प्रधानपञ्चदेखि प्रतिनिधिसभाको यात्रामा दैलेखका लक्ष्मी पोखरेल

पोखरेलले अहिलेसम्म प्रधानपञ्चदेखि प्रतिनिधिसभा सदस्यसम्म गरी योसहित ८ औ‌ं पटक चुनाव लडेका छन्।

फाल्गुन २३, २०८२

ज्योति कटुवाल

Laxmi Pokharel of Dailekh on her journey from Pradhan Panch to the House of Representatives

काठमाडौँ — एमालेका ६३ वर्षीय लक्ष्मीप्रसाद पोखरेलले दोस्रो पटक संसदको यात्रा तय गरेका छन् । ०४३ सालदेखि प्रधानपञ्चको निर्वाचन लड्दै आएका पोखरेल शनिबार सार्वजनिक भएको मतगणनामा दैलेख-२ बाट निर्वाचित भएका हुन् । पोखरेल १३ हजार ८८९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत पाए । २०७९ मा पोखरेल कांग्रेसका यीनै शाहीसँग पराजित भएका थिए ।  

पोखरेलले अहिलेसम्म प्रधानपञ्चदेखि प्रतिनिधिसभा सदस्यसम्म गरी योसहित ८ औ‌ं पटक चुनाव लडेका छन् । पोखरेल विगतमा नेमकिपा, एमाले, माले हुँदै फेरि एमालेका आएका थिए । २०३५ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय उनी विजया माध्यमिक विद्यालय दैलेखमा नेमकिपाको विद्यार्थी संगठन नेक्राविसंघको संस्थापक अध्यक्ष बने ।

२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा उभिएर प्रचार–प्रसारमा जुटेकै कारण पक्राउ समेत परे ।
उनले २०४२ सालमा पञ्चायतविरुद्ध आन्दोलन गर्दा २ महिना जेल बसे । पोखरेलले २०४१ देखि २०४३ सम्म नेपाल राष्ट्रिय निमावि रिजुको शिक्षकको जागिर खाए । शिक्षकको जागिर छाडेर उनी २०४३ सालमा तत्कालीन पुष गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भए ।

उनको नेतृत्वमा २०४५ सालमा जिल्लामा मदिरा निषेध आन्दोलन भएको थियो । २०४६ सालको संयुक्त जनआन्दोलनमा दैलेख जिल्लाको संयोजक रहेका पोखरेल फागुन ३ गते पक्राउ परेर २०४६ चैत २६ गते बहुदल माथिको प्रतिबन्ध हटेपछि मात्र जेलबाट छुटेका थिए ।

२०४२ देखि नेमकिपाका जिल्ला समिति सदस्य भएका उनी २०४८ मा बुटवलमा भएको प्रथम केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । २०४९ सालमा गाविस अध्यक्ष बनेका उनी २०५४ मा वडासदस्य लडे । त्यतिबेलासम्म नेमकिमामा रहेका उनी पछि २०५४ मै एमाले प्रवेश गरे ।

२०५५ मा मालेबाट जिल्ला विकास समितिको चुनावमा सदस्य पदमा लडेका उनी एमालेकै भद्र भण्डारीसँग पराजित भए । २०५६ मा मालेबाट प्रतिनिधिसभा उम्मेदवार बनेका उनको जमानत नै जफत भएको थियो । २०५८ मा वामदेवसँगै एमालेमा फर्किएका उनी एमाले दैलेखको जिल्ला सदस्य हुँदै २०६३ देखि २०६६ सम्म एमालेको जिल्ला कमिटी उपसचिव बने ।

एमालेको पोलिटब्युरो सदस्य समेत रहेका पोखरेल २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचित भएका थिए । उनले १५ हजार ६१९ मत ल्याए विजयी हुँदा कांग्रेसका हिमबहादुर शाहीले १३ हजार ९६ मत ल्याएका थिए ।

विसं २०१९ असार १३ मा दैलेखको दुल्लु नगरपालिका–५ छिउडीपुसाकोट निवासी हुन् । उनका चार छोरा छन् । पोखरेलले मानविकी विषयमा स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully