका छन् । लिङ्देनले १७ हजार २ सय ९४ मत पाए । कांग्रेसका राजेन्द्र घिमिरे ८ हजार १ सय ९९ मतसहित तेस्रो भए । एमालेका हरि राजवंशी ७ हजार ४ सय ९२ मतका साथ चौथो भए । विगतमा यो क्षेत्रमा एमाले–राप्रपा तालमेल हुँदै आएको थियो । तर, यसपटक तालमेल भएन जसले पाठकलाई जित्न सहज भयो । 

पत्रकारिताबाट सार्वजनिक जीवनमा आएका पाठकले संसदलाई ‘नागरिकको आवाज पुर्‍याउने थलो’ का रूपमा लिने बताएका छन् । चुनावी अभियानका क्रममा उनले नीति निर्माणमा सक्रिय भूमिका खेल्ने र संसद्मा जनताका मुद्दा उठाउने प्रतिबद्धता व्यक्त गर्दै मत मागेका थिए ।

स्नातकसम्म अध्ययन गरेका पाठकसँग करिब १३ वर्ष विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।  पत्रकारितामा रहँदा देश कसरी सञ्चालन भइरहेको छ भन्ने नजिकबाट बुझ्ने अवसर पाएको उनी बताउँछन् । त्यही अनुभवले उनलाई प्रत्यक्ष रूपमा नीति निर्माणमा सहभागी हुन प्रेरित गरेको हो । 

संघीय संसदको भूमिका नीति निर्माण र ठूला राष्ट्रिय योजनामा केन्द्रित हुनुपर्ने उनको धारणा छ । स्थानीय विकासका काम स्थानीय तथा प्रदेश सरकारमार्फत अघि बढ्नुपर्ने भन्दै संघीय सरकारले दीर्घकालीन नीति र ठूला पूर्वाधारमा ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन् । 

पाठकले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । पत्रकारिताबाट सुरु भएको सार्वजनिक जीवनलाई उनले अब संघीय संसद्मार्फत अगाडि बढाउने तय भएको छ । संसद्मा पुगेर जनताको आवाजलाई नीति निर्माणमा रूपान्तरण गर्ने लक्ष्यसहित पाठकले संसदीय यात्रामा पाइला अघि बढाएका छन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully